close

क्यामेराका लागि आईफोन १६ मा क्याप्चर बटन, फोटो खिच्दा डीएसएलआरमा खिचेको जस्तो अनुभव हुने

टेकपाना टेकपाना

भदौ २५, २०८१ ११:४१

क्यामेराका लागि आईफोन १६ मा क्याप्चर बटन, फोटो खिच्दा डीएसएलआरमा खिचेको जस्तो अनुभव हुने

काठमाडौं । पहिलो पटक आईफोनमा नयाँ बटन थपिएको छ । सोमबार राति आयोजित कार्यक्रममा एप्पलले आईफोन १६ सिरिजका मोडेलमा यस्तो बटन रहेको जानकारी दिएको छ ।

यसलाई कम्पनीले क्यामेरा क्याप्चर नाम दिएको छ । दायाँपट्टि पावर बटनको तलतिर यो बटन देख्न सकिन्छ । क्यामेरा कन्ट्रोल बटनलाई विभिन्न तरिकाले फोटो र भिडिओ खिच्नका लागि प्रयोग गर्न सकिन्छ ।

एप्पलका अनुसार यही बटनबाट प्रयोगकर्ताले सहजै ल्यान्डस्केप वा पोट्रेट मोडमा स्विच गर्न सक्छन् । यस बटनमा टच सेन्सर पनि दिइएको छ । यसलाई कति जोडले ट्याप गर्नुहुन्छ भन्नेले यसले के काम गर्ने वा कुन फिचर प्रयोग गर्ने भन्ने निर्धारण गर्छ ।

फोनमा अरू केही काम गरिरहनु भएको छ, त्यतिकैमा क्यामेरा खोल्नुभयो भने क्यामेरा कन्ट्रोल बटनलाई एक पटक क्लिक गरे पुग्छ । त्यसपछि क्यामेरा खुल्नासाथ फेरि त्यसरी नै क्लिक गरे फोटो खिचिन्छ । क्लिक गरेर केहीबेर होल्ड गर्दा क्यामेरा एप खुलेर आफैं भिडिओमा स्विच हुन्छ ।

विस्तारै टच गर्दा जुम फिचर प्रयोग गर्न सकिन्छ । त्यसपछि बटनमा औंला तलमाथि सार्दा जुम इन र जुम आउट गरी फोटो वा भिडिओ खिच्न सकिन्छ । यही बटनलाई विस्तारै टच गर्दा फोकस र एक्सपोजर लक हुन्छ ।

विस्तारै डबल ट्याप गर्दा क्यामेरा प्रिभ्यु मेनु खुल्छ । यसबाट एक्सपोजर वा डेप्थ मिलाउन सकिन्छ । बटनलाई स्वाइप गर्दा एडजस्टमेन्ट अप्सन खुल्छ । यसबाट जुम, एक्सपोजर वा डेप्थ एडजस्ट गर्न सकिन्छ ।

अब तपाईंले फोटो र भिडिओ खिच्न क्यामेरा एप खोजेर भित्र डिस्प्लेमै टच गरिरहनु पर्दैन । एउटै बटनबाट क्यामेराका विभिन्न फङ्सन प्रयोग गर्न सकिन्छ । यो बटन थर्ड पार्टी एपका लागि पनि प्रयोगमा आउने बताइएको छ । यसलाई डेभलपरहरूले कसरी उपयोग गर्छन्, हेर्न बाँकी छ ।

सुरुवाती चरणमा यो बटन स्न्यापच्याटमा सपोर्ट हुने बताइएको छ ।

केही समयपछि क्यामेरा कन्ट्रोल बटन भिजुअल इन्टेलिजेन्ट फिचरमा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले उक्त बटनबाट क्यामेरा एप खोलेर सोझै कुनै वस्तुतर्फ देखाए त्यसको जानकारी स्क्रिनमा देखिनेछ ।

त्यस्तै कुनै रेस्टुरेन्टको बोर्डमा क्यामेरा फर्काइयो भने भिजुअल इन्टेलिजेन्सले अनलाइनबाट त्यसको जानकारी खोजेर रेटिङसहित विवरण स्क्रिनमा देखाउनेछ ।

विभिन्न बिरुवाको नाम पत्ता लगाउन पनि क्यामेरा प्रयोग गर्न सकिन्छ । क्यामेराबाटै सहजै गुगल सर्च गर्न र च्याटजीपीटी प्रयोग गर्न सकिने बताइएको छ । उदाहरणका लागि, तपाईंले कुनै वस्तुको फोटो खिच्नुभयो र त्यसको जानकारी लिन खोज्नुभयो भने सोझै च्याटजीपीटीलाई एपबाटै सोध्न सक्नुहुन्छ ।

त्यसबाहेक, यो क्यामेरा कन्ट्रोल बटनको सेटिङबाट आफूलाई आवश्यक अनुसार एडजस्ट गर्न सकिन्छ । सिङ्गल क्लिक गर्दा के हुने बनाउने वा डबल क्लिक गर्दा के हुने बनाउने भन्ने प्रयोगकर्ताले सेटिङबाटै मिलाउन सक्छन् । यस बटनमा ह्याप्टिक फिडब्याकको फिचर दिइएको छ । यसले गर्दा क्यामेराको शटर बटन प्रयोग गरेको जस्तो अनुभव हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८१ ११:५१