काठमाडौं । एप्पलले सोमवार आईफोन १६ सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स गरी चार मोडेल सार्वजनिक भएका छन् ।
कम्पनीका अनुसार विश्वबजारमा बिक्रीका लागि यो सिरिज २० सेप्टेम्बरदेखि उपलब्ध हुनेछ । नेपालमा पनि चाँडै नै आईफोन १६ मोडेलहरू उपलब्ध हुने चर्चा छ ।
विश्वबजारमा विभिन्न भेरियन्टका आईफोन १६ को मूल्य सार्वजनिक हुँदा नेपालमा यी मोडेलको मूल्य कति पर्ला भन्ने जिज्ञासा हुन सक्छ ।
हुन त नेपालमा आईफोन जति ओटा कलर वा स्टोरेज भेरियन्टमा सार्वजनिक भएका छन्, त्यतिमै उपलब्ध हुन्छन् भन्ने हुँदैन । आईफोनका लागि नेपालको आयातकर्ताले जेन नेक्स्टले त्यसका लागि भोटिङ पोल पनि तयार पारेको छ ।
यहाँ क्लिक गरेर तपाईं भोटिङ पोलमा सहभागी हुन सक्नुहुन्छ । आयातकर्ता कम्पनीका अनुसार आईफोन भित्रिंदा त्यसमा सबैभन्दा पहिले पाँच प्रतिशत आयात शुल्क लाग्छ । त्यसपछिको शुल्कमा १३ प्रतिशत भ्याट जोडिन्छ । र, तीन प्रतिशत मार्जिन राखी बिक्री मूल्य निर्धारण गरिन्छ । यिनै शुल्कहरूलाई आधार बनाई विभिन्न मोडेल र स्टोरेज भेरियन्टको मूल्य निकालिएको छ ।
यस अनुसार नेपाली बजारमा १२८ जीबी स्टोरेज भेरियन्टको आईफोन १६ को मूल्य एक लाख ३० हजार ८८४ रुपैयाँ पर्ने देखिन्छ । त्यस्तै ५१२ जीबी स्टोरेज भएको आईफोन १६ को मूल्य एक लाख ४७ हजार २६५ रुपैयाँ पर्ने देखिन्छ ।
त्यस्तै आईफोन १६ प्रो म्याक्सको २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख ९६ हजार ४०८ रुपैयाँ पर्ने हिसाबले देखाउँछ । त्यसैगरी नेपाली बजारमा दुई लाख ६१ हजार ९३२ रुपैयाँ तिरेर १ टीबी स्टोरेज भेरियन्टको आईफोन १६ प्रो म्याक्स खरिद गर्न सकिने देखिन्छ ।
तपाईँले आईफोन १६ सिरिजको आधिकारिक मूल्य थाहा पाउन भने अझै केही साता कुर्नुपर्ने हुन्छ ।