close

बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच

टेकपाना टेकपाना

असोज ४, २०८१ १८:४४

बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच

काठमाडौं । एप्पल यस्तो प्रविधि कम्पनी हो, जसले कहिल्यै पनि आईफोनको ब्याट्रीको क्षमता कति छ भन्ने सार्वजनिक गर्दैन । त्यसैले विभिन्न नियामक निकायबाट एप्पलले प्राप्त गरेको प्रमाणपत्रका आधारमा आईफोनको ब्याट्रीको क्षमता निकालिन्छ ।

यसैबीच आईफोन १६ मा प्रयोग भएको ब्याट्री विवरण पनि बाहिरिएको छ । ब्राजिलको नियामक निकाय एनाटेलबाट प्राप्त प्रमाणपत्रलाई आधार मान्दै केही लिकरले ब्याट्री विवरण सार्वजनिक गरेका हुन् ।  

बाहिरिएको जानकारी अनुसार आईफोन १६ मा ३५६१ एमएएच क्षमताको ब्याट्री छ । अघिल्लो वर्ष सार्वजनिक भएको आईफोन १५ को तुलानामा १६ को ब्याट्रीको क्षमता ६.३ प्रतिशत बढी हो । 

आईफोन १६ प्लसमा भने कम्पनीले ४६७४ एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ । आईफोन १५ प्लसको तुलनामा यो ब्याट्रीको क्षमता ६.६ प्रतिशत धेरै हो । 

त्यसैगरी आईफोन १६ प्रोमा ३५८२ एमएएच क्षमताको ब्याट्री दिइएको छ भने आईफोन १६ प्रो म्याक्समा ४६८५ एमएएच क्षमताको ब्याट्री रहेको बताइएको छ । आईफोनको सन्दर्भमा ब्याट्री क्षमताले मात्र यो कति समय टिक्छ भन्ने निर्धारण गरेको हुँदैन । यसमा प्रयोग हुने प्रोसेसरले पनि ब्याट्रीलाई लामो समयसम्म टिकाइराख्न मद्दत गर्ने एप्पलको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज ५, २०८१ १४:४०