close

ईबुक, अडिओबुक र प्रिन्ट अन डिमान्ड सुविधा सहित बुकहिल प्रकाशकको मोबाइल एप सार्वजनिक

टेकपाना टेकपाना

असोज १०, २०८१ २०:२७

ईबुक, अडिओबुक र प्रिन्ट अन डिमान्ड सुविधा सहित बुकहिल प्रकाशकको मोबाइल एप सार्वजनिक

काठमाडौं । पुस्तक प्रकाशक बुकहिल नेपालले आफ्नो आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले औपचरिक रूपमा बिहीबार प्लेस्टोर र एपस्टोरमा एप सार्वजनिक गरेको हो ।

प्रकाशकमध्ये पहिलो पटक एप सार्वजनिक गर्नेमा बुकहिल पहिलो प्रकाशक बनेको कम्पनीका संस्थापक अध्यक्ष भूपेन्द्र खड्काले बताए । “हामीले ईबुक, अडिओबुक, प्रिन्ट अन डिमान्डको सुविधा विश्वभर उपलब्ध गराएका छौं,” टेकपानासँग कुरा गर्दै खड्काले भने, “अमेजन, फ्लिपकार्टसहित ११ ओटा प्लेटफर्मबाट प्रिन्ट अन डिमान्ड उपलब्ध गराउनेगरी एप सुरु गरेका छौं ।”

हाल यस एपमा २० ओटा ईबुक उपलब्ध छन् । खड्काले बाँकी पुस्तकको ईबुक भर्सन छिट्टै उपलब्ध गराउने बताए । उनले अगाडि भने, “अहिले केही पुस्तकको मात्र ईबुक भर्सन उपलब्ध छ । छिट्टै अन्य पुस्तकको ईबुक र सँगै अडियो बुक पनि उपलब्ध गराउने तयारी गरेका छौं ।”

कम्पनीले ल्याएको प्रिन्ट अन डिमान्ड सेवा यूके युरोप अस्ट्रेलिया, अमेरिका लगायतका देशमा उपलब्ध छ । यस अन्तर्गत बुकहिलबाट प्रकाशन भएका पुस्तक ग्राहकले अमेजन, फ्लिपकार्ट सहित ११ ओटा प्लेटफर्मबाट अर्डर गर्न सक्ने खड्काले बताए । अर्डर गरिसकेपछि ती प्लेटफर्मले ग्राहकको माग बमोजिमका पुस्तक छापेर उपलब्ध गराउनेछन् ।

“अब देश बाहिर बस्ने नेपालीले नेपालबाटै पुस्तक मगाइरहन परेन,” खड्काले अगाडि भने, “अर्डर गरिसकेपछि ती प्लेटफर्मले बुक प्रिन्ट गरेर उपलब्ध गराउँछन् ।” यो सुविधाका लागि एक वर्षभन्दा बढी काम गरेको उनले सुनाए । 

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर बुकहिलको एप डाउनलोड गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि ईबुक वा भौतिक पुस्तक खरिद गर्न अकाउन्ट बनाउनुपर्ने हुन्छ ।

अकाउन्ट बनाउन नाम, ईमेल र पासवर्ड सेट गर्नुपर्छ । पुस्तक अर्डर गर्नका लागि भने सम्पर्क नम्बर र ठेगाना पनि उपलब्ध गराउनु पर्ने हुन्छ । प्रयोगकर्ताले खरिद गरेका अडियोबुक, ईबुक र आर्टिकल ‘माई लाइब्रेरी’को क्याटेगोरीमा पाउन सकिन्छ । त्यसबाहेक यसमा विधा अनुसार पुस्तक खोज्न सकिने सुविधा दिइएको छ । 

एप सुरुवाती चरणमा भएकाले यसमा केही समस्या देखिएका छन् । खासगरी ईबुक डाउनलोड गर्न र अर्डर हेर्न समस्या देखिएको छ । यसलाई एपका डेभलपर समाधान गर्न लागेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज १०, २०८१ २०:३०