काठमाडौं । साइबर सुरक्षा कम्पनी भैरव टेक्नोलोजीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय लिम्बू 'ग्लोबल सीईओ एक्सिलेन्स २०२४' बाट सम्मानित भएका छन् । बेलायतबाट प्रकाशित हुने ‘सीईओ मन्थ्ली’ले लिम्बुलाई सो अवार्ड प्रदान गरेको हो ।
यसअन्तर्गत उनी ‘मोस्ट इनोभेटिभ साइबरसेक्युरिटी सीईओ २०२४’ (नेपाल) घोषित भएका छन् । यो अवार्ड साइबर सुरक्षामा उत्कृष्ट काम गर्दै आइरहेका कम्पनीका प्रमुख कार्यकारीलाई दिइन्छ ।
अवार्डका लागि आयोजकले आफूलाई दुई महिनाअघि सम्पर्क गरेको तथा अन्तर्वार्ता लिएको लिम्बूले टेकपानालाई सुनाए । यो सम्मानले आफूलाई साइबर सुरक्षा क्षेत्रमा थप सशक्त भएर काम गर्न प्रोत्साहन मिलेको उनले बताए ।
अब उनलाई बेलायतमा आगामी अक्टोबरमा हुने एक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिने बताइएको छ । भैरव टेक्नोलोजी नेपाल बाहिर पनि राम्रो छाप छाड्न सफल नेपाली साइबर सुरक्षा कम्पनी हो ।
सीईओ मन्थ्लीले सन् २०१७ यता विश्वभरबाट सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका कार्यकारीहरूलाई हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको छ । यस अवार्डपछि अन्तर्राष्ट्रिय स्तरमा सीईओ तथा कम्पनीको नेटवर्क बढाउन भूमिका खेल्ने, कम्पनीको मार्केटिङ हुने तथा प्रतिष्ठा बढ्ने सीईओ मन्थ्लीको वेबसाइटमा उल्लेख छ ।
लिम्बूबाहेक नेपालबाट यही अवार्ड निजी क्षेत्रको चर्चित डेटा सेन्टर कम्पनीएक्सेस वर्ल्ड टेक प्राइभेट लिमिटेडका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोर पन्थले समेत प्राप्त गरेका छन् ।