close

पृथ्वीमा भएको सबै पैसाभन्दा रुसले गुगललाई लगाएको जरिवाना २ करोड गुणा बढी !

टेकपाना टेकपाना

कात्तिक १५, २०८१ १४:२७

पृथ्वीमा भएको सबै पैसाभन्दा रुसले गुगललाई लगाएको जरिवाना २ करोड गुणा बढी !

काठमाडौं । रुसले गुगललाई पृथ्वीमा भएको कूल पैसाभन्दा दुई करोड ३८ लाख नौ हजार ५२३ गुणा बढी जरिवाना तिर्न निर्देशन दिएको छ । विभिन्न मितिमा रुसी च्यानललाई युट्युबमा ब्लक गरेको भन्दै रुसले गुगललाई जरिवाना तिराउने निर्णय गरेको हो । 

द मस्को टाइम्सका अनुसार रुसी अदालतले गुगललाई २.५ डेसिलियन डलर जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको २.५ पछाडि ३३ ओटा शून्य हुनु हो । 

द मस्को टाइम्सले सार्वजनिक गरेको रिपोर्टमा गुगलले यो जरिवाना कहिल्यै नतिर्ने टिप्पणी गरिएको छ । गुगलको मातृ कम्पनी अल्फाबेटले गत वर्ष ३०७ अर्ब डलर आम्दानी गरेको थियो । तर, कर्पोरेट दुनियाँमा यसलाई हिसाब गर्ने हो भने तुलनात्मक रूपमा ३०७ अर्ब डलर त्यति धेरै होइन । झन् रुसले तिराएको जरिवानाका अगाडि यो आम्दानी रकम केही पनि होइन । 

रुसको अदालतले गुगललाई किन यति धेरै जरिवाना तिराउन खोजेको होला ? यसको कारण हो, रुसले सञ्चालन गरेको मिडिया ।

रुसले युक्रेनमा आक्रमण गर्न थालेपछि त्यसको जवाफमा गुगलले थुप्रै रुसी च्यानल युट्युबमा ब्लक गरेको थियो । यसमा च्यानल वन, मस्को मिडिया, पब्लिक टेलिभिजन अफ रसिया आदि समावेश थिए । द्वन्द्वको समयमा भ्रामक जानकारी फैलिने जोखिम कम गर्न गुगलले रुसले नियन्त्रण गरेका सञ्चारमाध्यमको च्यानल ब्लक गरेको थियो । 

रुसी अदालतले गुगललाई ब्लक गरिएका अकाउन्ट फिर्ता गर्न र हरेक दिनको एक लाख रुबेल्स (करिब १०२९ डलर) फाइन तिर्न लगाएको छ । रुसी सञ्चारमाध्यम आरबीसीका अनुसार अदालतले हरेक साता उक्त जरिवाना रकम दोब्बर बनाउँदै लगेको थियो । 

दिन दुई गुणा रात चौगुणाका दरले उक्त जरिवाना रकम बढ्दै गएको थियो । २०२३ मा पृथ्वीको कूल गार्हस्थ उत्पादन (जीडीपी) १०५० खर्ब डलर भएको बताइन्छ । यसको तुलनामा गुगलले तिर्नुपर्ने रकम दुई करोड गुणाले बढी हो । 

गुगलले भने जरिवाना तिर्ने कुनै सङ्केत देखाएको छैन । उता जरिवाना रकम भने बढेको बढ्यै छ । 

वास्तवमा गुगल प्रायः पूरै रुसबाट बाहिरिइसकेको छ । गुगलको रुसी सहायक कम्पनीलाई रुसले करिब एक वर्षअघि कङ्गाल भएको घोषणा गरेको थियो । 

रुसी मिडिया कम्पनीहरूले सुरुमा गुगलविरुद्ध मुद्दा हालेका थिए । अहिले ती कम्पनी गुगललाई जरिवाना तिराउने प्रयासमा लागेका छन् । आरबीसीका अनुसार यी रुसी कम्पनीहरूले स्पेन, दक्षिण अफ्रिका, टर्की र हङ्गेरी जस्ता देशहरूमा गुगल विरुद्ध मुद्दा दायर गरेका छन्, ताकि रुसी जरिवाना कार्यान्वयन गराउन सकियोस् ।

यस वर्षको सुरुमा दक्षिण अफ्रिकाले गुगलका सम्पत्ति जफत गर्न अनुमति पनि दिएको थियो । जवाफमा गुगलले यी रुसी मुद्दाहरूलाई केवल रुसमा सीमित राख्न अमेरिका र बेलायतमा आफ्नै मुद्दाहरू सुरु गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८१ १४:३७