close

अमेरिकी प्रतिबन्धबाट जोगाउन एलन मस्कसँग नजिकिंदै टिकटकका सीईओ

टेकपाना टेकपाना

मंसिर १०, २०८१ १२:३५

अमेरिकी प्रतिबन्धबाट जोगाउन एलन मस्कसँग नजिकिंदै टिकटकका सीईओ

काठमाडौं ।  चिनियाँ शर्ट भिडिओ स्ट्रिमिङ प्लेटफर्म टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शो जि च्युले एलन मस्कसँग अमेरिकी मामिलाबारे सल्लाह लिएका छन् । अमेरिकी सञ्चार माध्यम वाल स्ट्रिट जर्नलले शनिबार एक रिपोर्ट प्रकाशित गर्दै सीईओ च्युले मस्कसँग सल्लाह लिएको बताएको हो । 

संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पलाई विजयी बनाउन मस्कले महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यसैको गुन तिर्दै ट्रम्पले आफ्नो कार्यकालमा मस्कलाई नयाँ निकाय ‘सरकारी क्षमता अभिवृद्धि विभाग’ (Department of Government Efficiency) को प्रमुखमा नियुक्त गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । 

वाल स्ट्रिट जर्नलका अनुसार टिकटकका सीईओ च्युले मस्कलाई मेसेज पठाएका थिए । सीईओ च्युले अब आउने प्रशासनदेखि सम्भावित प्रविधि नीतिसम्मका विभिन्न विषयमा मस्कको विचार मागेका थिए ।

च्यु र मस्क दुवैले अमेरिकामा टिकटक सञ्चालन गर्नका लागि ठोस उपायबारे कुनै विशेष छलफल भने गरेका छैनन् । बाइटडान्सको वरिष्ठ नेतृत्वको टोली भने ट्रम्पले टिकटकका लागि सकारात्मक कदम चाल्नेमा आशावादी छ ।  

अमेरिकी चुनावअघि बाइटडान्सका कार्यकारीहरूले ट्रम्प निकट व्यक्ति र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस निकट व्यक्तिहरूसँग भेटघाट गरिरहेका थिए । अघिल्लो पटक राष्ट्रपति हुँदा ट्रम्प टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन जोडतोडले लागेका थिए । 

तर, उनको सो प्रयास भने सफल हुन सकेनन् । पछि उनी राष्ट्रपतिको उम्मेदवार बनेपछि भने टिकटकलाई सकारात्मक रूपमा लिए । प्रचारका लागि पनि यस प्लेटफर्मको व्यापक उपयोग गरे । निर्वाचन अघि भने राष्ट्रपतिमा निर्वाचित भएपछि टिकटकमाथि प्रतिबन्ध नलगाउने भन्दै ट्रम्प अभिव्यक्ति दिइरहेका थिए । 

तर, राष्ट्रपति ट्रम्पले छानेका सङ्घीय सञ्चार आयोग (एफसीसी)का नयाँ अध्यक्ष टिकटकका लागि नराम्रो खबर हुन सक्छन् । अध्यक्ष ब्रेन्डन कारले टिकटकले अमेरिकाको राष्ट्रिय सुरक्षामा गम्भीर र अस्वीकार्य खतरा निम्त्याउने दाबी गरेका छन् । त्यसैले यसलाई प्रतिबन्ध लगाउनु पर्नेमा उनले जोड दिँदै आएका छन् ।

नयाँ एफसीसी अध्यक्ष एलन मस्कसँग नजिक रहेको पनि बताइएको छ । त्यसैले टिकटकमाथिको प्रतिबन्धका विषयमा मस्क महत्त्वपूर्ण व्यक्ति मानिएका हुन् ।

 

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८१ १२:३५