काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड साओमीले ट्राफिक सुरक्षा सम्बन्धी सचेतना भिडिओ सार्वजनिक गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्त्व अन्तर्गत नेपाल ट्राफिक प्रहरीसँग मिलेर सचेतना अभियान सुरु गरेको हो ।
सर्वसाधारणलाई ट्राफिक नियमको महत्त्व र सडक सुरक्षा बेवास्ता गर्दा हुने गम्भीर परिणामहरूको बारेमा चेतना जगाउन भिडिओ सामग्री तयार पारेको कम्पनीले जनाएको छ ।
‘यमलोक’ शीर्षकको भिडिओमा सडक दुर्घटनाका मुख्य कारण समावेश गरिएको छ । विशेषगरी तीव्र गतिमा सवारी चलाउने, मद्यपान गरेर सवारी चलाउने, गलत ठाउँमा बाटो काट्ने, ओभरहेड पुल प्रयोग नगर्ने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने जस्ता समस्यालाई भिडिओमा उल्लेख गरिएको छ ।
“साओमीको लक्ष्य केवल व्यापार गर्नु मात्र होइन, समुदायको सुरक्षा र कल्याणमा पनि योगदान पुर्याउनु हो,” साओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भने, “ट्राफिक प्रहरीसँगको सहकार्यमा सञ्चालन गरिएको यो अभियानको उद्देश्य नेपालका सडकलाई सुरक्षित बनाउनु हो ।”
यो सहकार्यले सडक सुरक्षा र ट्राफिक नियमको पालनामा सार्वजनिक सचेतना वृद्धिका साथसाथै सडक दुर्घटना र मृत्यु दरलाई घटाउन मद्दत पुग्ने कम्पनीको विश्वास छ ।