काठमाडौं । नेपाली राइड शेयरिङ प्लेटफर्म ‘सजिलो साथी’ मा क्याप्टेन विजय लामा सह-संस्थापकको रूपमा जोडिएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा लामालाई औपचारिक रूपमा ‘सजिलो साथी’ मा आबद्ध गरिएको हो ।
सन् २०२२ मा स्थापना भएको यो कम्पनीले हाल काठमाडौं उपत्यकामा मात्र सेवा दिइरहेको छ । तर, कम्पनीले छिट्टै देशभर आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । कार्यक्रममा बोल्दै कम्पनीका सह-संस्थापक तथा प्रबन्ध निर्देशक दिवाकर खनालले नेपालमै पहिलो पटक ‘जियोफेस सिस्टम’ सुरु गर्न लागेको जानकारी दिए ।
यसका साथै कम्पनीले वातावरणमैत्री प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीलाई पनि प्राथमिकता दिएको बताए । कम्पनीले यात्रु र चालक दुवैको सुरक्षालाई ध्यानमा राख्दै शिखर इन्स्योरेन्ससँग सहकार्य गरी बीमा सुविधा पनि सुरु गरेको छ ।
यसैगरी लगानीकर्ता कम्पनी कोलाबोरेटिभ क्याटलिस्ट प्रालिले पनि ‘सजिलो साथी’ मा लगानीकर्ताका आमरूपमा जोडिएको छ । कार्यक्रममा बोल्दै क्याप्टेन विजय लामाले आफू यात्रासँग जोडिएको व्यक्ति भएकोले यो व्यवसाय आफ्नो लागि उपयुक्त हुने बताए ।
उनले सुरक्षित, सुलभ र सहज यात्राको अवधारणालाई प्राथमिकता दिँदै कम्पनीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । "हामी नेपालीहरू अब अरूको एपमा निर्भर नभई आफ्नै एप प्रयोग गर्नेछौं," उनले भने, "यसले हाम्रो आयस्रोत नेपालमै राख्न मद्दत गर्नेछ ।"
उनले देशमै रोजगारी सिर्जना गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पनि यो एप सहयोगी हुने विश्वास व्यक्त गरे । सजिलो राइड शेयरिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आमिर लामाले आफूहरू बजारमा भएका अन्य सेवाभन्दा फरक रहेको दाबी गरे । उनले यात्रु र चालक दुवैको सुरक्षामा विशेष ध्यान दिएको बताए ।
"हाम्रो प्रमुख चासो भनेको सुरक्षा हो," उनले भने, "हामी चालकहरूलाई गर्वका साथ ‘म चालक हुँ’ भन्न सक्ने वातावरण बनाउन चाहन्छौं ।" कम्पनीले हालसम्म कमिसनमुक्त सेवा दिइरहेको छ । तर, १ फागुनदेखि कमिसन लिने योजना बनाएको छ । बाइकको लागि १० प्रतिशत र ट्याक्सीको लागि ६ प्रतिशत कमिसन लाग्नेछ ।
कम्पनीले कमिसनबाट उठेको १० प्रतिशत रकम राइडरहरूको कल्याणकारी कोषमा जम्मा गर्नेछ, जुन उनीहरूलाई समस्या पर्दा प्रयोग गरिने सीईओ लामाले बताए । उनका अनुसार यदि कुनै यात्रुले राइड अनुरोध गरेपछि र चालकले स्वीकार गरेपछि गन्तव्यमा पुगेर फर्किने बेलासम्म बीमाले सुरक्षा दिनेछ ।
दुर्घटना भएको खण्डमा तत्काल उपचार खर्च र अन्य खर्च कम्पनीले बेहोर्नेछ । यता छुट्टै बीमाको प्रक्रिया अगाडि बढ्नेछ । यसका साथै राइडरले यात्रुलाई लिन जाँदा १.५ किलोमिटरभन्दा बढी टाढा जानुपरेमा बाइकको लागि प्रति किलोमिटर १५ रुपैयाँ र ट्याक्सीको लागि ३५ रुपैयाँ अतिरिक्त रकम प्रदान गरिनेछ ।
यदि राइड रद्द भएमा पनि चालकलाई क्षतिपूर्ति दिने व्यवस्था कम्पनीले गरेको छ । कम्पनीले अबको ६ महिनाभित्र नेपालभर सेवा विस्तार गर्ने र एक वर्षभित्र विमानस्थलमा पिकअप सेवा सुरु गर्ने लक्ष्य राखेको छ । यसका साथै कम्पनीले चाँडै नै पार्सल र फुड डेलिभरी सेवा पनि सुरु गर्ने योजना बनाएको छ ।