काठमाडौं । एक व्यक्तिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट च्याटजीपीटीले आफ्नो दुर्लभ रोग पत्ता लगाएर ज्यान बचाएको दाबी गरेका छन् । डाक्टरले भन्दा पहिले नै च्याटबटले आफ्नो रोग पत्ता लगाएर मिर्गौलालाई गम्भीर असर हुनबाट बचाएको उनको भनाई छ ।
रेडिटमा आफ्नो अनुभव बाँड्दै उनले भनेका छन्, “च्याटजीपीटीले मेरो जीवन बचायो । करिब एक हप्ता अघि मैले कसरत गर्ने निर्णय गरेको थिएँ । मैले धेरै कसरत नगर्दा पनि मलाई त्यो कसरतपछि बसले हाने जस्तो महसुस हुन थाल्यो ।”
उनले केही पुशअप, स्क्वाट र प्ल्याङ्क मात्र गरेको तर कफी धेरै पिएको र शरीरमा पानीको कमी भएको बताए । दुई दिनसम्म अस्वस्थ महसुस गरेपछि उनले च्याटजीपीटीको सहयोग लिने निर्णय गरे । च्याटबटले उनमा देखिएका लक्षण विश्लेषण गरेर ‘मध्यमदेखि गम्भीर राब्डोमायोलिसिस’ भएको पत्ता लगायो र तुरुन्तै अस्पताल जान सुझाव दियो ।
उनले थप विषय अन्वेषण गरेपछि च्याटबटले भनेको कुरा सही भएको अनुमान लगाए र अस्पताल गए । “अस्पतालमा परीक्षण गर्दा मलाई गम्भीर राब्डोमायोलिसिस भएको पत्ता लाग्यो । यो अवस्थामा मांसपेशीहरू छिट्टै टुट्छन् र प्रोटिनले मिर्गौला बन्द गराउँछ,” उनले भनेका छन् ।
राब्डोमायोलिसिस एक दुर्लभ मांसपेशीको चोट हो, जहाँ चोट वा अत्यधिक कसरत गर्दा मांसपेशी टुट्छन् । ती व्यक्तिलाई तत्काल अस्पताल भर्ना गरिएको थियो र एक हप्तासम्म निगरानीमा राखिएको थियो ।
उनले थपे, “मैले च्याटजीपीटी प्रयोग गरेर मेरो ल्याबको रिपोर्ट पनि विश्लेषण गरेँ, जुन स्वास्थ्यकर्मीहरूले भनेको जस्तै थियो । डाक्टरले भन्नुभन्दा अगाडि नै मलाई च्याटजीपीटीको विश्लेषणबाट आफूलाई के भएको छ भन्ने थाहा भयो ।”
च्याटजीपीटीले जीवन बचाउँछ: रेडिट प्रयोगकर्ताहरू
ती व्यक्तिले च्याटजीपीटीको क्षमता देखेर आफू निकै प्रभावित भएको बताएका छन् । “मैले च्याटजीपीटीले अरूको ज्यान बचाएको सुनेको थिएँ । तर म पनि त्यसमध्ये एक हुन्छु भन्ने सोचेको थिइनँ । च्याटजीपीटीलाई धन्यवाद,” उनले लेखेका छन् ।
रेडिटमा अन्य प्रयोगकर्ताहरूले पनि एआईको प्रशंसा गर्दै आफ्ना अनुभवहरू शेयर गरेका छन् । एक प्रयोगकर्ताले भने, “हालै गरिएको एक अध्ययनमा च्याटजीपीटीलाई डाक्टरको तुलनामा डाइग्नोसिस गर्न र बिरामीसँग कुराकानी गर्न धेरै सहयोगी र सहानुभूतिपूर्ण भएको पाइएको थियो ।”
अर्का प्रयोगकर्ताले भने, “च्याटजीपीटीले मेरो बिरालोको जीवन पनि बचाएको छ । पशु चिकित्सकले मेरो बिरालोको खुट्टामा रगत जमेको छ भनेर मार्न चाहन्थे । मैले ल्याबको रिपोर्ट नआउन्जेल च्याटजीपीटीमा सबै लक्षणहरू राखेँ । यसले उच्च रक्तचाप जाँच गर्न भन्यो । वास्तवमा उसलाई उच्च रक्तचाप थियो, खुट्टामा रगत जमेको थिएन ।”