काठमाडौं । नेपाल टेलिकमले १८०० मेगाहर्जमा टुजी सेवा बन्द गर्ने भएको छ । आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीले यसै वर्ष उक्त मेगाहर्जमा टुजी सेवा बन्द गर्ने योजना रहेको सुनाइन् ।
यो निर्णयसँगै कम्पनीले नयाँ प्रविधिमा थप लगानी गर्ने र ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको उनले बताइन् ।
प्रबन्ध निर्देशक पहाडीका अनुसार कम्पनीले हाल फोरजी सेवालाई देशव्यापी रूपमा विस्तार गरिरहेको छ । हालसम्म ७७ जिल्लाका ७४४ स्थानीय तहमा फोरजी सेवा पुगिसकेको छ । नेटवर्क विस्तारका लागि सञ्चालनमा रहेका ४६९७ स्थानमध्ये ४३२४ स्थानमा फोरजी सेवा सञ्चालनमा रहेको छ ।
आगामी दिनमा थप सेवा विस्तार गर्न ३३३ ईनोडबी (eNodeB) को पूर्वाधार तयारीको कार्य अघि बढिसकेको उल्लेख गर्दै उनले थप १२०० ईनोडबी सामान प्राप्तिको लागि बोलपत्रको तयारी अन्तिम चरणमा रहेको जानकारी दिइन् ।
हाल कूल मोबाइल डेटा खपतको ९० प्रतिशतभन्दा बढी हिस्सा फोरजी सेवाले ओगटेको पहाडीको भनाइ छ । साथै फोरजी भोल्टे (VoLTE) सेवा प्रयोग गर्ने ग्राहक सङ्ख्या ५८ लाख नाघेको छ ।
फाइभजी सेवा सञ्चालनको लागि उपयुक्त व्यावसायिक रणनीतिसहितको अध्ययन सम्पन्न गरी प्रतिवेदन पेश गर्ने काम अन्तिम चरणमा पुगेको र भविष्यमा सरकारको निर्देशन अनुसार फाइभजी प्रविधि भित्र्याउने योजना रहेको उनले सुनाइन् ।
भ्वाइस सेवातर्फ २०८१ मंसिर महिनाको अन्त्यसम्म नेपाल टेलिकमको ग्राहक सङ्ख्या दुई करोड १२ लाख ४२ हजारभन्दा बढी पुगेको उनले जानकारी दिइन् । जसमध्ये जीएसएम मोबाइल सेवाका ग्राहक दुई करोड सात लाख ७४ हजार, पीएसटीएन सेवाका ग्राहक ८७ हजार तथा एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ८० हजार रहेका छन् । २०८१ मंसिर महिनाको तथ्याङ्क अनुसार भ्वाइस सेवातर्फ नेपाल टेलिकमको बजार हिस्सा ५०.४४ प्रतिशत रहेको छ ।
त्यस्तै, कम्पनीको इन्टरनेट तथा डेटा सेवातर्फ दुई करोड ११ लाखभन्दा ग्राहक पुगेका छन् । जसमध्ये जीएसएम मोबाइल डेटा सेवाका प्रयोगकर्ता दुई करोड सात लाख तथा एफटीटीएच डेटा सेवाका प्रयोगकर्ता तीन लाख रहेका छन् ।
जीएसएम फोरजी सेवातर्फ हालसम्म करिब एक करोड ६४ लाख ग्राहक संख्यामा पुगिसकेको र निरन्तर विस्तारको क्रममा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले फोन, इन्टरनेट र टेलिभिजन सेवा एउटै फाइबरमार्फत उपलब्ध गराउने उद्देश्यले फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तारको योजनालाई चालु आर्थिक वर्षमा तीव्रता दिएको छ । हालसम्म यो एफटीटीएच सेवा ७७ जिल्लामा पुगिसकेको छ ।
कपरमा आधारित नेटवर्कलाई एफटीटीएच प्रविधिमा रूपान्तरण गर्ने काम अन्तिम चरणमा रहेको र कर्णाली प्रदेशलाई आजदेखि कपर नेटवर्क फ्रि प्रदेशका रूपमा घोषणा गरिने प्रबन्ध निर्देशक पहाडीले सुनाइन् ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा देशका ४६३ स्थानमा करिब २१ लाख वितरण क्षमताको नेटवर्क तयार भएको छ । सेवा वितरणका हिसाबले हालसम्म तीन लाख ८० हजार भ्वाइस, तीन लाख ३० हजार डेटा र ५८ हजार आईपीटिभी ग्राहकलाई एफटीटीएच नेटवर्कमा आवद्ध गरिसकिएको कम्पनीले जनाएको छ ।
पहडीका अनुसार मुलुकभरका ७५३ स्थानीय तह र सम्भव भएसम्म सम्पूर्ण छ हजार ७४३ वडाहरूमा फोरजी प्रविधिमार्फत ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी पुर्याउन कम्पनी अग्रसर रहेको छ । कम्पनीले प्रदान गरेका विभिन्न वायरलेस र वायरलाइन सेवाहरूको गुणस्तर सुनिश्चित गर्न नियामक निकायद्वारा तोकिएका सम्पूर्ण प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई) हरू कायम गरेको छ ।
ग्रामीण विकास दूरसञ्चार कोष अन्तर्गत मध्यपहाडी लोकमार्गलाई आधार मानी सो आसपासका जिल्ला, गाउँपालिका र वडाहरूलाई इन्टरनेटको सञ्जालमा आबद्ध गराउने कार्यक्रम अनुरूप कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा गरी १४५० कि.मि बिछ्याउने काम पूरा भएको पहाडीले जानकारी दिइन् । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत एक हजार ७४८ किमि अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य रहेकोमा हालसम्म कूल ९९३ किमि अर्थात् ५६.८ प्रतिशत काम पूरा भइसकेको उनको दाबी छ ।
यस पूर्वाधारले सूचना महामार्ग निर्माणको परिकल्पनालाई पूरा गरी नेपाल सरकारको अवधारणा अनुरूपको डिजिटल नेपाल फ्रेमवर्क निर्माणका लागि आवश्यक आधारस्तम्भ तयार हुने कम्पनीले विश्वास लिएको छ । ग्रामीण दूरसञ्चार विकास कोष मार्फत जडान भएका अप्टिकल फाइबर नेटवर्कहरूको सहप्रयोगको थालनी गरिसकिएको पनि उनले सुनाइन् ।