close

सूचना तथा प्रशारण विभागले स्थगित गर्‍यो अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण

टेकपाना टेकपाना

साउन २०, २०८२ २३:७

सूचना तथा प्रशारण विभागले स्थगित गर्‍यो अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना तथा प्रशारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण स्थगित गरेको छ । मंगलबार एक सूचना जारी गर्दै विभागले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको काम स्थगन गरेको हो । 

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ संशोधन गरेपछि विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको काम रोकेको छ । 

साउन १४ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले उक्त संशोधन गरिएको ऐन राजपत्रमा  प्रकाशित गरेको थियो । संशोधन पछि उक्त ऐनको दफा ७क. पछि ७ख मा अनलाइन सञ्चारमाध्यम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । 

अहिले सूचना तथा प्रशारण विभागमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण हुनेमा संशोधन पछि भने अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने व्यक्तिले त्यस्तो सञ्चारमाध्यम दर्ता गर्नको लागि तोकिएको दस्तुरसहित तोकिएको ढाँचामा स्थानीय अधिकारीसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । 

प्राप्त निवेदन उपर स्थानीय अधिकारीले आवश्यक जाँचबुझ गरी दर्ता गर्न उपयुक्त देखिएको अनलाइन सञ्चारमाध्यम दर्ता गर्न सक्ने प्रावधान संशोधनपछि थप गरिएको छ । अर्थात्, अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम जिल्ला प्रशासन कार्यालयबाट हुनेछ । तर, यसका लागि आवश्यक नियमावली निर्माण भइनसकेकाले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम कसरी अघि बढ्छ भन्ने अन्योल परिस्थिति उत्पन्न भएको छ ।

 

 

पछिल्लो अध्यावधिक: साउन २०, २०८२ २३:७