नेपालमा पनि सुरु भयो गुगल म्यापको स्ट्रिट भ्यु, विश्वको कुनै पनि कुनाबाट यसरी सकिन्छ हेर्न
साउन ३०, २०८२ १४:२५
काठमाडौँ । डिजिटल नेपाल कन्क्लेभ, २०२५ को अवसर पारेर गुगल म्याप्सले शुक्रबारदेखि नेपालमा स्ट्रिट भ्यु सुरु भएको घोषणा गरेको छ । गुगलले संसारको कुनै पनि कुनाबाट कसैले पनि गुगल म्याप्सको स्ट्रिट भ्युमार्फत नेपालको भौगोलिक दृश्य र समृद्ध संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न सक्ने सुविधा ल्याएको हो ।
यससँगै अब तपाईँ भर्चुअल रूपमा काठमाडौँका जीवन्त सडक गल्लीहरूमा टहलिन सक्नुहुन्छ । यसैबाट शान्त सुन्दर तराई क्षेत्रको अन्वेषण गर्न सक्नुहुन्छ । हिउँले ढाकिएका हिमालहरूको मनोरम दृश्य देखाउने घुमाउरा सडकमा भर्चुअल रूपमा यात्रा गर्न सकिने भएको छ । यो सबै अब तपाईँको फोन वा कम्प्युटरबाट सजिलै सम्भव छ ।
यसले तपाईँलाई अनुभूतिको संसारमा प्रवेश गराएर नेपालको समृद्ध वास्तुकलाको इतिहास, प्राचीन मन्दिर र दरबार तथा चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट नियाल्ने अवसर दिनेछ।
यो सुरुवातले विश्वलाई नेपालको अनुभव गर्ने नयाँ र रोमाञ्चक माध्यम उपलब्ध गराएको छ । जसले नेपालको समृद्ध सांस्कृतिक सम्पदा र पर्यटन सम्भावना दुवैलाई प्रवर्द्धन गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
गुगल स्ट्रिट भ्युमा नेपालका दृश्यहरू हेर्नको लागि आफ्नो फोन वा कम्प्युटरमा गुगल म्याप्स खोल्नुहोस् । कम्प्युटरको तल दायाँ कुनामा रहेको Street View pegman (मानिसको सङ्केत जस्तै देखिने चित्र) अथवा मोबाइलमा माथि प्रोफाइल आइकन मुनी रहेको लेयर्सभित्र जानुहोस् र 360° view वा पहेँलो ‘Street View pegman’ मा क्लिक गर्नुभयो भने यो फिचरमा पुग्न सक्नु हुनेछ ।
स्ट्रिट भ्युबाट देखिएको काठमाडौँ
काठमाडौँ दरबार स्क्वायर
स्वयम्भू महाचैत्य
बोलाछे टोल (पोटर्स स्क्वायर), भक्तपुर
दत्तात्रेय मन्दिर, भक्तपुर
कुलेखानी जलाशय (इन्द्र सरोवर)
पोखराका हरियाली डाँडाहरूः
पछिल्लो अध्यावधिक: साउन ३०, २०८२ १४:५२
