सरकारी अधिकारी अलमलिएपछि हाम्रोपात्रोलाई पनि देखे सामाजिक सञ्जाल, अनि लाग्यो प्रतिबन्ध
भदौ २०, २०८२ १७:१७
एआई सिर्जित तस्बिर
काठमाडौँ । सरकारी कर्मचारी स्पष्ट नहुँदा हाम्रो पात्रोलाई सामाजिक सञ्जालको सूचीमा राख्दै प्रतिबन्ध लगाएको पाइएको छ । सामान्य सामाजिक सञ्जालभन्दा फरक पात्रो तथा न्युज एग्रिगेटरको रूपमा रहेको एपमाथि सरकारले स्पष्टता बिना नै बिहीबारदेखि प्रतिबन्धित सूचीमा समावेश गरेको हो ।
हाम्रो पात्रोका एक वरिष्ठ कर्मचारीले सरकारले सामाजिक सञ्जाल अन्तर्गत राखेर आफ्नो एपमाथि प्रतिबन्ध लगाएको देख्दा अचम्मित भएको सुनाए । "हामीलाई सरकारले कसरी सामाजिक सञ्जाल देख्यो, अचम्मित छौँ," उनले टेकपानासँग भने, "अडिओ तथा भिडिओ कलिङ र मेसेजिङ सुविधा हामीले ल्याएकै छैनौँ । भोलिको दिनमा ल्याउने कुरा बेग्लै हो । तर आजसम्म बेटा टेस्टिङमा समेत समावेश नभएको फिचरलाई लिएर आजै सामाजिक सञ्जालको रूपमा प्रतिबन्ध लगाउनु नपर्ने हो ।"
एपमाथि प्रतिबन्ध लागेपछि शुक्रबार हाम्रो पात्रोको टोली सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेको थियो । त्यस क्रममा आफूहरूले कुन आधारमा हाम्रोपात्रोलाई सामाजिक सञ्जालको सूचीमा राखेर प्रतिबन्ध लगाइयो भन्ने प्रश्न राखेको ती कर्मचारीले बताए ।
"सचिव ज्यू लगायतका अन्य कर्मचारीहरूसँग हामीले यो कुरा राख्यौँ, तर उहाँहरूसँग पनि स्पष्ट जवाफ छैन," उनले भने, "सूचीकरण नभएका कारण प्रतिबन्धमा पर्ने सामाजिक सञ्जालको सूची तयार पार्दा अलिकति दुविधा भने महसुस भएको कुरा उहाँहरूले गर्नु भयो ।"
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले एक परामर्शदाता कम्पनीबाट सामाजिक सञ्जालबारे अध्ययन गरिएको र उक्त कम्पनीले बुझाएको प्रतिवेदनका आधारमा प्रतिबन्धको निर्णय लिइएको बताए । "कम्पनीको नाम भने मलाई अहिले ठ्याक्कै याद भएन, यो तीन चार महिना अगाडिको कुरा हो," उनले भने, "हाम्रो पात्रो सहितका सामाजिक सञ्जालको नाम त्यो प्रतिवेदनमै पनि थियो ।"
सामाजिक सञ्जाल निर्देशिकाको परिभाषा अनुसार कुन सामाजिक सञ्जाल हो र कुन होइन भन्ने कुरा निकै चुनौतीपूर्ण रहेको कुरा प्रवक्ता ठाकुरले स्वीकार गरे । "सामाजिक सञ्जाल हो कि होइन भन्नेमा बहस गर्नु भन्दा पनि अब सूचीकरणको प्रक्रियामै आइसकेपछि त्यसलाई राम्रै मान्नु पर्यो," उनले भने, "अहिले पनि हाम्रो पात्रोका केही फिचर सामाजिक सञ्जालको परिभाषाले समेट्ने किसिमका छन् भन्ने छ ।"
यद्यपि हाम्रो पात्रोले प्रतिबन्ध फुकाउन हतार हतार आवश्यक कागजात सहित मन्त्रालयमा सूचीकरणका लागि आवेदन दिइसकेको कम्पनीले जनाएको छ । "आज नभए पनि हामीले आगामी दिनमा ल्याउने फिचरका कारण हाम्रो पात्रो सामाजिक सञ्जालको रूपमा सूचीकृत हुनुपर्ने होला," हाम्रो पात्रोका ती कर्मचारीले भने, "अब भोलि पनि सूचीकृत हुनैपर्ने ठानेर त्यसका लागि आजै प्रक्रिया थालेका हौँ । तर आजको दिनमा हाम्रो पात्रो सामाजिक सञ्जाल होइन भन्ने कुरामा हामी स्पष्ट छौँ ।"
पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ १७:२१
