फ्याक्टचेक: नपत्याउनुस् ! नेपालमा एक हजार र पाँच सय रुपैयाँको नोट बन्द गर्ने निर्णय भएको छैन
भदौ २८, २०८२ १८:४८
काठमाडौँ । सामाजिक सञ्जालमा नेपाल राष्ट्र बैङ्कले एक हजार र पाँच सय रुपैयाँका नोटहरू बन्द गर्ने निर्णय भइरहेको भन्दै भिडिओहरू भाइरल भएका छन् । जेनजी आन्दोलनका क्रममा बैङ्कहरूमा लुटपाट भएको भन्दै सरकारले हजार र पाँच सय रुपैयाँका नोटहरू बन्द गर्न लागेको ती पोस्टहरूमा दाबी गरिएको छ ।
तर टेकपाना तथ्यजाँचले उक्त दाबी झुटो रहेको र हालसम्म नोट बन्दका विषयमा कुनै निर्णय नभएको पुष्टि गरेको छ ।
दाबी
फेसबुकमा ‘सुदूरपश्चिम खबर लम्की’ नामक फेसबुक पेजले नेपाल सरकारले हजार र पाँच सय रुपैयाँको नोट नचल्ने निर्णय गरेको दाबी गरिएको पाइयो ।
‘सुदूरपश्चिम खबर लम्की’ ले शुक्रबार (१२ सेप्टेम्बर) मा राति ९:०७ मा सार्वजनिक गरेको भिडिओमा भनिएको छ, “जेनजीको आन्दोलनमा घुसपैठ र लुटेराहरू घुसेर एकदमै बैङ्कहरू जेनजीको नाममा लुटेको थिए । जेनजीको नाममा धेरै बैङ्कहरू लुटेपछि सरकारले निर्णय गरेपछि अब हजार र पाँच सयको नोट नचल्ने छ ।” भिडिओ तथा आर्काइभ लिङ्क।
अनुसन्धान
सामाजिक सञ्जालमा हजार र पाँच सयको नोट नचल्ने निर्णय भएको पोस्टहरू देखेपछि टेकपानाले अनुसन्धान सुरु गर्यो । यसरी खोजी गर्ने क्रममा फेसबुकमा कयौँ पोस्टहरू फेला परे ।
त्यसपछि उक्त दाबीका पोस्टहरू टिकटकमा खोजी गर्दा पनि सोही दाबी सहितका विभिन्न पोस्टहरू फेला परे । ‘roshansharma.5’ नामको टिकटक आईडीबाट पनि पाँच सय र हजार रुपैयाँ बन्द हुने सोही दाबी सहित भिडिओ राखेको पाइयो । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टलाई २५ लाख पटक भन्दा बढी हेरिएको छ भने एक लाख १३ हजार लाइक गरिएको छ । भिडिओ ।
सोमबार नै सोही दाबी सहित ‘jaybholenath 441’ नामक टिकटक आईडीबाट पनि पोस्ट गरेको पाइयो । तीन लाख ६५ हजारभन्दा धेरैले हेरेको उक्त पोस्टमा पनि नेपालमा हजार र पाँच सयको नोट बन्द गर्न लागेको दाबी गरिएको छ ।
यस्तै किसिमको दाबी गरिएको अडिओ प्रयोग गरेर नै टिकटकमा १३८० भिडिओहरू बनाएर पोस्ट गरेको पाइयो ।
सामाजिक सञ्जालमा एकै किसिमको दाबी सहितका कयौँ भिडिओहरू राखेको पाइएपछि हामीले यसको तथ्यजाँच गर्यौँ । सार्वजनिक भिडिओहरूमा जेनजी आन्दोलनपछि सरकारले नोट बन्द गर्ने निर्णय गरेको बताइएको छ । सोमबार (२३ भदौ) बाट सुरु भएको जेनजी आन्दोलनमा १९ जनाको गोली लागेर मृत्यु भएपछि मंगलबार आन्दोलनले उग्र रूप लिएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । मन्त्रालय र मन्त्री क्वार्टर समेत जलेपछि अधिकांश मन्त्रीहरू सार्वजनिक रूपमा देखा परेका छैनन् ।
शुक्रबार राति ९:०० बजे राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ खुवाएका थिए । यो बिचमा नेपालमा प्रधानमन्त्री नै नरहेको अवस्थामा सरकारले नोट बन्द गर्ने भनेर लिएको दाबी आफैँमा भ्रामक देखिन्छ ।
त्यसपछि हामीले कुनै विश्वसनीय अनलाइन न्युज पोर्टलहरूमा यो दाबीका कुनै समाचारहरू सार्वजनिक भएका छन् कि छैनन् भनेर खोज्यौँ । ‘हजार र पाँच सयको नोट बन्द’, ‘नोट बन्द’, ‘१००० र ५०० रुपैयाँ’ लगायतका किवर्डहरू राखेर गुगलमा खोज्दा पनि सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा जस्तो दाबी गरिएको जस्तो कुनै समाचार फेला परेन । यस्तै नेपाल राष्ट्र बैङ्कले पनि नोट बन्दको विषयमा कुनै सूचना सार्वजनिक गरेको छैन ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पहिलो निर्णय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद विघटनको सिफारिस रहेको थियो । यो सामग्री तयार पार्दासम्म सरकारले अरू कुनै निर्णय गरेको जानकारी प्राप्त भएको छैन ।
हामीले नेपाल राष्ट्र बैङ्कका प्रवक्ता किरण पण्डितसँग पनि सम्पर्क गरेर हजार र पाँच सय रुपैयाँको नोट बन्द गर्ने विषयमा केही निर्णय भएको वा नभएको बुझ्यौँ । पण्डितले उक्त दाबीमा सत्यता नरहेको बताए । उनले भने, “मेरो जानकारीमा छैन । यो आधिकारिक जानकारी होइन । अहिलेको अवस्थामा भ्रामक जानकारीहरू फैलिरहेको हुन्छ । यस्तो कुराहरू पत्याउनु भन्दा पनि आधिकारिक जानकारीलाई मात्र विश्वास गर्नुहोला ।”
दाबी
जेनजी आन्दोलनमा बैङ्कहरूमा लुटपाट भएपछि हजार र पाँच सयका नोटहरू बन्द ।
दाबीकर्ता
‘सुदूरपश्चिम खबर लम्की’, ‘roshansharma.5’, ‘jaybholenath 441’ लगायत फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
यो फ्याक्ट चेकको आधारमा आएका मुख्य तथ्य यस्ता छन्:
- जेनजीको आन्दोलन पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएकाले नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म सरकार कुनै पनि निर्णय लिन सक्ने अवस्थामा थिएन ।
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की सरकारले शुक्रबार पहिलो निर्णय लिँदै राष्ट्रपतिकहाँ संसद विघटनको सिफारिस गरेको थियो । नोट बन्दका विषयमा हालसम्म यस अन्तरिम सरकारले कुनै निर्णय लिएको छैन ।
- नेपाल राष्ट्र बैङ्कले पनि नोट बन्दको कुनै आधिकारिक सूचना प्रकाशित गरेको छैन । बैङ्कका प्रवक्ताले नै हजार र पाँच सय रुपैयाँको नोट बन्द गर्ने दाबी झुटो रहेको पुष्टि गरेका छन् ।
निष्कर्ष
शुक्रबारदेखि सामाजिक सञ्जालमा नेपालमा जेनजी आन्दोलनमा बैङ्कहरूमा लुटपाट भएको भन्दै सरकारले हजार र पाँच सयका नोटहरू बन्द गरेको दाबीसहितका पोस्टहरू भाइरल भएका छन् । तर उक्त दाबी झुटो रहेको पाइएको छ । जेनजी आन्दोलन यता सरकारको तर्फबाट नोट बन्दका विषयमा कुनै निर्णय भएका छैनन् । नेपाल राष्ट्र बैङ्कले पनि उक्त दाबी झुटो भएको जानकारी दिएको छ ।

प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्यजाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्यजाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: माघ २७, २०८२ ८:४१
