अर्थ मन्त्रालयका कर्मचारीले घुस मागे वा काममा ढिलासुस्ती गरे सिधै मन्त्रीलाई खबर गर्न सकिने
असोज ७, २०८२ १२:५९
काठमाडौँ । अर्थ मन्त्रालयले आफू मातहतका कर्मचारीले सेवाग्राहीलाई अनावश्यक दुःख दिए, घुस मागे वा काममा ढिलासुस्ती गरेमा सिधै अर्थमन्त्री रामेश्वर खनाललाई गुनासो गर्न सकिने भएको छ । मन्त्रालयले नियामक, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने सेवामा कार्यरत कर्मचारीको कार्यशैलीमा सुधार ल्याउन र सुशासन कायम गर्न यो कदम चालेको हो ।
कर्मचारीले गर्नुपर्ने काम नगरेको, अनुचित कामका लागि दबाब दिएको, घुस वा रिसवत माग गरेको वा सेवा प्रवाहमा अनावश्यक ढिलासुस्ती गरी कठिनाइ सिर्जना गरेको अवस्थामा सिधै मन्त्रीलाई गुनासो टिपाउन सकिनेछ । यसका लागि अर्थमन्त्री खनालको आधिकारिक ईमेल [email protected] वा [email protected] मा ईमेल गर्न सकिने मन्त्रालयले जनाएको छ ।
गुनासो दर्ताका लागि टोल फ्री हटलाइन १८१०५०००४१० समेत उपलब्ध गराइएको छ । मन्त्रालयले सेवाग्राहीले कुनै पनि कठिनाइ भोग्नुपरेमा वा कर्मचारीबाट गैरजिम्मेवारपूर्ण व्यवहार भएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्पर्क व्यक्तिहरू समेत तोकिएका छन् । यसका लागि उपसचिव निरन भट्टराईलाई ९८५१४०५२६५ र शाखा अधिकृत पवित्रा जवालीलाई ९८५१४०५२७५ नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज ७, २०८२ १३:१३
