प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा फेक आईडी, कारबाही होला ?
असोज १०, २०८२ १३:१७
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा फेक आईडी खोलेको पाइएको छ । जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीको नाम र तस्बिर प्रयोग गरेर फेसबुक, एक्सजस्ता प्लेटफर्ममा नक्कली अकाउन्टमार्फत भ्रामक सूचना फैलाउने पोस्ट भइरहेको हो ।
यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी दिएको छ । कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आईडी बनाई फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार/पोष्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ। साथै, यस किसिमको गैरकानुनी कार्य गरेमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही हुने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।”
एक्समा ‘Sushila Karki Official’ नामबाट फेक आईडी सञ्चालन भइरहेको छ । यो आईडीमार्फत प्रधानमन्त्री कार्कीका विभिन्न गतिविधि पोस्ट भइरहेका छन् । फेसबुकमा पनि प्रधानमन्त्री र विभिन्न कार्कीको नाममा नक्कली आईडी खोली फलोअर बढाउने, भ्रम फैलाउने लगायतका गतिविधि हुन थालेका छन् ।

पछिल्लो अध्यावधिक: असोज १०, २०८२ १३:१७
