close

नेपाल टेलिकमका डिलरको सिन्डिकेट, नमस्ते पे वालेटबाट कमिसन भुक्तानी गर्न खोज्दा अवरोध

टेकपाना टेकपाना

असोज १२, २०८२ १२:२९

नेपाल टेलिकमका डिलरको सिन्डिकेट, नमस्ते पे वालेटबाट कमिसन भुक्तानी गर्न खोज्दा अवरोध

काठमाडौँ । नेपाल टेलिकमले नमस्ते पे वालेटबाट सिम र रिचार्ज कार्ड बिक्रीको कमिसन भुक्तानी गर्न खोज्दा डिलरहरूले त्यसमा असन्तुष्टि जनाउँदै रिचार्ज कार्ड उठाउन समेत छोडिदिएका छन् । बागमती प्रदेशअन्तर्गत रहेका टेलिकमका डिलरहरू पुरानै विधिमार्फत रिटेलर/पीओएसलाई कमिसन भुक्तानी गर्नुपर्ने माग राख्दै रिचार्ज कार्ड उठाउन छोडेका हुन् ।

टेलिकमले रिचार्ज र सिम कार्ड बिक्री तथा ग्राहक भुक्तानी प्रणाली सम्बन्धी कार्यविधि २०७८ अनुसार बिक्री गरेअनुसार डिलरलाई भ्याटबाहेक प्रति सिम कार्ड ३५ रुपैयाँ सेवा शुल्क र रिटेलर/पीओएसलाई प्रति सिम कार्ड करसहित ८० रुपैयाँ कमिसन उपलब्ध गराउँदै आएको छ ।

उक्त कमिसनको भुक्तानी मोडालिटी सोही कार्यविधिको प्रावधानअनुसार टेलिकमले डिलरहरूलाई नमस्ते पे वालेट वा चेक वा अन्तरबैंक भुक्तानी प्रणाली (आईपीएस) मार्फत गर्दै आएको छ । टेलिकमले मासिक रूपमा भ्याट बिल प्राप्त भएपछि सात दिन भित्र सेवा शुल्क बापतको रकम भुक्तानी गर्ने गरेको छ । रिटेलर/पीओएसको कमिसनको हकमा भने नमस्ते पे वालेटमार्फत ग्राहक विवरण रुजु भएको एक हप्ता भित्र भुक्तानी गर्ने प्रावधान छ ।

तर, वालेटमार्फत कमिसन रकमको भुक्तानी व्यवस्था नहुन्जेलसम्मका लागि भने सम्बन्धित डिलरमार्फत रिटेलर/पीओएसको कमिसन भुक्तानी मिलाइँदै आइएको छ ।

यसैबीच टेलिकमसँगै राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा खोलिएको नमस्ते पेले उक्त कमिसन भुक्तानी गर्न ‘बल्क पेमेन्ट सिस्टम’ तयार गरिसकेको छ । डिलरहरूसँगको सम्झौताअनुसार सो प्रणाली तयार भइसकेकाले टेलिकमको बागमती प्रदेशको प्रादेशिक निर्देशनालयले रिटेलर/पीओएसको भुक्तानी नमस्ते पे मार्फत सोझै दिनुपर्ने दायित्व छ । टेलिकमले उक्त भुक्तानी सहजीकरण गर्न २७ साउनमा नै ३० दिनको समय दिएको थियो । डिलरहरूलाई आफ्ना रिटेलर/पीओएसहरूको लेनदेन मिलाउन टेलिकमले उक्त समय दिएको थियो ।

टेलिकम स्रोतका अनुसार डिलरहरूको मातहत रहेका रिटेलर/पीओएसको प्यान नम्बर सहितको अद्यावधिक विवरण बुझाउन निर्देशनालयले दुई पटक पत्र काटिसकेको छ । तर, डिलरहरूले त्यसलाई वेवास्ता गर्दै नमस्ते पे मार्फत रिटेलर/पीओएसलाई भुक्तानी गर्न अवरोध खडा गरेका हुन् । त्यसैको आवेगमा उनीहरूले टेलिकमबाट तीन दिनदेखि रिचार्ज कार्ड उठाएका छैनन् । जसका कारण चाडपर्वको समयमा बजारमा रिचार्ज कार्ड अभाव हुन सक्ने जोखिम बढ्दै गएको छ ।

साथै, बजारमा चाडपर्वको समयमा रिचार्ज कार्ड अभाव भए कालोबजारी हुन सक्ने भएकाले तत्काललाई टेलिकमका देशभरका कार्यालयहरूबाट समेत रिचार्ज कार्ड बिक्री वितरण गर्ने र हालको सम्झौता तोडेर १५ दिनको सूचना दिएर नयाँ डिलर नियुक्त गर्न टेलिकमकै कर्मचारीहरूले निमित्त प्रबन्ध निर्देशक सबिना मास्के प्रधानलाई आग्रह गरिरहेका छन् ।

डिलरहरूले टेलिकमका कर्मचारीदेखि कार्यालयमा तोडफोड गर्ने धम्की समेत दिइरहेको स्रोत बताउँछ ।

“बिचौलिया राज चलाइरहेका डिलरहरूलाई नेपाल टेलिकम, बागमती प्रदेशको कार्यालयले सम्झौता अनुसार नै नमस्ते पे मार्फत भुक्तानी गर्न खोज्दा आफू प्रतिकूल हुने भन्दै अवरोध खडा गरिरहेका छन् । टेलिकम जस्तो अत्यावश्यक सेवामा पटकपटक गैरकानूनी ढंगले घेराउ गर्ने, तोडफोड गरीदिन्छु भन्ने धम्की दिने र निर्णय प्रक्रियामा संलग्न कर्मचारीहरूलाई भौतिक आक्रमण गर्छु भनेर धम्की डिलरहरूबाट आइरहेको छ,” टेलिकम स्रोतले टेकपानासँग भन्यो ।

डिलरहरूले १६ भदौमा प्रादेशिक निर्देशनालयका निर्देशकलाई पत्र लेख्दै पुरानै तरिकाले भुक्तानी मिलाइदिन दबाब दिएका थिए । १६ वटा डिलरहरू टेलिकमको भुक्तानी प्रणालीलाई लिएर क्रुद्ध बनेका छन् । एस सेल, अनमोल जनसेवा सेन्टर, एएस सप्लायर्स, क्यास पे, चितवन टेलिफोन मर्मत केन्द्र, सीएमटीएस मल्टिबिजनेस, जीसी ब्रदर एण्ड अर्डर सप्लायर्स, ग्यालेक्सी इन्टरनल ट्रेड सेन्टर, जेआरजी मल्टिपर्पोज, ओम सर्भिसेस, अनलाइन जर्नी सर्भिसेस बागमती प्रदेशमा टेलिकमको सिम र रिचार्ज कार्ड बिक्री गर्ने डिलर हुन् । यस्तै, पूर्वज ट्रेड कन्सर्न, रुद्रप्रिया इन्टरनेशनल, भी-सोलुसन, भी-कार्ड कन्सर्न, युयान ट्रेड इन्टरनेशनल पनि डिलर हुन् ।

पछिल्लो अध्यावधिक: असोज १२, २०८२ १२:४२