काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफैँ छपाइ गर्न थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छपाइको कार्य प्रारम्भ गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित मुद्रण केन्द्रको मसिनमा बटन थिचेर लाइसेन्स छपाइ कार्यको उद्घाटन गरे । उनले कानुनी उल्झन र विविध कठिनाइबिच पनि आवश्यक तयारी पूरा गरी सरकारी प्रेसबाटै लाइसेन्स छपाइ सुरु गरिएको बताए ।
“वर्षौदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिनहरु यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहर जस्तो भएको थियो । धुलो टकटक्याएर छपाइको काम थालेका हौँ,” मन्त्री खरेलले भने ।
उनका अनुसार केन्द्रका मसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भएपनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन ।
“अहिले हामीले निकै मेहनत गरेर सरकारी प्रेसबाटै लाइसेन्छ छपाइ सुरु गरेका छौँ”, उनले भने,“ २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ । चिट कागजमा मात्रै सीमित रहेको अवस्थामा यहाँबाट छपाइ सुरु गरेर जनतालाई सुशासनको प्रत्याभूति दिने हाम्रो सोच रहेको छ ।”
लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाइ सधै विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए ।
उनले अगाडि थपे, “सुरक्षित मुद्रणबारे अदालतमा मुद्दा र अख्तियारमा उजुरी थियो । केन्द्रको बेथिति, कानुनी अप्ठ्यारा छिचोल्दै नियमावली ल्याएर स्रोत साधनको सुनिश्चित गरी जनशक्ति व्यवस्थापन गरेर लाइसेन्स छपाइ सुरु गरिएको हो । अब क्रमशः अन्य विभिन्न छपाइ पनि केन्द्रबाटै हुन्छ । यसबाट मुलुकको पैसा बाहिर जान रोकिन्छ । राष्ट्रिय सुरक्षाका हिसाबले पनि महत्त्वपूर्ण र राम्रो सुरुवात हो । यसलाई निरन्तरता दिनुपर्छ ।”
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले कानुनी उल्झन र प्राविधिक जटिलता समाधानपछि आजदेखि छपाइ कार्य सुरु गरिएको जानकारी दिए । पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौताअनुसार कार्य सुरु भएको हो ।
हाल दैनिक ५०० प्रति छपाइ सुरु भएको र क्रमशः उत्पादन क्षमता बढाउँदै लैजाने तयारी रहेको केन्द्रले जनाएको छ । कार्डमा आधारित छपाइ सुरु भएको छ भने कागजी छपाइको काम आगामी छ महिनाभित्र सुरु गरिने तयारी भइरहेको कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए ।
उनका अनुसार सुरक्षण मुद्रण केन्द्रबाट आजकै मितिदेखि नागरिकता, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ ।
सुरक्षण मुद्रण केन्द्रमामा हालसम्म करिब तीन अर्ब रुपैयाँ बराबरको लगानी भइसकेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८२ १५:१६
