close

ओली पक्राउको विरोधमा प्रदर्शन गर्दा साइबर बुलिङको शिकार भएकी अमिशाले दिइन् प्रहरीमा उजुरी

टेकपाना टेकपाना

चैत १८, २०८२ १५:१६

ओली पक्राउको विरोधमा प्रदर्शन गर्दा साइबर बुलिङको शिकार भएकी अमिशाले दिइन् प्रहरीमा उजुरी

काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विरोधमा सडकमा प्रदर्शन गरेको भरमा साइबर बुलिङमा परेकी भक्तपुरकी २० वर्षीय अमिशा पराजुलीले साइबर ब्युरोमा उजुरी दिएकी हुन् । आमा विमलासहित बुधबार भोटाहिटीस्थित ब्युरोमा पुगेर उनले अभद्र कमेन्ट गर्ने तथा भ्रामक सामग्री बनाउनेविरुद्ध उजुरी दिएकी हुन् । 

निवेदन दिएपछि अमिशाले भनिन्, “यसरी मानहानि हुनु मेरो मात्र व्यक्तिगत समस्या होइन रहेछ । महिलाहरूमाथि हुने डिजिटल दुर्व्यवहार विरुद्ध कानुनी लडाइँ लड्नुपर्छ भन्ने बुझेर मैले यो कदम चालेकी हुँ ।”

गत शनिबार पूर्वप्रधानमन्त्री ओली पक्राउ परेपछि एमाले कार्यकर्ताहरूले विरोध प्रदर्शन सुरु गरेका थिए । सोही प्रदर्शनमा सहभागी अमिशाले नाराबाजी गरेको र सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएका तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

त्यसलगत्तै, उनको तस्बिर र भिडिओको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा विभिन्न आपत्तिजनक पोस्टहरू गरिएका छन् । ती पोस्टमा उनीमाथि बलात्कारको धम्की दिने, द्विअर्थी शब्द प्रयोग गर्ने र घरेलु हिंसालाई समर्थन गर्ने खालका निकृष्ट टिप्पणीहरू गरिएका छन् ।

अमिशाले अन्तर्वार्ता दिएको भिडिओको दुरुपयोग गरेर केपी ओलीले पैसा दिएकाले पक्राउको विरोधमा आएको भन्दै एआई निर्मित भिडिओ पनि भाइरल गराइएको छ । टेकपानाको तथ्यजाँचले उक्त भिडिओ भ्रामक रहेको पुष्टि गरेको छ । 

टिकटकमा पनि फेक अकाउन्टको लर्को

सामाजिक सञ्जालमा गाली, एआई सामग्रीहरू भाइरल भइरहँदा पराजुलीको नाममा विभिन्न फेक अकाउन्ट पनि बनेका छन् । Amisha__parajuli4 युजरआईडी रहेको अमिशाको ओरिजिनल टिकटक अकाउन्ट छ । सोही आईडीमा रहेका फोटो, भिडिओ तानेर विभिन्न टिकटक अकाउन्टहरू खोलिएका छन् । ती मध्ये केही अकाउन्टले एआई निर्मित भिडिओहरू शेयर गरेका छन् । 

टिकटकमा ‘amishaparajuliofficial’ युजरनेम रहेको अकाउन्टमा सोमबारदेखि अमिशाका विभिन्न तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् । यो अकाउन्टलाई ३६ हजार बढीले फलो गरेका छन् भने तीन हजार बढी लाइक छ । 

यस्तै टिकटकमै ‘amishaparajuliofficial3’ नामको अकाउन्ट पनि खोलिएको छ । उक्त अकाउन्टबाट पनि सोमबार (३० मार्च) बेलुकादेखि भिडिओ सार्वजनिक गरिएको छ । टिकटकमा अमिशाका तस्बिर र भिडिओहरू राखेर अन्य दर्जनौँ फेक अकाउन्टसमेत खुलेका छन् । 



 

पछिल्लो अध्यावधिक: चैत १८, २०८२ १५:३२