close

सीसीटिभी र प्रहरीले निगरानी गरेर उत्तरपुस्तिका जाँचिदै, वैशाख भित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

टेकपाना टेकपाना

चैत २५, २०८२ १३:११

सीसीटिभी र प्रहरीले निगरानी गरेर उत्तरपुस्तिका जाँचिदै, वैशाख भित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका अनिवार्य रूपमा सीसीटिभी र सुरक्षाकर्मीको निगरानीमा जाँच गर्न निर्देशन दिएको छ । बोर्डले देशैभरका परीक्षा केन्द्रमा सीसीटिभी क्यामेरा राखेर जाँच गर्न निर्देशन दिएको हो । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार सोही निर्देशन अनुसार परीक्षा केन्द्रमा उत्तरपुस्तिका जाँच भइरहेका छन् । उनले भनिन्, “दुर्गमका केही केन्द्रमा सीसीटिभी नहुने समस्या पनि छ । प्राविधिक असुविधा भएको स्थानमा पनि प्रहरीको निरन्तर निगरानी छ ।”

यो वर्षको नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने तयारी समेत भइरहेको उनले जानकारी दिइन् । “वैशाख भित्रमा नै नतिजा सार्वजनिक गर्नेगरी आवश्यक तयारी अघि बढाएका छौँ ।” त्यसैले सम्बन्धित विषयको परीक्षा सकिएकै दिनदेखि नै उत्तरपुस्तिका जाँच गर्ने काम भइरहेको छ । 

१९ चैतदेखि सुरु भएको एसईई परीक्षा २९ चैतमा सम्पन्न हुँदैछ । परीक्षा सुरु हुनुभन्दा पहिला नै परीक्षा बोर्डलाई सरकारले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । 

सोही निर्देशनअनुसार तोकिएको समयसीमाभित्र नतिजा सार्वजनिक गर्न परीक्षा सञ्चालन भएका केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण भइरहेका छन् । सूचना अधिकारी मरासिनीले भनिन्, “अहिले कुनैपनि विद्यालयको ‘होम सेन्टर’ परेको छैन । जुन केन्द्रमा विद्यार्थीहरूले परीक्षा दिन्छन्, त्यही केन्द्रमा उत्तरपुस्तिका जाँच भइरहेको छ । यसरी जाँच गर्दा निगरानीका लागि सीसीटिभी क्यामेरा र सुरक्षाकर्मी अनिवार्य गरेका छौँ ।”

यसअघिका वर्षमा भने एउटा जिल्लाको उत्तरपुस्तिका अन्य जिल्लामा पुर्‍याएर सुविधासम्पन्न केन्द्रमा राखेर एकमुस्ट रूपमा उत्तरपुस्तिका जाँच गरिँदै आएको थियो । यसरी जाँच गर्ने केन्द्रमा पनि सीसीटिभी क्यामेराबाट निगरानी भने हुँदै आएको थियो । हाल भने यस अघिभन्दा धेरै सङ्ख्याका केन्द्रबाट उत्तरपुस्तिका जाँच भइरहेकाले उत्तरपुस्तिकाको जाँचमा निगरानी थप बढाइएको उनले जानकारी दिइन् ।

 

पछिल्लो अध्यावधिक: चैत २५, २०८२ १३:११