Scam Exposed: टिकटकमा १७ सयको र्याक अर्डर गर्दा डाक्टरले क्षणभरमै गुमाए साढे २ लाख रुपैयाँ
चैत २७, २०८२ १४:५७
काठमाडौँ । ‘Functional House’ नामको टिकटक अकाउन्टबाट अपलोड गरिएको एउटा आकर्षक र्याकको भिडिओ विराटनगरका एक डाक्टरको फिडमा टुप्लुक्क आइपुग्यो । मूल्य १४९९ मात्र राखिएको उक्त र्याक निकै आकर्षक थियो ।
उनले उक्त भिडिओमा देखिएको नम्बर ‘९८१५६३२३७४’ मा ह्वाट्सएप मेसेज पठाए । त्यसको केही समयमै ‘प्रडक्टको स्क्रिनशट पठाउनुस्’ भन्ने जवाफ आयो ।

ती डाक्टरले स्क्रिनशट राख्न भुलेका थिए । सक्रिय रूपमा चिकित्सा क्षेत्रमा काम गरिरहेका उनलाई उक्त सामान खोजिरहने फुर्सद पनि थिएन ।

त्यसैले उनले ‘सेतो कलरको प्लास्टिकको दराज’ थियो भन्ने उत्तर दिए । उतैबाट दुई ओटा स्क्रिनशट आए । त्यसमध्ये एउटा डाक्टरले खोजेकै जस्तो दराज थियो । लगत्तै उनले भने, “यही १४९९ वाला ।” उताबाट हुन्छ भन्ने जवाफ पाएपछि डाक्टरले भने, “के के गर्नु पर्छ ? कसरी अर्डर गर्ने ?”

उताबाट एउटा टेम्प्लेट आयो । जहाँ आफ्नो नाम, सम्पर्क नम्बर र लोकेसन पठाउनुपर्ने थियो । डाक्टरले भनेको विवरण पठाइदिए । त्यसपछि उनलाई २०० डेलिभरी चार्ज लाग्ने र त्यो पनि सँगै बुझाउनुपर्ने भनियो । र, क्यूआर कोड पठाइयो । खाता ‘Aashik Kumar Mandal’ को नामको प्रभु बैंकको ‘1210301159900017’ नम्बरको थियो । त्यसपछि भुक्तानी गरेर स्क्रिनशट पठाउन भनियो । डाक्टरले तत्कालै रकम पठाइदिए । र, उनलाई स्क्रिनशट पठाउन तयार भए । र, भुक्तानी सफल भएको स्क्रिनशट पठाए ।
अब त अर्डर सेट भयो होला भन्ने डाक्टरको आशा थियो । उनी भन्छन्, “अनलाइन शपिङ साइटको जस्तो भएको भए त सबै प्रोसेस थाहा हुन्थ्यो । टिकटकको भयो । सामान राम्रो थियो । त्यसैले उनीहरूको प्रक्रिया होला भनेर मैले उसले भने अनुसारको ट्रान्जेक्सन सक्सेस भएको स्क्रिनशट पठाइदिएँ ।”
स्क्रिनशट पाएपछि उताबाट मेसेज आयो- ‘एकछिनमा खबर गर्छु’ । त्यसको सात मिनेटपछि अर्को मेसेज आयो- ‘भ्यु अल स्टेटमेन्ट पठाउनु त’ ।
यो स्क्यामरले फालेको दोस्रो जालो थियो । जहाँ उसले पीडितको बैंकमा कति रकम छ भन्ने थाहा पाउन सक्थ्यो । र, त्यही अनुसार रकम लुट्ने योजना बनाउँथ्यो । “उसले स्टेटमेन्टको स्क्रिनशट पठाउनु भन्यो । मैले स्क्रिनशट लिएँ । तर, त्यसमा मेरो खातामा भएको चार लाख रुपैयाँ देखिएको थियो,” उनी भन्छन्, “किन उसलाई मेरो खातामा भएको रकम देखाउने भनेर मैले ब्लर गरेर १७०० रुपैयाँ गएको देखिने स्क्रिनशट पठाए ।”
उनी सचेत थिए । कसैलाई आफ्नो खातामा भएको रकम पठाउनु हुँदैन ‘जे पनि’ हुन सक्छ भन्ने बुझेका थिए । स्क्रिनशट पठाएपछि कुरा मिल्नुपर्ने हो । डाक्टरलाई पनि अब सबै प्रक्रिया पूरा भइसक्यो भन्ने लागेको थियो । तर, त्यसको केही समयपछि उताबाटै मेसेज आयो । डाक्टर व्यस्त भएकाले जवाफ दिन पाएनन् । ह्वाट्सएपमै कल पनि आयो । तर, त्यो पनि उठाउन पाएनन् । त्यसपछि उताबाटै भिडिओ कल आयो । तर, केही देखिएको थिएन । कल गर्ने व्यक्तिले भने, “तपाईंले पठाएको पैसा होल्ड भएको रहेछ । डिस्प्युट गर्नुपर्छ ।”


डाक्टरले डिस्प्युट भनेको बुझेका थिए । उनले तत्कालै ट्रान्जेक्सन हिस्ट्रीमा गएर ‘रेज इस्यु’ गरेर डिस्प्युटको प्रक्रिया अगाडि बढाए । र, आफूले काम गरेँ भने । तर, उक्त व्यक्तिले ‘मलाई एक पटक स्क्रिनशेयर गर्नु त म कसरी गर्ने भन्ने देखाउँछु किनभने हजरले गरेको भएन ।’ भने । त्यसअघि कहिल्यै त्यस्तो समास्या नभोगेका डाक्टरलाई यो नौलो विषय थियो । उनले स्क्यामरले भनेको जस्तै स्क्रिनशेयर गरे । र, स्क्यामरले जुन जुन ठाउँमा जान भन्यो त्यहीँ गए ।
“तपाईंलाई म एउटा क्यूआर कोड पठाउँछु । त्यसलाई स्क्यान गर्नुस् अनि म अरू प्रोसेस भन्छु,” स्क्यामरले भन्यो । डाक्टरले पनि बैंकिङ एपबाट क्यूआर कोड स्क्यान गरे । र, त्यहाँ सबैभन्दा माथि माथि स्क्यामरले बैंक खाता नम्बर, त्यसभन्दा तल नाम थियो । त्यसभन्दा तल अमाउन्टको अप्सन थियो भने त्यसभन्दा तल Remarks थियो । स्क्यामरले डाक्टरलाई Remarks मा ‘return my all blc 1710’ लेख्न लगायो । र, भन्यो, “मसँग एउटा कोड छ त्यो टाइप गर्नुस् त । ००२४८७४९.८७ ।”
डाक्टर भन्छन्, “मसँग यता कलमा थियो । अनि स्क्रिनशेयर गरिरहेको थिएँ । उसले जे भनेको छ त्यही प्रोसेसबाट जान खोजेको थिएँ । त्यो, ‘००२४८७४९.८७’ लाई अमाउन्टमा पेस्ट गर्न भन्यो । मलाई ध्यान नै भएन । जिरो जिरोबाट सुरु भएको त अकाउन्ट हो भन्ने थाहै हुन्न नि । त्यसले मेरो ब्रेन वाश गर्यो । अमाउन्टमा राखेको पैसा त स्क्यामरकोमा जान्छ भन्ने कुरा दिमागमै आएन । पहिला रिमार्क्समा रिफन्ड माई ब्यालेन्स लेख्न लगाएपछि होला त भन्ने नै लाग्यो ।”
तर, त्यहाँ रहेको ‘२४८७४९.८७’ अङ्क वास्तवमा दुई लाख ४८ हजार ७४९ रुपैयाँ ८७ पैसा थियो । डाक्टरले पनि त्यसै गरे । र, कन्टिन्युको अप्सनमा ट्याप गरेर आफ्नो पिन राखी सम्बिट गरे । यति गर्दा उनको खाताबाट उक्त रकम गइसकेको थियो । तर, डाक्टरले आफ्नो खाताबाट रकम गएको थाहा पाइसकेका थिएनन् ।

त्यसपछि पुनः उनलाई क्यूआर कोड स्क्यान गर्न लगाइयो । र, रिमार्क्समा ‘refund my blc 248000 00147984.99’ टाइप गर्न लगाइयो । किनभने डाक्टरको खातामा ४ लाख रुपैयाँ थियो । र, स्क्यामरले अब एक लाख ४८ हजार ९८४ रुपैयाँ ९९ पैसा लुट्ने योजना बनाएको थियो । यतिबेलासम्म पनि डाक्टरले आफू लुटिएको चाल पाएका थिएनन् । र, त्यसै गरे । तर, बैंकले एकै दिन तीन लाख रुपैयाँ बढी रकम ट्रान्सफर गर्न दिंदैन । यसरी तपाईंको लिमिट सकियो भन्ने नोटिफिकेसन देखियो । यसपछि मात्र उनले आफू ठगिएको चाल पाए । र, स्क्यामरलाई ‘मलाई तिमीहरूले ठग्न खोजेको ?’ भने ।

स्क्यामरले ‘होइन, यो रिफन्ड गर्ने तरिका हो । अबको २४ घण्टाभित्र तपाईंले त्यही प्रक्रिया गर्नु भयो भने तपाईंको रकम फिर्ता आउँछ’ भन्यो । डाक्टरले आफू ठगिएको चाल पाए । र, राति ९ बजे नै ‘जिल्ला प्रहरी कार्यालय’ विराटनगर पुगे । तर, राति न प्रहरीले केही गर्न सक्ने अवस्था थियो न बैंकले । उनले जसोतसो आफ्नो बैंक खाता फ्रिज गराए । तर, स्क्यामरको खाता फ्रिज गराउन समय लाग्यो । प्रहरीले निवेदन दिएर खाता फ्रिज गराउने बेलासम्म त्यसमा जम्मा ११ हजार रुपैयाँ मात्र बाँकी थियो ।

“अझै पनि तपाईंको पैसा फिर्ता आउँछ भनेर मेसेज पठाइरहेको हुन्छ,” डाक्टर भन्छन्, “मैले रकम पाउन अनेक कुरा गरेँ, सुसाइड गर्छु भने । अहँ आश देखाएर फेरि लुट्न खोज्ने रहेछन् । मेरोमा लिमिट नलागेको भए त्यो एक लाख ९७ हजार रुपैयाँ पनि जान्थ्यो । धन्न त्यति चाहिं जोगियो ।”

यसरी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय डाक्टर नै टिकटकमा भेटिएको सामान्य र्याक खरिद गर्न खोज्दा क्षणभरमै साढे दुई लाख रुपैयाँ बढी ठगिन पुगे । उनले जिल्ला प्रहरी कार्यालय विराटनगरमा निवेदन दिइसकेका छन् भने प्रहरीले यसमा अनुसन्धान गरिरहेको छ ।
हाम्रा अन्य श्रृङ्खलाहरूः
Scam Exposed: टिकटकमा १५ हजार फलोअर भएको अकाउन्टले सस्तोमा दराज बेच्ने भन्दै यसरी ठग्यो ३० हजार
Scam Exposed: टिकटकमा भेटेको २ हजारको हेल्मेटले यसरी क्षणभरमै रित्यायो खातामा भएको १८ हजार
पछिल्लो अध्यावधिक: चैत २७, २०८२ १६:५७
