डीगो एपमार्फत नेपालमा ५४९ रुपैयाँमा फिफा वर्ल्डकपका सबै खेल हेर्न पाइने
बैशाख ३०, २०८३ १४:१७
काठमाडौँ । नेपालमा ‘फिफा विश्वकप २०२६’ को प्रत्यक्ष प्रसारणका लागि हिमालय स्पोर्टस् र डीगो एपले शुल्क निर्धारण गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच यससम्बन्धी जानकारी दिइएको हो ।
विश्वकपका कुल १०४ खेल हेर्न दर्शकले तोकिएको शुल्क भुक्तानी गरी सब्स्क्रिप्सन लिनुपर्नेछ । टेलिभिजनमा हिमालय स्पोर्टस् च्यानल हेर्न प्रति सेट-टप बक्स ९९९ रुपैयाँ (करसहित) शुल्क तोकिएको छ । टेलिभिजनका ग्राहकले विश्वकप हेर्न आफ्नो सम्बन्धित केबल अपरेटर वा टेलिभिजन सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्नेछ ।
मोबाइल एपमार्फत मात्र विश्वकप हेर्न चाहने दर्शकका लागि ५४९ रुपैयाँ (करसहित) शुल्क तोकिएको छ । कम्पनीले यो फिचर तत्कालका लागि लागु गरिसकेको छैन ।
यता डीगो एपमार्फत सीमित अवधिका लागि ‘अर्ली बर्ड अफर’ सार्वजनिक गरिएको छ । यसअनुसार ग्राहकले ९९९ रुपैयाँ पर्ने सब्स्क्रिप्सन ग्राहकले सीमित समयका लागि ७९९ रुपैयाँमा विश्वकप हेर्न पाउनेछन् । उल्लेखित शुल्क तिरेपछि दर्शकले विश्वकपका सबै खेलमा पहुँच पाउनेछन् ।
यो शुल्क तिरेपछि मोबाइल एपबाहेक वेबसाइटमा पनि खेल हेर्न सकिनेछ । तर, एक पटकमा एउटा मात्र डिभाइसमा स्ट्रिम हुन्छ । २९ जेठदेखि सुरु हुने विश्वकपको प्रसारण अधिकार एसप्रो मिडियाले प्राप्त गरेको हो । एसप्रो मिडियाले हिमालय स्पोर्टस् र डीगो एपसँग एक्सक्लुसिभ सम्झौता गरेसँगै यी दुई प्लेटफर्म नेपालमा विश्वकप हेर्ने आधिकारिक माध्यम बनेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८३ १६:२०
