close

५ वर्षअघि साढे ३१ करोड खर्चेर टेलिकमले खरिद गरेको बिजनेस इन्टेलिजेन्स सिस्टम अझै प्रयोगविहीन

टेकपाना टेकपाना

जेठ ७, २०८३ १९:१७

५ वर्षअघि साढे ३१ करोड खर्चेर टेलिकमले खरिद गरेको बिजनेस इन्टेलिजेन्स सिस्टम अझै प्रयोगविहीन

काठमाडौँ । नेपाल टेलिकमले करोडौँ रुपैयाँ खर्चेर खरिद गरेको व्यापार बुद्धिमत्ता प्रणाली (बिजनेस इन्टेलिजेन्स सिस्टम) सम्बन्धी उपकरण हालसम्म प्रयोगमा नआएको पाइएको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले टेलिकमले साढे पाँच वर्षअघि खरिद गरेका उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेको र त्यसलाई सञ्चालनमा नल्याइएको औँल्याएको हो ।

प्रतिवेदनअनुसार कम्पनीले १३ नोभेम्बर २०२० मा उक्त प्रणालीका लागि २३ लाख ५६ हजार अमेरिकी डलर बराबरको सामान र तीन लाख पाँच हजार अमेरिकी डलरको सेवा खरिद गरेको थियो । यसका साथै नाै लाख ९४ हजार रुपैयाँ बराबरको स्थानीय सेवासमेत खरिद गरिएको थियो । कुल २६ लाख ६१ हजार अमेरिकी डलर (तत्कालीन समयको विनिमय दर अनुसार करिब ३१ करोड ६७ लाख रुपैयाँ) खर्च गरिए पनि ती उपकरण उपयोग गरी हालसम्म प्रणालीको स्थापना र सञ्चालन नगरिएको प्रतिवेदनले देखाएको छ ।

प्रणाली सञ्चालनमा नआउँदा कम्पनीको आय सुनिश्चिततामा समेत प्रश्न उठेको छ । “कम्पनीले उक्त प्रणाली उपयोगमा ल्याई आयमा हुन सक्ने क्षतिको जोखिम न्यूनीकरण गर्नुपर्दछ,” महालेखाले भनेको छ ।

विगतका प्रतिवेदनहरूमा समेत यो विवरण उल्लेख गरी सुधारका लागि निर्देशन दिइए पनि हालसम्म स्थिति यथावत् रहेको प्रतिवेदनमा उल्लेख छ । कम्पनीको आर्थिक विनियमावली, २०७१ ले प्रत्येक दुई वर्षको अन्तरालमा कम्तीमा एक पटक आय सुनिश्चितताको परीक्षण गराउनुपर्ने व्यवस्था गरे तापनि टेलिकमले आव २०८१-८२ सम्म त्यस्तो परीक्षण समेत नगराएको प्रतिवेदनले औँल्याएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८३ १९:२८