close

बालबालिकामा डिप्रेसन बढाएको भन्दै अमेरिकामा सामाजिक सञ्जाल विरुद्ध कानुनी लहर, मेटाले गर्‍यो सम्झौता

टेकपाना टेकपाना

जेठ १२, २०८३ ६:१५

बालबालिकामा डिप्रेसन बढाएको भन्दै अमेरिकामा सामाजिक सञ्जाल विरुद्ध कानुनी लहर, मेटाले गर्‍यो सम्झौता

 

काठमाडाैँ । मेटा प्लेटफर्म्सले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पुर्‍याएको आरोपसम्बन्धी एक महत्वपूर्ण मुद्दामा सम्झौता गरेको छ । अमेरिकाको केन्टकी राज्यको एक स्कुल डिस्ट्रिक्ट (सार्वजनिक विद्यालयहरू सञ्चालन गर्ने निकाय) ले दायर गरेको उक्त मुद्दामा मेटाले सम्झौता गरेको हाे ।

समाचार एजेन्सी एपीका अनुसार यो मुद्दामा कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लत लगाउने (Addictive) किसिमले डिजाइन गरिएको र त्यसले विद्यार्थीहरूमा चिन्ता, डिप्रेसन र आत्महानि जस्ता मानसिक समस्या देखिएको आरोप लगाइएकाे थियो । यद्यपि अमेरिकाको क्यालिफोर्नियास्थित सङ्घीय अदालतमा सुनुवाइ सुरु हुनुभन्दा करिब तीन हप्ता अघि नै मेटा र स्कुल डिस्ट्रिक्टबीच सम्झौता भएको हो ।

मेटाका अनुसार यो मुद्दा आपसी समझदारीमा सेटल गरिएको हो । कम्पनीले किशोर किशोरीको सुरक्षाका लागि Teen Accounts जस्ता सुविधा र अभिभावकीय नियन्त्रण प्रणाली विकास गरिरहेको बताएको छ । स्कुलले मानसिक स्वास्थ्य सेवामा बढेको खर्च र १५ वर्षे सुधार कार्यक्रमका लागि ६० मिलियन डलरभन्दा बढी क्षतिपूर्ति माग गरेको थियो । साथै, प्लेटफर्महरूको डिजाइन परिवर्तन गर्न अदालतको आदेश पनि माग गरिएको थियो । तर सम्झौताका आर्थिक सर्तहरू सार्वजनिक गरिएको छैन ।

ठुलो कानुनी लहर

अमेरिकाभरका करिब १२ सय अमेरिकी स्कुल डिस्ट्रिक्टहरूले मेटा, टिकटक, स्न्याप र युट्युबविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर गरेका छन् । यी समान किसिमका मुद्दाहरू अझैपनि अमेरिकामा विचाराधीन रहेका छन् । सामाजिक सञ्जाल प्लेटफर्महरूले बालबालिकामा मानसिक स्वास्थ्य संकट (Mental Health Crisis) बढाएको स्कुल डिस्ट्रिक्टहरूले आरोप लगाएका छन् । टिकटक, स्न्याप र युट्युबले पनि सोही केन्टकी स्कुल डिस्ट्रिक्टसँग यसअघि नै सम्झौता गरिसकेका थिए ।

यो मुद्दा सामाजिक सञ्जाल कम्पनीहरू विरुद्ध चलिरहेको ठुलो कानुनी लहरको एक हिस्सा हो । मेटा र युट्युबले पहिले पनि यस्तै किसिमका मुद्दाहरूमा हार भोगिसकेका छन् । मार्च महिनामा लस एन्जलसको एक ट्रायलमा उनीहरूलाई जानाजान लत लगाउने डिजाइन बनाएकाे र पर्याप्त चेतावनी नदिएको आरोपमा ६ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिइएको थियो ।

त्यसैगरी, न्यू मेक्सिकोको अर्को मुद्दामा मेटालाई ३७५ मिलियन डलर जरिवाना लगाइएको थियो । जसमा कम्पनीले आफ्ना प्लेटफर्महरूको सुरक्षाबारे प्रयोगकर्तालाई भ्रममा पारेको आरोप प्रमाणित भएको थियो ।

मेटा, टिकटक, स्न्याप र युट्युबविरुद्ध उनीहरूका उत्पादनहरूले लत लगाउने र बालबालिकालाई हानि पुर्‍याउने दाबी गर्दै हजारौँ थप मुद्दाहरू व्यक्ति, स्कुल डिस्ट्रिक्ट र राज्यका महान्यायाधिवक्ताहरूले दायर गरिरहेका छन्। विशेषज्ञहरूले यी पछिल्ला निर्णयहरूलाई युवा प्रयोगकर्तामाथि पर्ने असरका लागि सामाजिक सञ्जाल कम्पनीहरूलाई कानुनी रूपमा जिम्मेवार ठहर गर्ने पहिलो ठुलाे घटनाकाे रूपमा विश्लेषण गरेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८३ ६:१५