नेपालमै राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ग्यासबाट चल्ने शवदाह मसिनको सफल परीक्षण
जेठ २९, २०८३ १२:१३
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै पहिलो पटक निर्माण गरेको ग्यासबाट चल्ने शवदाह मसिनको बिहीबार काभ्रेको बनेपामा परीक्षण गरिएको छ । बनेपास्थित तीन दोबाटो घाटमा एक शवलाई यस मसिनमा राखेर अन्त्येष्टि गरिएसँगै स्वदेशमै निर्मित प्रविधिको सफल प्रयोग भएको हो ।
केन्द्रका इन्जिनियर राजु थापाको डिजाइनमा तयार पारिएको मसिनले करिब एक घण्टामा शवलाई पूर्ण रूपमा जलाएर खरानी बनाएको छ । परीक्षणका क्रममा मसिनको प्रदर्शन उत्साहजनक रहेको र वातावरणमा कुनै नकारात्मक असर नदेखिएको इन्जिनियर थापाले दाबी गरे ।
परम्परागत रूपमा दाउराबाट शव जलाउँदा तीनदेखि पाँच घण्टासम्म लाग्ने र ठुलो मात्रामा धुवाँ निस्कने समस्या थियो । तर, यो मसिनले ४५ मिनेटदेखि एक घण्टाभित्रै अन्त्येष्टि कार्य सम्पन्न गर्ने थापाले बताए ।
“यस पटकको परीक्षणमा शवमा आइस जमेका कारण करिब एक घण्टा लाग्यो, अन्यथा ४५ देखि ५० मिनेटमै काम सकिन्छ,” इन्जिनियर थापाले टेकपानासँग भने ।

मसिनमा जडान गरिएको 'फिल्टर सिस्टम'ले धुवाँ र गन्धलाई ९० प्रतिशतभन्दा बढी सोस्ने हुनाले यसलाई वातावरणमैत्री मानिएको छ । मसिनको तापक्रम ९०० देखि १२०० डिग्री सेल्सियससम्म पुग्ने र यसका लागि औसत दुईदेखि तीनवटा एलपी ग्यास सिलिन्डर खर्च हुने बताइएको छ । यसरी ग्यासबाट शव जलाउँदा करिब ६ देखि ७ हजार रुपैयाँ मात्र खर्च हुने देखिएको छ, जुन दाउराको तुलनामा निकै सस्तो हो ।
नेपालमा यसअघि प्रयोगमा रहेका शवदाह मसिनहरू विदेशबाट आयात गरिँदा करिब एक करोड रुपैयाँसम्म पर्ने गरेकोमा राष्ट्रिय आविष्कार केन्द्रले करिब २५ लाख रुपैयाँमै यो मसिन तयार पारेको उनको भनाइ छ । मसिनको फ्रेम र बडी नेपालमै बनाइएको हो भने उच्च तापक्रम धान्ने बर्नर र फायर प्रुफ इँटाहरू भारतबाट आयात गरिएका हुन् ।
हालै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका केन्द्रका संस्थापक महावीर पुनले यो मसिन नाफा कमाउने उद्देश्यले नभई सेवा र वातावरण संरक्षणका लागि बनाइएको बताएका छन् । भारतबाट आयात गर्दा ३० लाख भारु (करिब ४८ लाख रुपैयाँ) पर्ने मसिनलाई केन्द्रले २५ लाख नेपाली रुपैयाँमै उपलब्ध गराउने घोषणा गरेको छ ।

थापका अनुसार यो मसिन पूर्ण रूपमा अटोमेटिक रहेको छ । यसमा बडी लिफ्टिङ सिस्टम, अटोमेटिक ढोका र सुरक्षाका लागि अलार्म प्रणाली जडान गरिएको छ । ग्यास चुहावट भएमा वा बर्नरमा समस्या आएमा मसिन आफैँ शटडाउन हुने प्रविधि यसमा छ ।
“यो मसिन चलाउन धेरै मान्छे चाहिन्न, शव राखेर ढोका बन्द गरेपछि मसिनले आफैँ काम गर्छ र अन्त्यमा अलार्म बजाएर जानकारी दिन्छ,” थापाले थपे ।
बनेपामा गरिएको पहिलो परीक्षण सफल भएसँगै अन्य स्थानबाट पनि अर्डर आउन थालेको थापाले सुनाए । हाल धरानका लागि डिजेलबाट चल्ने मसिनको अर्डर आइसकेको र देशभरका अन्य घाटहरूमा पनि यस्तो प्रविधि विस्तार गर्ने केन्द्रको योजना छ । बिजुली नभएको ठाउँमा पनि ब्याट्री वा सिंगल फेज लाइनबाट अपरेट गर्न सकिने गरी यसलाई डिजाइन गरिएको छ ।

बनेपा नगरपालिका र विभिन्न सहयोगी दाताहरूको समन्वयमा यो मसिन बनेपाको घाटमा जडान गरिएको हो । यस प्रविधिको सफल प्रयोगले आगामी दिनमा नेपालका नदी किनारहरूमा हुने प्रदूषण कम गर्न र वन विनाश रोक्न ठुलो सहयोग पुग्ने थापाले विश्वास व्यक्त गरे ।
पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ १२:४५
