भ्युजका लागि प्रमलाई अश्लील गाली गरेँ भनेर स्वीकारेका युट्युबर पुर्पक्षका लागि थुनामा
असार २३, २०८३ १३:३०
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र उनको परिवारको मान-प्रतिष्ठामा आँच पुग्ने गरी अश्लील सामग्री प्रसारण गरेको आरोपमा मुद्दा खेपेका युट्युबर रोशन पोखरेललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका-७, दोबाटे स्थायी घर भएका २४ वर्षीय पोखरेलविरुद्ध १८ असारमा जिल्ला सरकारी वकिल कार्यालय पाँचथरले साइबर अपराधको मुद्दा दायर गरेको थियो ।
सोही दिन जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले उनलाई मुद्दाको किनारा नलागुन्जेलसम्मका लागि थुनामा पठाउन आदेश दिएको हो ।
प्रहरीको अनुसन्धान र बयानका क्रममा पोखरेलले आफ्नो कसुर स्वीकार गरेका छन् । उनले फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा धेरै भ्युज, लाइक र कमेन्ट पाउने लोभमा प्रधानमन्त्री बालेनलाई अश्लील गाली गरेको स्वीकारेका छन् ।
उनले 'Hades Junglee' र 'Hades' नामक आफ्ना च्यानलहरू सञ्चालन गर्न र चर्चामा आउन आवेशमा आएर यस्ता सामग्री पोस्ट गरेको बयान दिएका छन् ।
पोखरेल विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम मुद्दा चलाइएको छ । यस दफा अनुसार दोषी ठहरिएमा उनलाई एक लाख रुपैयाँसम्म जरिबाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । साथै, उनले प्रयोग गरेको साओमीको मोबाइल जफत गर्न र पीडितलाई उपयुक्त क्षतिपूर्ति भराउन समेत माग गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार २३, २०८३ १३:४७
