close

सवारीको ब्लुबुक हराएमा वा झुत्रिएमा के गर्ने ? यस्तो छ प्रतिलिपि लिने अनलाइन तथा अफलाइन तरिका

टेकपाना टेकपाना

साउन २, २०८३ ९:५८

सवारीको ब्लुबुक हराएमा वा झुत्रिएमा के गर्ने ? यस्तो छ प्रतिलिपि लिने अनलाइन तथा अफलाइन तरिका

काठमाडौं । सवारी चालकहरूका लागि ब्लुबुक (सवारी दर्ता किताब) एक अति नै महत्त्वपूर्ण कागजात हो । तर, कतिपय अवस्थामा असावधानीवश यो हराउन सक्छ, पानीमा भिजेर झुत्रो हुन सक्छ वा च्यातिएर काम नलाग्ने हुन सक्छ । यस्तो समस्या आइपर्दा नयाँ ब्लुबुक कसरी बनाउने र यसको कानुनी तथा प्रशासनिक प्रक्रिया के हुन्छ भन्नेबारे धेरै सवारी धनीहरू अन्योलमा पर्ने गरेका छन् ।

टेकपानाका पाठकहरू बिना रानाले आफ्नो ब्लुबुक हराएको र बिराज थापाले ब्लुबुक पानीमा भिजेर झुत्रो भएकाले अब के गर्ने भनेर जिज्ञासा राखेका छन् । टेकपानासँगको कुराकानीमा यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधाराका सूचना अधिकारी गोविन्दराज सिवाकोटीले प्रतिलिपि लिने प्रक्रियाबारे स्पष्ट पारेका छन् । उनका अनुसार ब्लुबुक हराएमा र झुत्रो वा च्यातिएमा अपनाउनुपर्ने प्रक्रियाहरू केही फरक छन् ।

ब्लुबुक हराएमा अपनाउनुपर्ने प्रक्रिया

यदि तपाईंको ब्लुबुक हराएको छ भने सबैभन्दा पहिले ट्राफिक प्रहरीबाट 'हराएको सिफारिस' (Lost Document Recommendation) लिनुपर्छ । यसका लागि अब ट्राफिक कार्यालय धाइरहनु पर्दैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनलाइनबाटै यो सिफारिस लिने व्यवस्था मिलाएको छ ।

यसका लागि प्रहरीको आधिकारिक अनलाइन पोर्टल ldims.nepalpolice.gov.np मा जानुपर्ने हुन्छ । त्यहाँ 'लस डकुमेन्ट एप्लिकेसन' (Lost Document Application) अन्तर्गत 'सब्मिट एप्लिकेसन' (Submit Application) मा क्लिक गर्नुपर्छ । यति गरेपछि फाराममा मागिएका निम्न विवरणहरू भर्नुपर्ने हुन्छः

डकुमेन्ट टाइप (Document Type): यसमा लाइसेन्स (LICENSE), ब्लुबुक (BLUE_BOOK) वा रुट परमिट (ROAD_PERMIT) मध्ये 'BLUE_BOOK' छनोट गर्ने ।

सवारी विवरण: सवारी नम्बर (Vehicle Number) र ब्लुबुक जारी भएको स्थान खुलाउने ।

व्यक्तिगत विवरण: सवारी धनीको पूरा नाम, मोबाइल नम्बर, ठेगाना (प्रदेश, जिल्ला, नगरपालिका/गाउँपालिका र वडा नम्बर) भर्ने ।

कागजात अपलोड: आफ्नो नागरिकता, सवारी चालक अनुमति पत्र (लाइसेन्स) वा पासपोर्टमध्ये कुनै एकको स्पष्ट देखिने स्क्यान कपी वा फोटो (PNG वा JPG फर्म्याटमा, बढीमा १ एमबी साइजको) अपलोड गर्नुपर्छ ।

सिफारिस कसरी प्राप्त हुन्छ ?

अनलाइन प्रणालीमा विवरणहरू सफलतापूर्वक बुझाएपछि विवरण प्रमाणीकरण भई करिब १२ देखि ७२ घण्टा वा बढीमा ७ दिनभित्र मोबाइलमा 'सिफारिस प्राप्त भयो' भन्ने मेसेज आउँछ । त्यसपछि उक्त सिफारिसलाई अनलाइनबाटै डाउनलोड गरी प्रिन्ट गर्नुपर्छ ।

यातायात कार्यालयमा गर्नुपर्ने प्रक्रिया

अनलाइनबाट प्राप्त सिफारिस पत्र प्रिन्ट गरी सेवाग्राही आफ्नो सवारी साधन दर्ता भएको सम्बन्धित यातायात व्यवस्था कार्यालयमा जानुपर्छ । यातायात कार्यालय जाँदा निम्न कागजातहरू अनिवार्य साथमा लैजानुपर्छ:

  • प्रिन्ट गरिएको ट्राफिक प्रहरीको हराएको सिफारिस पत्र

  • सवारी धनीको सक्कल नागरिकता प्रमाणपत्र

  • सवारी धनीको ३ प्रति पासपोर्ट साइजको फोटो

  • सवारीको सक्कल फाइल (यदि सवारी धनी आफैंसँग छ भने लैजाने, नत्र यो कार्यालयमै सुरक्षित हुन्छ)

सम्बन्धित यातायात कार्यालयमा गएर प्रतिलिपि फाराम (निवेदन) भरी यी कागजातहरू बुझाएपछि प्रतिलिपि जारी गर्ने प्रक्रिया अगाडि बढ्छ ।

ब्लुबुक च्यातिएमा, भिजेमा वा झुत्रो भएमा के गर्ने ?

यदि ब्लुबुक हराएको नभई च्यातिएको, पानीमा भिजेर झुत्रो भएको वा काम नलाग्ने भएको छ भने यसका लागि ट्राफिक प्रहरीको अनलाइन सिफारिस आवश्यक पर्दैन । यस्तो अवस्थामा सेवाग्राही सोझै सम्बन्धित यातायात कार्यालयमा गएर प्रतिलिपि लिन सक्छन् । तर, यसका लागि निम्न कुराहरू पूरा हुनुपर्छ:

  • झुत्रो वा च्यातिएको ब्लुबुक अनिवार्य रूपमा साथमै लिएर जानुपर्छ ।

  • सबैभन्दा महत्त्वपूर्ण कुरा, झुत्रो भएको ब्लुबुकमा रहेको सवारी नम्बर र अन्य मुख्य विवरणहरू बुझिने अवस्थामा हुनुपर्छ । विवरण बुझिने भएमा सोही आधारमा कार्यालयले प्रतिलिपि दिनेछ ।

  • यातायात कार्यालयमा गएर प्रतिलिपि फाराम (निवेदन) भर्नुपर्छ ।

  • साथमा सक्कल नागरिकता, आवश्यक फोटो र पुरानो झुत्रो ब्लुबुक संलग्न गर्नुपर्छ ।

  • कार्यालयले पुरानो झुत्रो ब्लुबुकलाई आफ्नो अभिलेख फाइलमा खिचेर (राखेर) नयाँ प्रतिलिपि ब्लुबुक जारी गरिदिन्छ ।

लाग्ने शुल्क र समय कति हो ?

नयाँ प्रतिलिपि ब्लुबुक प्राप्त गर्नका लागि प्रतिलिपि शुल्कबापत मात्र ५०० रुपैयाँ लाग्छ । तर, यसका लागि सवारी साधनको हालसम्म तिर्नुपर्ने सरकारी कर चुक्ता भइसकेको हुनुपर्छ । यदि कर तिर्न बाँकी छ भने नियमानुसारको कर बुझाएर मात्र प्रतिलिपि लिन सकिन्छ ।

जहाँसम्म प्रतिलिपि तयार हुन लाग्ने समयको कुरा छ, यातायात कार्यालयमा कागजात पेस गरी प्रक्रिया सुरु गरेपछि कहिलेकाहीँ भिडभाड बढी भएमा बाहेक सामान्यतया बढीमा डेढदेखि दुई घण्टाभित्रै प्रतिलिपि ब्लुबुक तयार हुन्छ ।

सम्बन्धित कार्यालयबाटै प्रतिलिपि लिनुपर्ने नियम

प्रतिलिपि ब्लुबुक लिँदा सबैभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने, सवारी साधन जुन यातायात व्यवस्था कार्यालयमा दर्ता भएको हो, सोही कार्यालयबाट मात्रै प्रतिलिपि जारी हुन्छ । उदाहरणका लागि, वाग्मती प्रदेशकै कुरा गर्दा पनि यदि सवारी साधन बनेपामा दर्ता भएको हो भने बनेपा कार्यालयबाटै प्रतिलिपि लिनुपर्छ ।

गुर्जुधारा कार्यालयमा दर्ता भएका सवारीको हकमा मात्र गुर्जुधाराबाट प्रतिलिपि प्राप्त हुन्छ । त्यसैले आफ्नो ब्लुबुक कुन कार्यालयमा दर्ता छ, सोही स्थानमा पुगेर यो सेवा लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: साउन २, २०८३ ९:५८