काठमाडौं । यदि तपाईँ एउटा उत्कृष्ट एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ भने आफ्नो फोन अपडेट गरिहाल्नुहोस् । किनभने गुगलले हालै एन्ड्रोइड फोनका तीन सुरक्षा कमजोरीहरू समाधान गरेको छ । यी तीनओटै सूरक्षा कमजोरी रिमोट ह्याकिङ सम्बन्धित छ ।
अर्थात्, ह्याकरले जुनसुकै स्थानमा बसेर तपाईँको फोनमा पहुँच सहजै बनाउन सकिने तीन कमजोरीहरूलाई नयाँ अपडेटसँगै समाधान गरेको, कम्पनीले आफ्नो एन्ड्रोइड सुरक्षा बुलेटिनमा उल्लेख गरेको छ ।
यी सुरक्षा कमजोरीहरू एन्ड्रोइड ११, एन्ड्रोइड १२, एन्ड्रोइड १२ एल र एन्ड्रोइड १३ ओसमा फेला पारिएको हो । कम्पनीका अनुसार सामसङ, वानप्लस, मोटोरोला लगायत अन्य एन्ड्रोइड फोनहरूमा यो समस्या देखिएको छ ।
कम्पनीले प्रयोगकर्ताहरूलाई ओएसको नयाँ अपडेट इन्स्टल गर्न पनि आग्रह गरेको छ ।
फेला परेका सुरक्षा कमजोरीहरू
पत्ता लागेको सुरक्षा कमजोरीहरूमध्ये पहिलो CVE-2023-21085 रहेको छ । यसमा ह्याकरले एन्ड्रोइड सिस्टममा टाढै बसेर नै कुनै पनि कोड प्रयोग गरेर डिभाइसमा पहुँच बनाउन सक्छ । यसबाट फिसिङ आक्रमणहरू हुनसक्ने कम्पनीले जनाएको छ ।
त्यस्तैगरी दोस्रो ट्रयाक गरिएको कोडमा CVE-2023-21096 रहेको छ । यो पनि पहिलो जस्तै सुरक्षा कमजोरी भएको ब्लगमा उल्लेख छ ।
तेस्रो भने CVE-2022-381381 रहेको छ जुन आर्म मलि जीपीयु कर्नल ड्राइभरमका भेटिएको हो । यो युज-आफ्टर-फ्रि सुरक्षा कमजोरी अन्तर्गत पर्दछ । यसले ह्याकरलाई प्रयोगकर्ताको डिभाइसमा एप इन्स्टल गर्ने अनुमति दिन्छ जसले प्रयोगकर्ताको डिभाइसको प्रणालीमाथि पहुँच पुर्याउन मद्दत गर्दछ ।