काठमाडौं । सरकारले रेडियो नेपालको खुमलटारस्थित करिब ४२ रोपनी जग्गा दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई उक्त जग्गा भोगचलनका लागि अनुमति दिने निर्णय गरेको हो ।
रेडियो नेपालको खुमलटारस्थित जग्गा प्राधिकरणले खरिद गर्ने विषय लामो समयदेखि अड्किएर बसेको थियो । तर, अब भने यसको बाटो खुला भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद्ले पुरानै मूल्यमा रेडियो नेपालको जग्गा खरिदका लागि प्राधिकरणलाई अनुमति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेकपानालाई जानकारी दिइन् ।
सोही समयमा भएको निर्णय बमोजिम अर्थात् ४० लाख आनाका दरले प्राधिकरणलाई जग्गा उपलब्ध गराउने निर्णय भएको मन्त्री शर्माले बताइन् । प्राधिकरणको हालसम्म आफ्नो भवन छैन । स्याटलाइटदेखि ठूला ठूला परियोजना अघि बढ्ने क्रममा छन् ।
यस्तो अवस्थामा प्राधिकरणले लामो समयदेखि आफ्नै भवन निर्माणका लागि जग्गा खरिद गर्ने योजना ल्याउँदै आएको छ ।