close

यसरी अनलाइनबाटै लिनुहोस् आफ्नो सिर्जनाको प्रतिलिपि अधिकार

टेकपाना टेकपाना

चैत १४, २०८० १९:३०

यसरी अनलाइनबाटै लिनुहोस् आफ्नो सिर्जनाको प्रतिलिपि अधिकार

काठमाडौं । तपाईं सर्जक अथवा बौद्धिक क्षेत्रको व्यक्ति हुनुहुन्छ भने प्रतिलिपि अधिकारबारे जानकार हुनु आवश्यक छ । साहित्य, सङ्गीत, कला, वास्तुकला, ज्ञान-विज्ञान र सूचना प्रविधि जस्ता क्षेत्रमा मानव मस्तिष्कले सिर्जना गरेका रचनाहरूको संरक्षण गर्दै सर्जकका आर्थिक र नैतिक अधिकारको प्रत्याभूति गराउन प्रतिलिपि अधिकारको विशेष महत्त्व रहन्छ ।

यसका लागि नेपालमा प्रतिलिपि अधिकार ऐन २०५९ को व्यवस्था गरिएको छ । सोही ऐन अन्तर्गत स्थापना भएको नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले यस सम्बन्धी विभिन्न काम गर्दै आएको छ । त्यसै अन्तर्गत कार्यालयले गत भदौदेखि रचनाको प्रतिलिपि अधिकार दर्ता गर्न सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । त्यसअघि रचना दर्ता गर्न कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । 

त्यस्तै रजिस्ट्रारको कार्यालय संघीय सरकार अन्तर्गत मात्र भएकाले सष्ट्राहरूलाई रचना दर्ता गर्न निकै अप्ठ्यारो थियो । यही कुराको समाधान गरेर रचना दर्ता गर्न, प्रतिलिपि अधिकार उलङ्घन भए उजुरी गर्न लगायतका कामलाई सरल र सहज बनाउन अनलाइन प्रणाली विकास गरेको सूचना अधिकृत सुरेश चन्द्र अधिकारीले बताए ।

उनका अनुसार अनलाइनबाट कागजपत्र पेश गरिसकेपछि ३५ दिन भित्रमा अधिकार धनी व्यक्ति वा संस्थालाई प्रमाणपत्र प्रदान दिइन्छ ।

आज हामी आफ्नो कुनै पनि प्रकारको बौद्धिक सम्पत्ति अनलाइनमार्फत कसरी दर्ता गर्ने, त्यसबारे जानकारी दिने छौं: 

-सबैभन्दा सुरुमा यहाँ क्लिक गरी रजिष्ट्रारको वेबसाइटमा जानुहोस् । 

-यदि पहिल्यै यस वेबसाइटमा अकाउन्ट बनाउनु भएको छ भने इमेल र पासवर्ड राखी लगइन गर्नुहोस् । यदि अकाउन्ट बनाउनु भएको छैन भने तल दिइएको 'रजिष्टार'मा क्लिक गरी नयाँ अकाउन्ट क्रियट गर्नुहोस् ।

 

-यस प्रणालीमा तपाईंले व्यक्तिगत वा संस्थागत रुपमा अकाउन्ट बनाउन सक्नुहुनेछ । रजिस्टरमा क्लिक गरेपछि आउने नयाँ पेजबाट यी कुरा चयन गर्न सकिन्छ ।

यदि तपाईं व्यक्तिगत रुपमा रचना दर्ता गर्न चाहनुहुन्छ भने 'व्यक्तिगत' र संस्थागत रुपमा हो भने 'एजेन्सी' मा क्लिक गरी सोही अनुसारको फाराम भर्नुपर्छ ।

 

-यति गरिसकेपछि तपाईंको अकाउन्ट तयार हुन्छ । तर तपाईंले पुन: लगइन गर्नुपर्ने हुन्छ । 

-वेबसाइटमा लगइन गरिसकेपछि आउने ड्यालबोर्डको माथिल्लो भागमा प्रोफाइल पूरा गर्ने मेसेज देखिन्छ । यस प्रणालीमा प्रोफाइल पूरा गरिसकेपछि मात्र रचना दर्ताको काम गर्न सकिन्छ । यसका लागि ‘कम्प्लिट नाउ’मा क्लिक गर्नुहोस् । 

-अब आउने नयाँ पेजमा प्रोफाइल पूरा गर्न नयाँ फाराम खुल्ने छ । सोमा सबै विवरण भरेर तल रहेको 'सेभ' मा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईंको प्रोफाइल पूरा हुने छ । अब तपाईंले उक्त प्रोफाइलबाट आफ्नो जति पनि रचना दर्ता गर्न सक्नुहुने छ ।

 

-अब आउने नयाँ पेजको बायाँ भागमा मेनु र दायाँ भागमा ड्यासबोर्ड देखिने छ । यदि रचना दर्ता गरे त्यसको विवरण ड्यासबोर्डमा देखिन्छ र नगरेको खण्डमा ड्यासबोर्ड खाली देखाउने छ । 

 

 

-रचना गर्न मेनुमा भएको 'फाराम'मा क्लिक गर्नुपर्छ । त्यसमा क्लिक गरे फाराम देखा पर्नेछ । सो फाराम पाँच पेजमा विभाजित छ । अघिल्लो पेजमा पूरा विवरण नभरेसम्म अर्को पेजमा पुग्न सकिँदैन ।  

पहिलो पेज 

 

यसमा तपाईंले दर्ता गर्न लागेको रचनाको विधा/श्रेणी, शीर्षक, पृष्ठ संख्या, रचना मिति आदि राख्नुपर्छ ।  

दोस्रो पेज 

यसमा रचना आफ्नै हो भनेर पुष्टि गर्न कुनै प्रमाण वा प्रमाणपत्र, रचनालाई समर्थन गर्ने अन्य कुनै कागजात/फाइल आदि भर्नुपर्छ । यदि यी छैनन् भने तिनलाई बेवास्ता गरी अर्को पेजमा जानुहाेस् ।

 

तेस्रो पेज 

यसमा तपाईंले उक्त रचनाका अन्य लेखक र तपाईं बराबरको स्वामित्व राख्ने व्यक्तिको जानकारी राख्नुपर्छ । यदि यी छैनन् भने तिनलाई बेवास्ता गरी अर्को पेजमा जानुहाेस् । 

चौंथाे पेज 

यसमा तपाईंले राजस्व तरक तिरेको भुक्तानी भौचरको फोटो अपलोड गर्नुपर्ने हुन्छ । राजस्व रकमबापत ११० रुपैयाँ (हुलाक टिकट बापतको १० रुपैयाँ र रचना दर्ता दस्तुर बापतको १०० रुपैयाँ) लाग्ने गर्छ ।

यो रकम तपाईंले कनेक्ट आईपीएस वा वाणिज्य बैंकमार्फत (राजस्व शीर्षक १४२२९ र कार्यालय कोड ३२५०४३५०१) सरकारी खातामा जम्मा गर्न सक्नुहुने छ । 

अन्तिम पेज 

यसमा तपाईंले हालसम्म भरेका सबै विवरणको सारांक्ष देखिन्छ । कुनै विवरण गल्ती भए तपाईं पुन: त्यहाँ गएर सच्याउन सक्नुहुन्छ । यदि सबै विवरण मिलेको खण्डमा 'सब्मिट' मा क्लिक गरी अघि बढ्नुहाेस् । अथवा 'सेभ' मा क्लिक गरी ड्राफ्ट गर्न सक्नुहुने छ ।

-यदि उक्त फाराम सब्मिट गर्नु भए ड्यासबोर्डमा यसको स्थिति 'न्यू एप्लिकेसन' भनेर देखिने गर्छ । यदि रजिस्ट्रारका कर्मचारीले विवरण जाँच गर्न थाले उक्त आवेदनको स्थितिमा 'अन प्रोग्रेस' भनेर देखिन्छ । 

 

 

यदि स्विकार भएको खण्डमा 'अप्रुभ्ड', अस्वीकार भएको खण्डमा 'रिजेक्टेड' र कागजात अथवा विवरण नमिलेको/नपुगेको खण्डमा 'इनसफिसियन्ट डकुमेन्ट' भनेर देखाउँछ । 

'इनसफिसियन्ट डकुमेन्ट' देखाए 'रि-अप्लाई' मा क्लिक गरी पुन: आवेदन दिनुपर्ने हुन्छ । साथै कर्मचारीले त्यहाँ टिप्पणी पनि लेखेका हुन्छन् । जसले गर्दा तपाईंको आवेदन कुन कारणले फिर्ता आयो थाहा पाउन सक्नुहुन्छ । 

अब तपाईंले आफ्नो रचना वा रचनाको केही अंश अन्य रचनाकारले सारेको, चोरेको वा प्रयोग गरे मेनुमा भएको 'उजुरी’मा क्लिक गरी समेत कारबाही अघि बढाउन सक्नुहुन्छ । अझै यस प्रक्रिया बुझ्न यहाँ क्लिक गरी पढ्न सक्नुहुने छ ।  

(नोट: माथिका सबै स्क्रिनशट नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको प्रतिलिपि अधिकार दर्ता व्यवस्थापन सूचना प्रणाली प्रयोगकर्ता पुस्तिकाबाट लिइएको हाे ।)
 

सम्बन्धित समाचार

तपाईंले सामाजिक सञ्जालमा पोस्ट गर्ने सामग्रीमा कसको लाग्छ हक ?

च्याटजीपीटीले लेखेका कन्टेन्टमा के साँच्चिकै कपिराइट नियम लाग्दैन ? 

एआईले तयार पार्ने आर्टमा कपिराइट नलाग्ने !

पछिल्लो अध्यावधिक: चैत १४, २०८० १९:३०