close

एप्पलले ल्यायो ओपन सोर्स एआई मोडेल, इन्टरनेट बिनै काम गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १५, २०८१ १७:५२

एप्पलले ल्यायो ओपन सोर्स एआई मोडेल, इन्टरनेट बिनै काम गर्न सकिने

 

काठमाडौं । एआईको दौडमा अलि पछि रहेको एप्पलले अन्ततः नयाँ जेनेरेटिभ एआई मोडेल सार्वजनिक गरेको छ । एप्पलको मसिन लर्निङ रिसर्चले 'ओपन सोर्स इफिसियन्ट ल्याङ्ग्वेज मोडेल्स (ओपनईएलएम) नामक एलएलएम सार्वजनिक गरेको हो ।

यसले अन्य एलएलएम जस्तो क्लाउड सर्भरमा आधारित नभएर डिभाइसबाटै काम गर्न सक्नेछ । अर्थात् एआई  सम्बन्धी काम गर्न डिभाइसमा भएकै चिपसेट प्रयोग गर्ने गरिन्छ ।

अहिलेका अधिकांश एआई मोडेल क्लाउडमा निर्भर छन् । जस्तै; एआई टुलबाट कुनै पनि काम गर्न तपाईंले दिने निर्देशन क्लाउड सर्भरमा जाने गर्छ । । त्यस्तै नतिजा पनि उसैगरी आउने छ । अब एप्पलको यस एआई मोडेलले भने ‘अन-डिभाइस’ काम गर्ने भएको हो । 

अहिले एप्पलले यो ल्याङ्ग्वेज मोडेल हगिङ फेस हबमा उपलब्ध गराएको छ । यो एक प्रकारको एआई कोड शेयर गर्न मिल्ने प्लेटफर्म हो । 

एप्पलले एआई मोडेललाई ओपन सोर्सका रुपमा उपलब्ध गराएकाले डेभलपरहरूले यसलाई प्रयोग गर्न सक्छन् । यस मोडेल ईमेल लेख्ने तथा लेखन सम्बन्धी कामका अब्बल भएको एप्पलको भनाइ छ ।

एप्पलको श्वेतपत्र अनुसार यसमा आठ मोडेल छन् । तीमध्ये चारलाई कोरनेट (CoreNet) लाइब्रेरीमा तालिम गराइएको छ भने बाँकी चारलाई विशेष कामका लागि डिजाइन गरिएको छ ।  

यस मोडेलले अन डिभाइस काम गर्ने भएपछि आईफोन तथा म्याकमा प्रयोग हुनसक्ने सम्भावना छ । अर्थात् एप्पलले आफ्नो एआई मोडेल कस्तो हुन्छ भनेर यसमार्फत छनक दिएको छ । 

आगामी जुनमा हुने डेभलपर कन्फ्रेस नजिकिँदा एप्पलले आफ्नो एआई मोडेल सार्वजनिक गर्नुलाई निकै महत्त्वका साथ हेरिएको छ । किनकी यसअघि आईफोनको नयाँ संस्करणमा एआई टुल चलाउन इन्टरनेट नचाहिने सूचना बाहिरिएको थियो ।

उक्त सूचनालाई एप्पलको यस कदमले केही हदसम्म सत्य साबित गरेको छ । यद्यपि कस्ता फिचर भएका एआई टुल एप्पलले ल्याउँछ भन्ने जानकारी अझै आधिकारिक रूपमा आएको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८१ १७:५२