close

गर्मी मौसममा तपाईँको फोन तात्तिने तथा ढिलो चार्ज हुने गर्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख १५, २०८१ १५:१९

गर्मी मौसममा तपाईँको फोन तात्तिने तथा ढिलो चार्ज हुने गर्छ ? यसो गर्नुहोस्

काठमाडौं । गर्मी मौसममा कतिपय स्मार्टफोन प्रयोगकर्ताले चार्ज राम्ररी नभएको, चार्जिङ स्पिड कम भएको जस्ता गुनासो गर्छन् । गर्मीमा यस्ता समस्या किन आउँछन्, अनि कसरी समाधान गर्ने भन्ने विषयमा यस सामग्रीमा चर्चा गर्दै छौं: 

गर्मी समयमा स्मार्टफोनमा देखिने साझा समस्या 

मानव जाति जस्तै स्मार्टफोनले पनि राम्रो वातावरणमा राम्रैसँग काम गर्छन् । चर्को गर्मीमा कोठाभित्र पनि बाहिरजस्तै तापक्रम हुन्छ । यसको अर्थ कोठाभित्र बसेर सामान्य ब्राउजिङकाे काम गर्दा पनि फोन चाँडै तात्छ । 

अहिलेका अधिकांश स्मार्टफोनमा ‘ब्राइटर डिस्प्ले’ हुने गर्छ । त्यस्ता फोन कोठाबाहिर चलाउँदा तुलनात्मक रुपमा चाँडो तातिन्छन् । फेरि अर्कोतर्फ ती फोन चिसिएर सामान्य अवस्थामा फर्कन पनि करिब उस्तै समय लाग्छ । 

त्यसैले यदि तपाईं सूर्यको प्रकाश पर्ने ठाउँमा सिधा बसेर चर्को गर्मीमा फोन चलाइरहनु भएको छ भने फोन चाँडै तात्छ । यसको असर फोनको पर्फर्मेन्समा सोझै पर्छ । गर्मी मौसममा देखिने यो साझा समस्या हो । 

गर्मीमा चार्जिङको समस्या

गर्मी मौसममा स्मार्टफोनले 'डिफेन्स मेकानिज्म' का कारण चार्ज लिन छाड्न सक्छ । फोन निकै तातिएको अवस्थामा क्षति हुनबाट बचाउन यस्तो हुने गर्छ । अहिलेका थुप्रै फोनले फास्ट चार्जिङ सपोर्ट गर्छन् । यसले फोन चाँडो चार्ज गरेपनि फोन छिट्टै तातिन्छ । 

जब फोनमा भएको सेन्सरले तापक्रम अनपेक्षित रुपमा बढिरहेको चाल पाउँछ, त्यस्तोमा धेरैजसो फोनले चार्जिङ स्पिड घटाउने अथवा चार्ज नै हुनबाट रोक्ने गर्छ । यो अवस्था फोन सामान्य तापक्रममा नफर्केसम्म हुन सक्छ । 

यदि तपाईंको फोन अधिक तातिएको छ भने तपाईंले आफ्नो केस अर्थात् कभर झिक्न सक्नुहुन्छ । यसो गर्दा हावाका कारण फोन चाँडो चिसिन्छ ।

त्यस्तै यदि तपाईंले वायरलेस चार्जिङ गरिरहनु भएको छ भने त्यसलाई बन्द गर्न सक्नुहुन्छ । किनकी वायर्ड चार्जरको तुलानामा वायरलेस चार्जरले धेरै ताप पैदा गर्ने गर्छ । 

थर्ड पार्टी चार्जर प्रयोग गर्दा पनि फोन तात्छ । यसले फोन तताउने मात्र नभएर चार्जर बिगार्ने र कतिपय अवस्थामा आगो पनि लगाउन सक्छ । यसकारण सधैं ओरिजिनल चार्जर नै प्रयोग गर्न सल्लाह दिइने गरिन्छ । 

त्यस्तै तपाईंले चार्जिङका क्रममा फोन चलाउनुहुन्न । त्यसो गर्दा फोन चार्ज अझ छिटो तातिन्छ । यद्यपि फोन चार्ज नहुनुको कारण ताप मात्र होइन । यदि तपाईंको फोन केही वर्ष पुरानो छ भने पनि यस्तो समस्या देखिने गर्छ । किनकी त्यस्ता फोनमा क्षमता ह्रास भएका ब्याट्री हुने गर्छन् ।   

फोन तातिने समस्याबाट कसरी जाेगिने ?

फोन तात्नु सामान्य नै हो । तर धेरै तात्नु भने वास्तविक समस्या हो । यसबाट बँच्ने केही तरिकाहरू माथि उल्लेख गरिसकिएको छ । यहाँ ती सहित अन्य तरिका बुँदा रुपमा दिइएको छ: 

-सधैं ओरिजिनल चार्जर प्रयोग गर्नुहोस् । 

-यदि तपाईंको स्मार्टफोन निकै तातिएको छ भने केही समय विश्राम दिनुहोस् । 

-समस्या भएका/पुराना ब्याट्री भएका फोन सकेसम्म प्रयोग नगर्नुहोस् ।

-ओभर चार्ज नगर्नुहोस् ।

-चार्जिङ क्रममा फोन नचलाउनुहोस् ।

-भौतिक क्षति भएको डिभाइस प्रयोग नगर्नुहोस् । 

-निकै तातिए फोनको केस हटाउनुहोस् । 

- वायरलेस चार्जरको सट्टा वायर्ड चार्जर प्रयोग गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८१ १५:३८