close

इन्टरनेट स्पिडमा विश्व रेकर्ड, एक सेकेन्डमै ९ हजार बढी एचडी फिल्म डाउनलोड गर्न सकिने !

टेकपाना टेकपाना

चैत १५, २०८० १९:१९

इन्टरनेट स्पिडमा विश्व रेकर्ड, एक सेकेन्डमै ९ हजार बढी एचडी फिल्म डाउनलोड गर्न सकिने !

काठमाडौं । इन्टरनेटको क्षेत्रमा नयाँ रेकर्ड कायम भएको छ । बेलायतको अस्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताले हालै प्रतिसेकेन्ड ३०१ टेराबाइट स्पिड हुने प्रविधि विकास गरेर नयाँ रेकर्ड कायम गरेका छन् । 

यो स्पिड भनेको औसत ब्रोडब्यान्डभन्दा ४५ लाख गुणा फास्ट स्पिड हो । याे स्पिडमा प्रतिसेकेन्ड झन्डै नौ हजार एचडी फिल्म डाउनलोड गर्न सकिन्छ । 

बेलायती सञ्चारमाध्यम इन्डिपेन्डेन्टका अनुसार यो स्पिडमा एक मिनेटमै आईएमडीबीमा लिस्ट भएका सबै फिल्म डाउनलोड गर्न सकिन्छ । अहिले बेलायतमा औसत ६९.४ मेगाबिट्स प्रति सेकेन्डको स्पिड छ । 

इन्टरनेटको क्षेत्रमा कीर्तिमानी रेकर्ड पाउन अनुसन्धानकर्ताले नयाँ अप्टिकल प्रोसेसिङ डिभाइस विकास गरी प्रयोग गरेका छन् । जसको सहायताले यसअघि फाइबर अप्टिक सिस्टममा प्रयोग नभएको नयाँ वेभलेन्थ ब्यान्ड प्रयोग गरिएको इन्डिपेन्डेन्टमा उल्लेख छ । 

अनुसन्धानकर्ता डा. आएन फिलिप्सका अनुसार उनीहरूले यो स्पिड पाउन अहिले बजारमा उपलब्ध भएको 'सी' र 'एल' ब्यान्ड प्रयोग नगरी 'ई' ब्यान्ड र 'एस' ब्यान्ड प्रयोग गरेका थिए । 

उपभोक्तामाझ तीव्र गतिको इन्टरनेटको माग दिनानुदिन बढ्दै गइरहेको छ । यस्तो अवस्थामा यो नयाँ प्रविधिले उनीहरूको आवश्यकता मेट्ने अनुसन्धानकर्ताको विश्वास छ । यसरी तीव्र गतिको इन्टरनेट स्पिड पाउन नयाँ फाइबर र केबल बिछ्याउन नपर्ने भएपछि यसले पर्यावरणमा सहयोग पुर्‍याउने अनुसन्धानकर्ताको भनाइ छ ।

पछिल्लो अध्यावधिक: चैत १५, २०८० १९:२२