काठमाडौं । नेपाली टिम होरा ई-स्पोर्ट्स ‘पब्जी मोबाइल ग्लोबल ओपन’को प्रिलिम्स (प्रारम्भिक) चरणबाटै बाहिरिएको छ । ब्राजिलमा जारी प्रतियोगिताको प्रारम्भिक चरणको खेलमा अङ्क तालिकाको शीर्ष आठमा पर्न नसकेपछि नेपाली टिम प्रतियोगिताबाट बाहिरिएको हो ।
होरा ई-स्पोर्ट्स ५६ पोइन्ट ल्याएर अङ्क तालिकाको १४औँ स्थानमा रह्याे । प्रारम्भिक चरणको पहिलो खेलमा १५ पोइन्ट ल्याएर उत्कृष्ट सुरुवात गरेपनि बाँकी ११ खेलमा सोचे अनुरूप प्रदर्शन गर्न सकेन ।
प्रतियोगिताबाट बाहिरिए पनि होरा ई स्पोर्ट्सले छनोट र प्रारम्भिक चरणमा सहभागी टिम स्वरुप सात हजार डलर (करिब नौ लाख ३४ हजार रुपैयाँ) भने हात पारेको छ ।
प्रिलिम्स चरणको अङ्क तालिकामा मङ्गोलियनकाे ‘टिम फाल्कोन’ पहिलो स्थानमा रह्याे । उसले दुई चिकेन डिनरसहित १३३ पोइन्ट ल्यायाे । त्यस्तै दोस्रो स्थानमा टर्कीको ‘रेग्नम कार्य ब्रा’ र तेस्रो स्थानमा ब्राजिलको टिम ‘स्मोक गेमिङ’ रहेको छ ।
मेन इभेन्टको खेल अप्रिल ५ देखि ७ सम्म ब्राजिलमा हुनेछ । जसको पुरस्कार राशि तीन लाख ५६ हजार अमेरिकी डलर (करिब चार करोड ७२ लाख रुपैयाँ ) राखिएको छ ।
मेन इभेन्टमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले एक लाख अमेरिकी डलर ( करिब एक करोड ३३ हजार रुपैँया ) हात पार्नेछ ।