close

पक्राउ गरिएका ईकमर्स व्यवसायी छुटे, निषेधाज्ञा अवधिभर होम डेलिभरी गर्न नपाउने

टेकपाना टेकपाना

भदौ १२, २०७७ ८:४

पक्राउ गरिएका ईकमर्स व्यवसायी छुटे, निषेधाज्ञा अवधिभर होम डेलिभरी गर्न नपाउने

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ भएका ईकमर्स व्यवसायी र डेलिभरीकर्तालाई निषेधाज्ञा अवधिभर अनलाइन डेभिलरी गर्न नपाउने कागज गराइ छोडिएको छ ।

खाना, तरकारी, बेकरी आइटम तथा दैनिक आवश्यकता वस्तुहरु ग्राहकमाझ पुर्‍याइरहेका यी व्यवसयीले अब निषेधाज्ञा अवधिभर सेवा सञ्चालन गर्न पाउने छैनन् ।

उपत्यकाका विभिन्न स्थानबाट बिहीबार दिनभरी ८० जना पक्राउ परेका थिए । उनीहरूलाई आफ्नो सेवा बन्द राख्ने कागज गराएर छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।

निषेधाज्ञा उल्लंघन भएकाे भन्दै प्रहरीले काठमाडाैंका अनलाइन डेलिभरीकर्तामाथि धरपकड गरेकाे हाे । याे घटनापछि सर्वत्र विराेध भइरहेकाे छ ।

यता खाद्यवस्तु अत्यावश्यक वस्तुअन्तर्गत पर्ने हुँदा त्यसका लागि निषेधाज्ञाले असर नपार्ने खाद्य विभागले महानिर्देश नेत्रप्रसाद सुवेदी बताउँछन् । उनले कुनै समस्या आए विभागले सहजीकरण गरिदिने आश्वासन समेत दिए ।

ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले पनि अत्यावश्यक खाद्य वस्तुलाई ट्राफिक प्रहरीले पक्राउ गर्न नहुने बताउँछन् । 

तर बिनासूचना आफूहरुलाई प्रहरीले धरपकड गरेको भन्दै ईकमर्स व्यवसायीले विरोध गरिरहेका छन् ।

आफ्नो जीवन जोखिममा राखेर सर्वसाधारणको सेवामा जुटेका ईकमर्स उद्यमीहरुलाई कुनै पूर्व सूचना समेत नदिएर पक्राउ गर्नु प्रहरीको लज्जास्पद हर्कत भएको सस्तो डिलका संस्थापक तथा सीईओ अमुन थापाको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०