close

संकटमा अत्यावश्यक सामान आपूर्ति गर्ने ईकमर्समाथि उल्टै प्रहरी कारबाही

युजु खालिङ युजु खालिङ

भदौ ११, २०७७ १९:२२

संकटमा अत्यावश्यक सामान आपूर्ति गर्ने ईकमर्समाथि उल्टै प्रहरी कारबाही

काठमाडौं । कोभिड १९ का कारण उपत्यकामा जारी निषेधाज्ञाबीच ट्राफिक प्रहरीले अत्यावश्यक खाद्य वस्तुको आपूर्तिमा अवरोध गरेको छ । बिहान ९:१५ देखि अनावश्यक यात्रा नगर्न भन्दै ट्राफिक प्रहरीले खाना डेलिभरी गर्न प्रयोग भएका स्टार्टअप कम्पनीका सवारी साधनहरुलाई रोकेको हो ।

खाना डेलिभरी गरिरहेका बाइक तथा भ्यानहरुलाई ट्राफिक प्रहरीले रोकेपछि खाना, तरकारी, बेकरी आइटम तथा दैनिक आवश्यकता वस्तुहरु ग्राहकमाझ पुर्‍याउन अप्ठ्यारो परेको फुडमाण्डुका सीईओ रोहित तिवारीले गुनासो गरे । 

यसैबीच यूजी बजार ईकमर्स कम्पनीकी सीईओ निकिता आचार्यलाई निषेधाज्ञाको समयमा डेलिभरी सेवा सञ्चालन गरेको भन्दै तीनकुने प्रहरीवृत्तले गिरफ्तार गरेको कम्पनीका सहसंस्थापक किरण तिमिल्सिनाले जानकारी दिए । डेलिभरीमा खटिएका दुई कर्मचारीलाई बानेश्वरमा रोकेर कम्पनीको ठेगाना सोधखोज गर्दै सीईओ आचार्यलाई कार्यालयबाट नै प्रहरीले पक्राउ गरेर लगेको उनको भनाई छ । 

No description available.
ईकमर्स कम्पनीका सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरी लैजादै प्रहरी

सर्जिकल मास्क, अर्गानिक उत्पादन तथा ग्रोसरी सामग्री डेलिभरी दिने सस्तो मेला ईकमर्स कम्पनीकी सञ्चालक समिता ओझालाई समेत प्रहरीले पक्राउ गरेको छ । टेकपानासँग कुराकानी गर्दै ओझाले प्रहरी कर्मचारी मास्क समेत नलगाएर आफ्नो कार्यालयमा पसेको र डेलिभरी सेवामा जुटिरहेको अवस्थामा आफू र आफ्ना कर्मचारीलाई पक्राउ गरिएको भन्दै गुनासो पोखिन् । 

‘अत्यावश्यक सेवाको डेलिभरीको अनुमति रहेको जवाफ दिँदा दुई घण्टा अघि मात्र नियम परिवर्तन गरिएको भनेर पक्राउ गरे,’ उनले भनिन्, ‘हामीलाई दुई मिनेट बोल्ने मौका समेत नदिएर उनीहरुले प्रहरी चौकी ल्याएका छन् । यस्तोमा प्रहरी भ्यान चालकले समेत मास्क लगाएका थिएनन् ।’

समितालाई पनि तीन घण्टादेखि तीनकुने प्रहरी बिटमै राखिएको छ । उनी भन्छिन्, ‘हाम्रा डेलिभरीमा हिँडेका स्टाफलाई पनि तीन घण्टादेखि बीच बाटोमै रोकेर राखिएको छ ।’

तर खाद्यवस्तु अत्यावश्यक वस्तुअन्तर्गत पर्ने हुँदा त्यसका लागि निषेधाज्ञाले असर नपार्ने खाद्य विभागका महानिर्देश नेत्रप्रसाद सुवेदी बताउँछन् । शौखको सामान बाहेक तयारी तथा अन्य खाद्य वस्तु आपूर्ति गराउँदा सहजीकरण गरिदिन आवश्यक परे विभाग तयार रहेको समेत उनले बताए । 

त्यस्तै ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले पनि अत्यावश्यक खाद्य वस्तुलाई ट्राफिक प्रहरीले पक्राउ गर्न नहुने बताएका छन् । तर बजारमा डेलिभरी सेवा उपलब्ध गराइरहेका सबै जसो ईकमर्सले प्रहरीले सबैतिर अवरोध खडा गरेको गुनासो गरिरहेका छन् ।

आफ्नो जीवन जोखिममा राखेर सर्वसाधारणको सेवामा जुटेका ईकमर्स उद्यमीहरुलाई कुनै पूर्व सूचना समेत नदिएर पक्राउ गर्नु प्रहरीको लज्जास्पद हर्कत भएको सस्तो डिलका संस्थापक तथा सीईओ अमुन थापाको भनाई छ ।

उनी भन्छन्, ‘सीडीओ कार्यालय र प्रहरीबीच समन्वय हुन नसक्नुको सजाय कुनै पनि हालतमा उद्यमीहरुलाई दिन मिल्दैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०