close

होम डेलिभरी सेवाका लागि तत्कालै मापदण्ड बनाउन सरकारी समिति गठन

टेकपाना टेकपाना

भदौ १४, २०७७ १५:२८

होम डेलिभरी सेवाका लागि तत्कालै मापदण्ड बनाउन सरकारी समिति गठन

काठमाडौं । कोभिड १९ को विषम् परिस्थितिमा होम डेलिभरीलाई व्यवस्थित गर्न डेलिभरी सेवा दिँदा अपनाउनुपर्ने मापदण्ड तत्कालै तयार गर्न सरकारी समिति गठन हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकले समिति गठनको निर्देशन दिएको हो । 

गत बिहिवार प्रहरी प्रशासनले सामान डेलिभरीमा समस्या उत्पन्न गरेपछि नेपाल ईकमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो। 

बैठकले डेलिभरी प्रणालीमार्फत सेवा दिँदा अपनाउनुपर्ने मापदण्ड तत्कालै तयार पारी पेश गर्न निर्देशन दिएको छ । बैठकले काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारको संयोजकत्वमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरीको एक/एक जना अधिकृत प्रतिनिधिसहितको समिति गठन गर्ने निर्णय गरेको हो ।

सो समितिले ईकमर्स कम्पनीको तर्फबाट राय सुझाव लिएर निर्णय गर्ने समितिका संयोजक एवं सहायक प्रजिअ जनकराज भट्टले बताए। बैठकमा ईकमर्स कम्पनीको मागलाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सम्पन्न बैठकमा ईकमर्स कम्पनी, वाणिज्य, स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिति थियो।

नेपाल ईकमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमका संयोजक सागरदेव भट्टले होम डेलिभरीलाई बिहान ५ बजे देखि बेलुकी ९ बजेसम्म निर्वाध सञ्चालन गर्न दिनुपर्ने र सो काममा सरिक कर्मचारीलाई घर र कार्यालय आउन/जान बाधा नपुर्‍याउन आग्रह गरेको बताए। 

स्वास्थ मन्त्रालयले बालबालिका र ५० वर्ष नाघेका व्यक्ति घरबाहिर ननिस्कन आग्रह गरिरहेको सन्दर्भमा कतिपय परिवारमा सोही समूहका व्यक्ति किनमेल गर्न निस्कन परेको अवस्थामा सबै उमेर समूहका व्यक्तिलाई घरबाहिर निस्कनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य होम डेलिभरिले गर्ने भट्टको तर्क छ। 

साथै कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुने, स्पष्ट मूल्य हुँदा कालोबजारी नहुने, ५ मिनेटभन्दा कम समयमा भौतिक दुरी कायम गरि डेलिभरी गरिने कारण ईकमर्स सुरक्षित रहने भट्ट बताउँछन्। उनी थप्छन्, ‘यो परिस्थितिमा ईकमर्स कम्पनीले बिजनेस बढाउनभन्दा भिडभाड कम गरी कोराेना नियन्त्रणमा जोड दिएका छन्।’

यो विषम परिस्थितिमा उपभोक्ताको आवश्यकता पुर्ति र अर्थतन्त्र चलायमान बनाउन ईकमर्सको भूमिका महत्त्वपूर्ण रहने भट्टले बताए। मन्त्री परिषद्को निर्णयबमोजिम अत्यावश्यक वस्तुको ढुवानीमा रोकतोक नलगाउन आग्रह गरेको पनि भट्टले बताए।

स्वास्थ्य सुरक्षा सावधानी अपनाएर गरिने होम डेलिभरी पसलहरुको भिडभाडभन्दा सुरक्षित हुने तर्क पठाओका सञ्चालक असिममान सिंह बस्न्यातले वैठकमा राखेका थिए। त्यस्तै ईकमर्सले डिजिटल भुक्तानीलाई प्राथमिकता दिने भएकाले नगद कारोबार कम भई कोरोना संक्रमणकाे जोखिम कम हुने बस्न्यातले बताए।

भदौ ११ गते बिना पूर्वसूचना ईन्फी स्टोर, ग्यापु मार्केट प्लेस, यूजी, फूडमाण्डु, भोजडिल, फूडमारियो, काठमाडौं अर्ग्यानिक, मेट्रो तकारी, सस्तो मेलालगायतका कम्पनीका सञ्चालक एवम् डेलिभरी कर्मचारी गरी ९९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०