close

तपाईंले थाहा पाउनैपर्ने चार किसिमका माल्वेयर (बच्ने टिप्स सहित)

टेकपाना टेकपाना

भदौ १९, २०७७ ७:३३

तपाईंले थाहा पाउनैपर्ने चार किसिमका माल्वेयर (बच्ने टिप्स सहित)

काठमाडौं । तपाईंलाई थाहा छ विभिन्न किसिमका कम्प्युटरमा इन्जेक्ट भएर तपाईंको महत्वपूर्ण जानकारी चुहावट गर्ने माल्वेयरहरु थरीथरीका हुन्छन् । तपाईंले जान्ने पर्ने चार किसिमका माल्वेयरका बारेमा आज हामी तपाईलाई बताउँदै छौं । 

रेन्समवेयर 

रेन्समवेयर एउटा सानो कम्प्युटर भाइरस हो । यसले इन्फेक्टेड मसिनको सबै फाइलहरुलाई इन्क्रिप्ट गरिदिन्छ । यसमा भएका डेटा एकपटक इन्क्रिप्ट भइसकेपछि यो कम्प्युटर पूर्णरुपमा बेकार जस्तै बनिदिन्छ । किनभने यसमा स्टोर भएका कुनै पनि डेटा एक्सेस गर्न सकिन्न । 

यदि रेन्समवेयरले तपाईंको कम्प्युटरलाई कम्प्रोमाइज गरेको छ भने तपाईंले स्क्रिनमा एउटा म्यासेज देख्न सक्नुहुन्छ त्यसमा डिक्रिप्टसन चाबी रिलिज गर्न अफर हुन्छ । त्यो चाबीले सबै फाइलहरुलाई अनलक गरिदिन्छ । तर त्यो चाबी प्राप्त गर्न तपाईंले बिटक्वाइनमा रेन्सम अर्थात् फिरौती मूल्य तिर्नुपर्छ । 

रेन्सम भुक्तानी गर्नु सही कदम होइन । किनभने ह्याकरले डिक्रिप्सनको चाबी रिलिज गर्छ भन्ने कुनै सुनिश्चितता हुँदैन । यसको सट्टा सधैं आफ्नो फाइलहरुको ब्याकअप राख्नुहोस् । अपराधीलाई विश्वास गर्नुभन्दा आफ्नो डेटालाई नै रिस्टोर गर्नु एकदमै विश्वासिलो र राम्रो काम हो । 

ट्रोजन्स

ट्रोजन शब्द ग्रीकको मिथक ट्रोजन घोडाबाट लिइएको हो । यो एक किसिमको माल्वेयर हो । यसले प्रभावित कम्प्युटरको चियो गर्छ । तर एकपटक यो इन्स्टल भएता पनि यो एक्टिभेट नभएसम्म केही पनि नराम्रो गर्दैन । 

काठको घोडामा सैनिकहरु लुकेकोजस्तै ट्रोजनले पनि तपाईंको डिफेन्सपछाडि रहेको संयन्त्रहरुमाथि चियो गर्छ र भित्रैबाट अट्याक लन्च गर्दछ । यो माल्वेयरले तपाईको डेटलाई मेटाउने वा क्षति पुर्‍याउने गर्दछ । साथै यसले प्रभावित कम्प्युटरमा ह्याकरलाई एक्सेस दिन सामान्य खुल्ला ढोकाको काम पनि गर्दछ । 

कम्प्युटरहरुलाई बोटनेटमा कनेक्ट गर्ने यो एकदमै लोकप्रिय तरिका हो । साथै यसले डिस्ट्रिब्युटेड डेनियल अफ सर्भिस अट्याक (डीडीओएस) लन्च गर्नुका साथै डेटा पनि सिधै चोरी गर्दछ । 

स्पाईवेयर 

पासवर्ड संरक्षण गर्न डिजाइन गरिएका आधुनिक सिस्टमहरु एकदमै प्रभावकारी हुन्छन् । यदि ह्याकरले नेटवर्क ब्रेक गर्‍यो र डेटाबेस चोरी गर्‍यो भने अधिकांश पासवर्डहरु भारी रुपमा इन्क्रिप्ट गरिएका हुन्छन् । त्यसैले त्यसलाई प्रयोग गर्न सकिन्न । यी इन्क्रिप्सनसँग डिल गर्न स्पाईवेयर बनाइने गरिन्छ ।

यो माल्वेयर डिभाइसमा एकपटक इन्स्टल भइसकेपछि  यसले तपाईंले भिजिट गरेको वेबसाइट लगायत सबै किसिमका जानकारीहरु र लगिङहरु संकलन गर्दछ । कीबोर्डमा तपाईंले प्रेस गर्ने हरेक अक्षर यसले याद गरेको हुन्छ । त्यसपछि त्यस स्पाईवेयरलाई जुन अपराधीले कन्ट्रोल गरिरहेको हुन्छ त्यसलाई यसले सबै जानकारीहरु पठाउँछ । 

ह्याकरले तपाईंको सबै जानकारीहरु संकलन गर्न सक्छ र तपाईंको पासवर्ड पनि पढ्न सक्छ । त्यसरी यसले तपाईंको अनलाइन अकाउन्ट पनि ब्रेक गरिदिन सक्छ । 

वर्म्स 

कम्प्युटर वर्म एक किसिमको कम्प्युटर भाइरस हो । यसले इन्फेक्टेड कम्प्युटरलाई कपी गर्दछ र त्यहीँ नेटवर्कमा रहेको अन्य कम्प्युटरमा इन्फेक्सनलाई प्रसार गरिदिन्छ । यसको अर्थ यदि तपाईको घरको पर्सनल कम्प्युटर इन्फेक्ट भएको छ भने तपाईको ल्यापटप र त्यहीँ नेटवर्कमा कनेक्ट भएका सम्पूर्ण सिस्टममा यो भाइरस तिब्र गतिमा प्रसार हुनेछ । 

साथै यो वर्मले तपाईको डिजिटल एड्रेस बूंक प्रयोग गरेर तपाईंले चिनेका अन्य व्यक्तिलाई समेत आफैं मेल पठाइदिन्छ । यो इन्फेक्सनले तपाईंको फाइललाई डिलिट गर्ने वा क्षति पुर्‍याउने त गर्दैन । तर यसले तपाईंको पीसी र नेटवर्कलाई सुस्त र रेस्पोन्स नै नगर्ने बनाइदिन्छ । 

माइडूम वर्म इन्फेक्सन एउटा चर्चित वर्म इन्फेक्सन थियो, जसले विश्वभरीका दशौं लाख कम्प्युटरहरुलाई एकैसाथ प्रभावित बनाएको थियो । ती कम्प्युटरहरुलाई इमेल स्पाम रिले गर्न हाईज्याक गरिएको थियो ।  

यी चार  किसिमका माल्वेयरबाट आफूलाई जोगाउनुहोस् 

माथि चर्चा गरिएका माल्वेयरहरुले विभिन्न स्तरका क्षतिहरु पुर्‍याउन सक्छन् । हाम्रो सम्पूर्ण डेटा नै मेटाइदिनेदेखि लिएर हामीलाई दिक्क पार्नेसम्म विभिन्न गतिविधिहरु गरिरहेको हुन्छ । तर कुनै पनि किसिमको माल्वेयर अट्याकलाई बेवास्ता गर्ने वा सहेर बस्ने गर्नुहुन्न ।

यसका लागि सावधानीपूर्वक विभिन्न सेक्युरिटीका टुल्स प्रयाेग गर्नुहाेस् । यस्ता टुलले माल्वेयरहरुलाई इन्स्टल हुन दिदैँन वा त्यसलाई डिटेक्ट र ब्लक गरी भाइरसलाई सफा गर्दछ ।

वेबमा सामान्य काम गर्दा पनि तपाईंलाई भाइरसले पछ्याइरहेको हुनसक्छ । हामीले भाइरसबाट सुरक्षित रहन सुरक्षाका सरल तर महत्वपूर्ण विधिहरु अपनाउन सक्छौं:

  • कम्प्युटरमा जहिले पनि राम्रो एण्टीभाइरस प्रोटेक्सन र फायरवाल राख्नुहोस् र त्यसलाई नियमित अपडेट गरिरहनुहोस् ।
  • फ्लपी, पेन ड्राइभ, सीडी प्रयोग गर्दा खोल्नुभन्दा पहिले स्क्यान गर्नुहोस् ।
  • इन्टरनेट प्रयोग गर्दा विज्ञापनको आधारमा जहाँ पायो त्यही ठाउँमा क्लिक नगर्नुहोस् ।
  • निःशुल्क खेल, टूलबार, मिडिया प्लेयर र अरु सिस्टम डाउनलोड नगर्नुहोस् । गर्नैपरे आधिकारिक साइटबाट मात्र डाउनलोड गर्नुहोस् ।
  • म्युजिक, फाइल, फोटो लगायतका सामग्री सहजै र निःशूल्क पाउने नाममा जुनसुकै साइट वा लिंक जाने बानी त्याग्नुहोस् ।
  • सकेसम्म सफ्टवेयर डाउनलोड नगर्नुहोस् । यदि डाउनलोड गर्दै हुनुहुन्छ भने विश्वस्त साइटबाट लाइसेन्स एग्रिमेन्ट पढेरमात्रै गर्नुहोस् । डाउनलोडपछि पहिले स्क्यान गरेर मात्र प्रोग्राम रन गर्नुहोस् ।
  • स्क्रीनसेभर एनिमेटेड वालपेपर जस्ता सफ्टवेयर डाउनलोड गर्दा विशेष सावधानी अपनाउनुहोस् । किन कि धेरैजसो भाइरस सर्ने भनेकै यस्तै सफ्टवेयरबाट हो ।
  • स्पाममा आएको ईमेल र नचिनेको व्यक्तिको ईमेलमा कुनै एट्याचमेन्ट छ भने डाउनलोड गर्दा विशेष सतर्कता अपनाउनुहोस् र शंकास्पद ईमेल छ भने तुरुन्तै डिलिट गर्नुहोस् ता कि झुक्किएर पनि क्लिक नहोस् ।
  • अपरेटिङ सिस्टम नियमित रुपमा अपडेट गर्नुहोस् ।
  • धेरैजसो भाइरस विन्डोजलाई लक्षित गरी बनाइएका हुन्छन् । यदि तपाईंलाई सहज लाग्छ भने लिनक्स अपरेटिङ सिस्टम चलाउन सक्नुहुन्छ ।

याे पनि पढ्नुहाेस् : आफ्नो स्मार्टफोन पूर्ण सुरक्षित राख्न चाहनुहुन्छ ? अपनाउनुहोस् यी टिप्स

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०