close

विश्वमा १३ औं सस्तोमा पर्छ नेपालको इन्टरनेट, सबैभन्दा सस्तो र महंगो कहाँ होला ?

टेकपाना टेकपाना

भदौ २५, २०७७ १४:५०

विश्वमा १३ औं सस्तोमा पर्छ नेपालको इन्टरनेट, सबैभन्दा सस्तो र महंगो कहाँ होला ?

काठमाडौं । विश्वव्यापी रुपमा फिक्स्ड लाइन ब्रोडब्याण्डको मूल्य घट्दो क्रममा छ र स्पीड नियमित रुपमा बढ्दै गएको छ । एसिया क्षेत्रमै मिश्रित किसिमको अर्थात न त निकै महंगो न त धेरै सस्तो इन्टरनेट सेवा छ । यस क्षेत्रमा नेपाल सहित भुटान, इरान, भियतनाम, मंगोलिया विश्वकै सस्तो इन्टरनेट भएका २० मुलुकभित्र पर्दछन् । 

केबल यूकेका अनुसार नेपालमा फिक्स्ड लाइन ब्रोडब्याण्डको औसत मूल्य १२.०५ अमेरिकी डलर (१३६२.५० रुपैयाँ) रहेको छ । यस अघिको तुलनामा नेपालले ग्लोबल ब्रोडब्याण्ड प्राइसिङमा एक स्थान सुधार गरेको छ । सन् २०१८ मा १४ औं स्थानमा रहेको नेपाल हाल १३ औ स्थानमा उक्लिएको हो । 

सस्तो इ्न्टरनेटको कुरा गर्दा त्यो फास्ट नै हुन्छ भन्ने चाहिँ होइन । इरान, नेपाल र कार्गिस्तान सस्तो इन्टरनेट दिने मुलुकमा परेपनि इन्टरनेट स्पीड भने तुलनात्मक रुपमा स्लो रहेको केवल यूकेले जनाएको छ । केवल यूके लगायतको सर्वेक्षणमा नेपालको इन्टरनेट स्पीड विश्वमा १५० औं स्थानमा छ । 

बुल्गेरिया र हङ्गेरी यस्ता अपवादपूर्ण देश हुन्, जहाँ इन्टरनेट फास्टमात्रै होइन सस्तो पनि छ । व्यापक रुपमा विस्तार गरिएको एफटीटीएच नेटवर्कले नै ती देशहरुलाई त्यो स्तरमा पुर्‍याएको हो । एसियाकै लाओस, हङकङ, टिमोरलेस्ट, माल्दिभ्स र ब्रुनाइ दरुसलम जस्ता देश विश्वकै महंगा इन्टनेट मध्येमा पर्छन् ।

नजिकैको छिमेकी भारतमा समेत फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट नेपालभन्दा महंगो छ । विश्वमा १७ औं स्थानमा रहेको भारतमा इन्टरनेट प्याकेजको औसत मूल्य १२.९० डलर (१४६१.५७ रुपैयाँ) रहेको छ । 

कहाँ छ विश्वकै सस्तो इन्टरनेट ?

विश्वकै सस्तो इन्टरनेट हुन टप फाइभ मुलुकमा सिरिया, यक्रेन, रसियन फेडेरेसन, रोमानिया र बेलारुस रहेका छन् । जहाँको इन्टरनेट प्याकेजको औसत मूल्य क्रमशः ६.६० डलर, ६.६४ डलर, ७.३५ डलर, ८.१५ डलर र ९.८७ डलर रहेको छ ।

नेपालको छिमेकी मुलुक भुटान विश्वकै छैटौं सस्तो इन्टरनेट भएको मुलुक हो । जहाँ सबैभन्दा सस्तो ब्रोडब्याण्ड प्याकेज र औसत प्याकेजको मूल्य समान १०.४२ डलर रहेको छ ।  

जहाँ छ विश्वकै महंगो इन्टरनेट

उपभोक्ताले प्रयोग गर्ने इन्टरनेट विश्वमै महंगो हुने टप फाइभ मुलुकहरुमा पाँचदेखि एकसम्म क्रमशः इक्वेटोरियल गिनिया, बुरुन्डी, मौरिटानिया, यमन र एरिटेरिया रहेका छन् ।

राजनीतिक वातावरण, युद्ध, कमजोर आर्थतन्त्र र पूर्वाधार निर्माणमै धेरै लागत पर्ने आदि कारणले गर्दा ती देशमा इन्टरनेट महंगो हुन पुगेको हो । 

एरिटेरियामा सबैभन्दा महंगो ब्रोब्याण्ड प्याकेजमा एक महिनाको प्रति एमबीपीएस इन्टरनेटका लागि १५,०५१.२९ अमेरिकी डलरसम्म तिर्नुपर्ने हुन्छ । जहाँको सबैभन्दा सस्तो प्याकेज कै लागि मासिक प्रति एमबीपीएस २५१.१३ डलर तिर्नुपर्छ ।

त्यहाँको इन्टरनेटको प्याकेजको औषत मूल्य २,६६६.२४ डलर रहेको छ । त्यसपछि इन्टरनेट प्याकेजको औसत मूल्य यमनमा २,४६६.६७ डलर, मौरितानियामा ६९४.६३ डलर, बुरुन्डीमा र इक्वेटोरियल क्रमशः २८३.७३ डलर र २५९.३८ डलर रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०