close

टिकटक किन्ने माइक्रोसफ्टको प्रयास अन्ततः असफल

टेकपाना टेकपाना

भदौ २९, २०७७ ९:५

टिकटक किन्ने माइक्रोसफ्टको प्रयास अन्ततः असफल

काठमाडौं । अमेरिकी कम्पनी माइक्रोसफ्टले भिडियो एप टिकटकको अमेरिकी बिजनेस खरिद गर्ने आफ्नो प्रयास असफल भएको बताएको छ । टिकटकको माउ कम्पनी बाइटड्यान्सले माइक्रोसफ्टको प्रस्ताव अस्वीकार गरिदिएपछि एक महिनायताको प्रयास असफल भएको खबर द भर्जले प्रकाशित गरेकाे छ ।

अमेरिकी राष्ट्रपित डोलाल्ड ट्रम्प नै प्रत्यक्ष संलग्न भएर टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई दिन वा अमेरिकी बिजनेश ध्वस्त पार्न दबाब दिँदै आएका थिए । माइत्रोसफ्टले उल्लेख गरेको छ, ‘बाइटडान्सले हामीलाई टिकटकको अमेरिकी अप्रेसनहरू नबेच्ने खबर गरेका छन् ।’

राष्ट्रिय सुरक्षाको विषय उठिरहेका बेला आफ्नो प्रस्ताव टिकटक प्रयोगकर्ताका लागि सही भएकाेप्रति माइक्राेफ्टले बताएकाे छ । अनलाइन सुरक्षा, गोपनीयता कायम गर्नुका साथै गलत सूचना प्रवाहबाट रोक्नका लागि सेवाको स्तरीयता रोक्ने विषय प्रस्तावमा उठाएको कम्पनीले बताएको छ ।

माइक्रोसफ्टले गत महिना टिकटकको अमेरिका, अस्ट्रेलिया, क्यानडा र न्युजल्यिान्डको व्यवसाय आफूले किन्न खोजिरहेको सार्वजनिक रूपमै बताएको थियो । यता माइक्रोसफ्टको असफल प्रयासपछि अन्य कम्पनीलाई बाटो खुलेको छ ।

तर चीनले टिकटक बिक्री गर्नुको साटो अमेरिकी सञ्चालन नै बन्द गर्ने संकेत दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक बिक्रीका लागि दिएको अल्टिमेटम सकिनै लाग्दा चीन सरकार त्यसको विपक्षमा देखिएको हो ।

रोयटर्सका अनुसार चिनियाँ सरकार बाइटड्यान्सको टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न अनुमति दिनुभन्दा सहजै बन्द गर्ने पक्षमा देखिएको छ । टिकटकको जारी बिक्रीको सन्दर्भ नियमित कारोबारको विषय भने होइन ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनिक हैसियतको दम्भ देखाउँदै टिकटक बिक्रीका लागि जबरजस्ती गरिरहेका छन् । टिकटक हत्याउँदा त्यसको निश्चित हिस्सा अमेरिकी सरकारले समेत पाउनुपर्ने जोड उनले गर्दै आइरहेका छन् । तर यो अवधारणा कानूनी हो वा होइन भन्ने विषय समेत हालसम्म प्रस्ट भइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०