close

अन्ततः टिकटकमा ओराकलको बाजी, बन्ने भयो ‘ट्रस्टेड टेक्नोलोजी पार्टनर’

टेकपाना टेकपाना

भदौ २९, २०७७ २२:३७

अन्ततः टिकटकमा ओराकलको बाजी, बन्ने भयो ‘ट्रस्टेड टेक्नोलोजी पार्टनर’

काठमाडौं । टिकटकलाई अमेरिकामा कायम राख्ने होडमा अन्ततः ओराकलले बाजी मारेको छ । सोमबार ओराकलले अमेरिकामा आफू बाइटड्यान्सको ‘ट्रस्टेड टेक्नोलोजी पार्टनर’ (विश्वासिलो प्राविधिक साझेदार) को रुपमा रहने निश्चित गरेको हो ।

कारोबारको प्रस्ताव अमेरिकी सरकार समक्ष स्वीकृतिका लागि पेश भएको खबर वाल स्ट्रिट जर्नलले प्रकाशित छ । डिलको यथार्थ शर्त भने अझै स्पष्ट भइसकेको छैन ।

तर ओराकलसँगको कारोबार टिकटकको प्रत्यक्ष बिक्री भने नहुने देखिएको छ । ट्रेजरी सेक्रेटरी स्टिभन म्युचिनले समेत आफ्ना कर्मचारीले ओराकलको तर्फबाट बिड (बोलकबोल) प्रस्ताव हात पारेको स्वीकार गरेका छन् ।

बिडमा २० हजार रोजगारी ल्याउने र टिकटकको हेडक्वार्टर अमेरिकामा सार्ने प्रतिवद्धता समेत त्यसमा रहेकव म्युचिनले बताएको खबर बिजनेस इन्साइडरमा छ ।

अमेरिकाको विदेशी लगानी सम्बन्धी समितिले राष्ट्रिय सुरक्षा जोखिमको सवालमा विदेशी कारोबारको समिक्षा गर्नेछ । म्युनचिनका अनुसार डिलको समिक्षा यसै साता भित्र सम्पन्न हुनेछ ।

ओराकल र बाइटड्यान्सबीचको डिलको सम्बन्धमा थुप्रै शर्तका विषयहरु अझै अज्ञात छन् । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार दुई कम्पनीबीच निश्चित सम्पत्ति आदानप्रदान बिनाको साझेदारी हुनेछ ।

अमेरिकी सरकारबाट जाहेर राष्ट्रिय सुरक्षा सरोकारको आधारमा यो कारोबारले चीनमा रहेको बाइटड्यान्सलाई टिकटकको अमेरिकी सञ्चालन अलग्याउने अनुमानभन्दा निकै परको नतिजा निस्केको छ ।

माइक्रोसफ्टले टिकटकको डिलबाट आफू बाहिरिएको घोषणा गरेसँगै ओराकल नै यसको अग्र भागमा देखिएको थियो । अन्ततः अमेरिकी सरकारले दिएको अल्टिमेटमको अन्तिम मितिभित्रै टिकटकले आफ्नो डिल सम्पन्न गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता मात्रै सेप्टेम्बर १५ भित्र टिकटकको डिल सम्पन्न गरिसक्नुपर्ने भाखा दिएका थिए । यद्यपी ट्रम्पको उक्त प्रशासनिक कदम विरुद्ध टिकटकले असंवैधानिक कदम भन्दै अमेरिकामै मुद्दा दायर गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०