close

क्लिन फिडबारे जान्नैपर्ने केही कुरा

टेकपाना टेकपाना

कात्तिक ८, २०७७ १०:५४

क्लिन फिडबारे जान्नैपर्ने केही कुरा

काठमाडाैं । आज शनिबारदेखि नेपालमा क्लिन फिड व्यवस्था लागू भएको छ । वर्षौदेखि चर्चामा रहेको भए पनि धेरैलाई यसबारे द्धिविधा भएको हुन सक्छ ।

के हो क्लिन फिड व्यवस्था ?

क्लिन फिड भनेको टेलिभिजनमा विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था हो । अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनले आफ्नो कार्यक्रममा विज्ञापन बजाउन पाउने छैनन् ।

त्यस्ता टेलिभिजनले आफूले उत्पादन गरेको सामग्री प्रसारण गर्न पाउने भए पनि विज्ञापन भने पूर्ण रुपमा बन्द गर्नुपर्ने हुन्छ । 

विदेशी च्यानलले विज्ञापन बजाउन नपाउने भए पनि नेपालमा प्रसारण अनुमति लिएका कम्पनीमार्फत स्थानीय स्तरमै विज्ञापन भने हाल्न पाइनेछ ।

क्लिन फिडसम्बन्धी कानून

गत वर्ष जारी भएको विज्ञापन नियमन गर्ने ऐन २०७६ मा क्लिन फिड सम्बन्धी व्यवस्था छ । उक्त ऐनमा ऐन जारी भएको १ वर्षभित्र नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले एक वर्षभित्र विज्ञापन रहित प्रसारण गर्नुपर्ने प्रावधान छ ।

विदेशी च्यानलले विज्ञापन बजाए के हुन्छ ?

आज शनिबारदेखि नेपालमा प्रसारण हुने विदेशी च्यानलले विज्ञापन बजाएमा ५ लाख जरिवाना हुने व्यवस्था ऐनमा उल्लेख गरिएको छ । यस्तो जरिवाना विदेशी च्यानल नेपालमा प्रसारण गर्ने अनुमति लिएका संस्थालाई हुनेछ ।

विज्ञापन बजाएको नबजाएको अनुगमन कसले गर्छ ?

आजदेखि कुनै विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाएमा उपभोक्ता आफैंले पनि उजुरी गर्न सक्छन् । यसको अनुगमन गर्नको लागि सरकारले विज्ञापन बोर्ड गठन गरेको छ ।

यो बोर्डले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाएका छन् कि छैनन् भनेर नियमित अनुगमन गर्छन् ।

क्लिन फिडको प्रभाव कस्तो होला ?

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने भएपछि उनीहरुले विज्ञापन बिनाको टेलिभिजन सामग्री पठाउनुपर्ने हुन्छ । नेपालमा विदेशी च्यानलको प्रसारण लिएका निकायहरुले त्यसलाई रिसिभ गर्न छुट्टै उपकरणहरु प्रयोग गर्नुपर्ने हुन्छ ।

विदेशी च्यानललाई नेपालमा प्रसारण गर्ने अधिकार लिएका धेरै कम्पनीहरुले त्यस्तो तयारी नगरेका कारण आजदेखि धेरै टेलिभिजनहरु नेपालमा प्रसारण हुने छैनन् ।

याे पनि पढ्नुहाेस् :
आजदेखि लागू भयो क्लिन फिड, बन्द भए यी विदेशी टिभी च्यानल
क्लिन फिडका कारण आईपीएल, प्रिमियर लिग र च्याम्पियन्स लिग हेर्न नपाइने

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०