close

फेसबुकको ‘बग’ पत्ता लगाएर २२ वर्षे नेपाली युवाले हात पारे साढै १५ लाख नगद

टेकपाना टेकपाना

पुस २, २०७७ ७:०

फेसबुकको ‘बग’ पत्ता लगाएर २२ वर्षे नेपाली युवाले हात पारे साढै १५ लाख नगद

काठमाडौं । नेपाली इथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्ता सौगात पोखरेलले फेसबुकको बग अर्थात कमजोरी पत्ता लगाएर करिब १५ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । यस अघि इन्स्टाग्रामको बग पत्ता लगाएका पोखरेलले यस पटक फेसबुकको कमजोरी उजागर गरेका हुन् ।

फेसबुकको बग पत्ता लगाए वापत पोखरेलले १३ हजार १२५ अमेरिकी डलर रिवार्ड अर्थात सम्मान पाएका छन् । यस अघि इन्स्टाग्रामको कमजोरी पत्ता लगाए वापत उनले ६ हजार अमेरिकी डलर पुरस्कार हात पारेका थिए ।

त्यतिखेर उनले इन्स्टाग्राममा लामो समय अघि नै प्रयोगकर्ताले डिलिट गरेको फोटो र डाइरेक्ट म्यासेज (डीएम) कम्पनीको सर्भरमै रहने गरेको तथ्य पत्ता लगाएका थिए । त्यससँगै उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चित बनेका थिए ।

पोखरेलले ट्वीटरमार्फत आफ्ना लागि एकदमै विशेष दिन रहेको भन्दै खुशी साँटेका छन् । जसमा उनले पाँच अंक डलर बाउन्टी रिवार्ड प्राप्त गरेको समेत खुलाएका छन् ।

यद्यपी पोखरेलले फेसबुकको उक्त बग कुन थियो भन्ने कुरा चाहिँ खुलाउन चाहेनन् । फेसबुकबाट ‘डिस्क्लोजर अप्रुभल’ प्राप्त भएसँगै यस विषयमा थप अपडेट उपलब्ध गराउने छौं ।

यसरी एक पछि अर्को रुपमा सामाजिक सञ्जालमा रहेको गम्भीर कमजोरी पत्ता लगाएका सौगात यतिखेर नेपालमा ‘बग हण्टर’ उप नामले समेत चिनिन थालेका छन् । यस अघि नै उनले फेसबुक र इन्स्टाग्राममा दर्जनभन्दा बढी बग पत्ता लगाएर करिब २० लाख रुपैयाँ रिवार्ड पाइसकेका छन् ।

फिजिक्सका विद्यार्थी पोखरेल रुची र लगावकै कारण साइबर सुरक्षा अनुसन्धानको क्षेत्रमा लागेका हुन् । उनले यस विषयमा छुट्टै ‍औपचारिक कोर्ष समेत गरेका छैनन् । हाल उनी स्थानीय एक साइबर सेक्युरिटी कम्पनीमा समेत आवद्ध भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४