close

टेलिकमको लापरबाहीले लुटिए ग्राहक, अबको शिकार कतै तपाईं त होइन ?

रन्जन कोइराला रन्जन कोइराला

पुस १३, २०७७ १७:५

टेलिकमको लापरबाहीले लुटिए ग्राहक, अबको शिकार कतै तपाईं त होइन ?

काठमाडौं । सामाजिक सञ्जाल, मोबाइल बैंकिङ, मोबाइल वालेट आदिलाई पासवर्डले मात्र पर्याप्त सुरक्षा दिनसक्दैन भनेरै टु स्टेप भेरिफिकेसनका लागि मोबाइल नम्बर राख्ने गरिन्छ । यसरी मोबाइलमा आउने ओटीपी राखेर मात्र अकाउन्ट लगइन गर्न सकिने अभ्यास विश्वव्यापी मान्यताकै रुपमा विकास भइसकेको छ ।

अब यस्तोमा तपाईंले प्रयोग गरिरहेको सिमकार्डमा अरु कसैले पहुँच बनाउँदा के होला ? अझ यस्तो कार्य योजनाबद्ध रुपमै भयो भने ?

यस्तै घटना पछिल्लो समय नेपालमा बाक्लिदै गएका छन् । केवल नाम र मोबाइल नम्बर थाहा पाएकै भरमा कुनै अर्को व्यक्तिले तपाईंले प्रयोग गरिरहेको सिम निकाल्न सक्छ भन्ने कुरा तपाईं सजिलै कल्पना गर्नुहुन्न होला ।

कुनै अर्को व्यक्तिको नागरिकतामा फोटोशपमार्फत एडिट गरी त्यसको फोटोकपी टेलिकममा बुझाउँदा सहजै सिमकार्ड लिन सक्ने अवस्था रहनु भनेको निकै लापरबाहीपूर्ण कुरा हो । यस अघि पनि यस्तै घटना घटेपछि त्यसलाई रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।

जसमा सिमकार्ड लिनका लागि ग्राहक स्वयम् उपस्थित हुँदा समेत आफ्नो सक्कल परिचय पत्र (नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र वा राहदानी आदि) समेत हुनुपर्ने भनिएको थियो ।

त्यस्तो सक्कल परिचयपत्रसँग रुजु गराएर मात्र सिमकार्ड लिन सकिने व्यवस्था मिलाउन प्राधिकरणले दिएको निर्देशन सेवा प्रदायकले अझै कार्यान्वयनमा ल्याएको देखिँदैन ।

घटना नम्बरः १

एक हप्ता अघिमात्रै भक्तपुर कौशलटारमा रहेको जि–सेन्स टेक्नोलोजीका सञ्चालक साजन श्रेष्ठ त्यसको शिकार बने । पसलमा आउने ग्राहकलाई ईसेवामार्फत रिचार्ज गर्नुपर्ने भएकाले उनको ईसेवामा सधैं जसो ठूलो रकम हुने गर्दथ्यो ।

त्यस दिन अर्थात अघिल्लो आइतबार पनि उनको वालेटमा चार हजारभन्दा बढी पैसा थियो । त्यो घटना भने उनका लागि दोस्रो थियो ।

उनी गएको कात्तिकमै यस्तै घटनाको शिकार बनिसकेका थिए । कात्तिक २० गते उनले आफ्नो ईसेवा वालेटबाट ५ हजार ५ सय ८१ रुपैंया गुमाएका थिए ।

‘कात्तिक १९ गते नै मेरो सिमकार्ड अर्कैले निकालेको रहेछ,’ उनी सुनाउँछन्, ‘त्यस दिन मैले ल्यापटपमा ईसेवा लगइन गरेको थिइनँ । मोबाइलमा चलिरहेकै थियो । २० गते बिहान १० बजेतिर पाँच हजार रुपैयाँ ईसेवामा लोड गरेर पाँच सय रुपैयाँको कारोबार गरेको थिएँ ।’

वालेटमा ४५ सय ८१ रुपैंया बाँकी थियो । दिउँसो एक जना ग्राहक टेलिफोनको पैसा तिरिदिनु पर्‍यो भन्दै आए । आफ्नो ईसेवामा ४५ सय रुपैयाँ छ भन्ने कुरामा उनी ढुक्क थिए ।

‘मैले ईसेवा वेबमा लग ईन गर्न खोजेँ । पासवर्ड मिलेन भन्यो । सायद पासवर्ड रिसेट गर्नुपर्ने भयो भनेर मोबाइलमा हेरेँ । मोबाइलमा नेटवर्क नै थिएन,’ उनी सुनाउँछन् ।

‘मैले मोबाइलमा रहेको ईसेवा खोलेँ । त्यहाँ भने सहजै खुल्यो । तर, वालेटमा पैसा भने थिएन । मैले हतार हतार ईसेवाको स्टेटमेन्ट हेरेँ । पैसा अरुको नाममा गइसकेको थियो । अनि बल्ल मलाई मेरो सिमकार्ड कसैले निकालेर ईसेवा लगईन गरी कारोबार गरिसकेको महसुस भयो ।’

त्यस दिन शुक्रबार भएकाले टेलिकम जान ढिला भइसकेको थियो । उनी आइतबार बिहानै टेलिकमको गठ्ठाघर कार्यलय पुगे ।

त्यहाँबाट उनकै नाममा सिमकार्ड निकालिएको छ भन्ने खबर पाए । टेलिकमका कर्मचारी उल्टै कराउन थाले ।

‘उनीहरुले मलाई आफ्नो नागरिकता जसलाई पायो त्यसलाई किन दिएको भन्दै कराइरहेका थिए,’ उनी सुनाउँछन्, ‘मैले त्यहाँको एक जना कर्मचारी चिनेको थिएँ । उसलाई आग्रह गरेर उक्त व्यक्तिले बुझाएको डकुमेन्ट हेरिदिन आग्रह गरेँ ।’

चिनजानका ती कर्मचारीले बल्ल बल्ल उक्त कागजात देखाए । ‘नाम मेरै थियो, तर फोटो भने अर्कैको । जिल्ला अनि नागरिकता नम्बर पनि अर्कैको,’ उनी भन्छन्, ‘टेलिकमका कर्मचारीले मेरो नाममात्रै हेरेर उक्त सिमकार्ड जारी गरेका रहेछन् । त्यस दिन मैले त्यहाँबाट उक्त सिमकार्ड पुनः निकालेर फर्किएँ ।’

त्यस दिन उनले नजिकैको प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए । त्यसको कुनै रिजल्ट आएको थिएन ।

उजुरीको सुनुवाई नहुँदै उनी गएको आइतबार पुनः त्यस्तै घटनाको शिकार बने । ‘आइतबार मलाई बैंकमा पैसा लोड गर्नुपर्ने थियो,’ उनी भन्छन्, ‘मैले डेक्सटपमा ईसेवा खोलेँ । त्यति बेलासम्म ईसेवा खुलिरहेको थियो । त्यसमा ४ हजार रुपैयाँभन्दा बढी पैसा छ भन्ने कुरा मलाई थाहा थियो।’

‘मैले पैसा नै नहेरी बैंकमा पैसा पठाउने प्रयास गरेँ । तर, पठाउन खाजेको जति पैसा नभएको कारण देखाउँदै कारोबार सफल भएन,’ उनी थप्छन्, ‘अनी मैले पैसा चेक गरेँ । पैसा हेर्दा वालेटमा शून्य थियो । हतार हतार मोबाइल हेरेँ । मोबाइलमा पनि नेटवर्क थिएन । अनि मैले ईसेवाको स्टेटमेन्ट हेरेँ ।’

उक्त पैसा बानेश्वरको राप्ती फोटो स्टिुडियो भन्नेमा गएको रहेछ । अनि उनले तत्काल ईसेवामा फोन गरेर त्यसबारे बुझे । ईसेवाले राप्ती फोटो स्टिुडियोबाट त्यस्तो दुरुपयोग नहुनु पर्ने जवाफ दियो ।

अनि ईसेवाबाट राप्ती फोटो स्टिुडियोमा बुझ्दा कसैले ल्याण्डलाइनबाट कल गरेर पसल अगाडि बसेको व्यक्तिलाई चार हजार ३० रुपैयाँ दिनु, म ईसेवामा पैसा पठाउँछु भनेको रहेछ । नभन्दै पैसा ईसेवामा आएपछि उक्त फोटो स्टुडियोले त्यहाँ उभिएको व्यक्तिलाई नगद दिएको रहेछ ।

‘म फेरी टेलिकमको कार्यालयमा पुगेँ, त्यहाँ फेरी पनि उही पुरानै पारामा भनियो । हिजोमात्रै तपाईंको सिमकार्ड तपाईंकै नामबाट निकालिएको छ,’ उनी आक्रोशित हुँदै सुनाउँछन्, ‘मलाई टेलिकमका कर्मचारीको त्यो व्यवहार देखेर उदेक लाग्यो ।’

साजन केही नबोली सिमकार्ड पनि ननिकालेरै फर्किए । तर प्रहरीमा भने उनले नयाँ घटानबारे पनि जानकारी गराएका छन् । यसरी साजनले दुई पटक गरेर ८ हजार ६ सय ११ रुपैयाँ गुमाइसकेका छन् ।

घटना नम्बरः २

भक्तपुरको लोकन्थली स्थित राजभण्डारी डिजिटल फोटो स्टिुडियोका सञ्चालक हुन् प्रविन राजभण्डारी । उनले पनि यसै गरी आफ्नो २७ हजार पाँच सय रुपैयाँ गुमाएका छन् ।

यो घटना पनि एक हप्ता अघिको मात्र हो । ‘मेरो ईसेवाबाट रकम चोरी हुनुभन्दा अघिल्लो दिनबाटै मोबाइलमा नेटवर्क गएको थियो । इमर्जेन्सी कल देखाइरहेको थियो,’ राजभण्डारी सुनाउँछन् ।

‘सिमकार्ड नभए पनि मेरो डेक्सटप र मोबाइलमा ईसेवा लग ईन भने थियो । म ईसेवाको एउटा प्वाइन्ट पनि हुँ । त्यसो हुँदा मेरो ईसेवाबाट दैनिक ३०–४० हजार रुपैयाँको कारोबार भइरहेको हुन्थ्यो । संयोगबस मेरो सिमकार्ड निकालिको दिन मेरो ईसेवामा पैसा सकिएको रहेछ ।’

उनी अगाडि थप्छन्, ‘भोलिपल्ट बिहान मैले ईसेवामा २७ हजार लोड गरेर डेक्सटप खोलेर ग्राहकलाई पैसा पठाउन खोजेँ । त्यहाँ ईसेवा लग ईन त भयो । तर, मैले राखेको २७ हजार र मेरो ईसेवामा रहेको ५ सय गरी कुल २७ हजार ५ सय रुपैयाँ भने थिएन ।’

बैंकबाट पैसा लोड भएन कि भनेर उनले मोबाइल बैंकिङ एप खोले । त्यहाँबाट लोड भइसकेको देखियो । अनि ईसेवाको इस्टेटमेन्ट हेरे ।

‘त्यहाँ हेर्दा मेरो २७ हजार ५ सय रुपैयाँ ट्रान्सफर भइसकेको देखियो । त्यो व्यक्तिले कतिबेला पैसा हाल्छ र उडाउँ भनेर कुरी बसेको रहेछ,’ राजभण्डारी दुखेसो सुनाउँछन्, ‘वालेटमा पैसा राखेको पाँच मिनेट नहुँदै मेरो सबै पैसा गायब भयो ।’

त्यसपछि मात्र उनले आफ्नो सिमकार्ड निकालेर दुरुपयोग भएको चाल पाए । उक्त पैसा आरआर मोबाइल हाउसको नाममा गएर थियो ।

त्यहाँ बुझ्दा उक्त पैसा नगदको रुपमा निकालेर एक जना व्यक्तिले लगिसकेको खबर आयो । त्यसपछि उनले प्रहरी कार्यलयमा उजुरी गरे ।

त्यसको भोलिपल्ट राजभण्डारी टेलिकम कार्यालय पुगे । भुक्तपुर कार्यालयबाट घनबहादुर श्रेष्ठको नाममा उक्त सिमकार्ड निकालिएको जानकारी पाए ।

‘मैले सिमकार्ड प्रयोग गर्ने भएता पनि उक्त सिमकार्ड घनबहादुर श्रेष्ठकै नाममै थियो,’ उनी अगाडि भन्छन्, ‘कसरी उक्त सिमकार्ड निकालियो भनेर म टेलिकमका कर्मचारीसँग छलफल गर्दै थिएँ । त्यही बेला सोही कार्यालयबाट उक्त व्यक्तिले फेरी आरआर मोबाइल हाउसको नाममा रहेको सिमकार्ड निकाल्न आएको खबर आयो ।’

अघिल्लो दिन त्यही आरआर मोबाइल हाउसको नम्बरबाट पैसा निकालिएकाले उक्त व्यक्तिलाई त्यहाँबाट प्रहरीले प्रक्राउ गर्‍यो । यो घटना गएको शुक्रबारको हो ।

कसरी निकालियो सिमकार्ड ?

यसरी अर्काको नाममा रहेको सिमकार्ड निकाल्न एउटा गिरोह नै सक्रिय रहेको बुझिएको छ । गिरोहका सदस्यले ईसेवाका प्वाइन्टहरुलाई बढी टार्गेट बनाएका छन् ।

ईसेवाका प्वाइन्ट बनेका व्यक्ति तथा पसलको ईसेवा वालेटमा धेरै पैसा हुने हुँदा उनीहरुले उक्त ईसेवामा प्रयोग भएको सिमकार्ड नम्बर र उक्त व्यक्तिको नाम पत्ता लगाउने गरेका छन् । यस्तो काम कसरी भइरहेको छ भन्ने विषय अहिलेसम्म छानविनकै क्रममा छ ।

प्रहरीले हालसम्म यस किसिमका घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । नाम र सिमकार्ड कसरी पत्ता लगाइरहेका छन् भन्ने विषयमा यकित जानकारी नभएता पनि उनीहरुले नम्बर र नाम फेला पारेसँगै नागरिकता बनाउने काम समेत गरिरहेको पाइएको छ ।

त्यो पनि फोटो एडिटिङ सफ्टवेयर फोटोशपबाट । सुरुमा कुनै एक जनाको सक्कली नागरिकता स्क्यान गरी फोटोशपबाट व्यक्तिको नाम, बुबा आमाको नाम परिवतर्न गर्छन् ।

अनि त्यसलाई फोटोकपी गरेर टेलिकमको कार्यालयमा बुझाउँछन् र सिमकार्ड निकाल्छन् । टेलिकमले पनि त्यही नक्कली नागरिकतामा रहेको नाममात्रै हेरेर तथा कम्पनीको रेकर्डसँग नभिडाएरै सिमकार्ड दिने गरेको छ ।

साजन श्रेष्ठ भन्छन्, ‘मेरो दुवै घटनामा एउटै नागरिकता प्रयोग भएको छ । राभण्डारीको घटनामा पनि सोही नागरिकतामा नाममात्रै परिवर्तन गरेको पाइएको छ ।

दुवै घटनामा प्रयोग भएको नागरिकतामा रहेको फोटो भने एउटै रहेको छ । यसले पनि उनीहरुले फोटोशपबाट फोटो एडिट गर्दै टेलिकमको कार्यालयबाट सिमकार्ड निकाल्ने गरेको पुष्टी हुन्छ ।

यसरी चोरियो पैसा

सिमकार्ड निकालेसँगै उनीहरुले ईसेवामा पासवर्ड परिवर्तनका लागि अनुरोध गर्छन् । ईसेवाले पासवर्ड परिवर्तनका लागि मोबाइलमा ओटीपी कोड पठाउँछ ।

सिमकार्ड आफैसँग भएपछि उक्त ओटीपी कोड मोबाइलमै आउने भयो । मोबाइलमा आएको उक्त ओटीपी कोड राखेर पासवर्ड परिवर्तन गर्छन् ।

त्यसपछि सहजै वालेटमा रहेको पैसामा उनीहरुको पहुँच बन्न पुग्छ । कसको खातामा पैसा ट्रान्सफर भयो भन्ने कुरा पनि सहजै पत्ता लगाउन सकिन्छ । यस्तोमा उनीहरुले आफ्नै नेटवर्कमा भएका व्यक्तिलाई नभएर अरु ईसेवा प्वाइन्टलाई उपयोग गर्छन् ।

के भन्छ नियामक ?

यस किसिमका घटना घट्न सक्ने जोखिम देखिएकै कारण सेवा प्रदायकलाई सिमकार्ड लिनका लागि स्पष्ट व्यवस्था गरिएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन् ।

‘जसअनुसार ग्राहक स्वयम् उपस्थित हुँदा समेत आफ्नो सक्कल परिचय पत्र अर्थात नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र वा राहदानी ल्याएको खण्डमा मात्रै सिमकार्ड दिनुपर्ने हुन्छ,’ उनी भन्छन् ।

प्रवक्ता अर्यालका अनुसार नियामकले दिएको निर्देशन नमान्ने र फोटो कपीका आधारमा सिमकार्ड दिनु प्राधिकरणको निर्देशनको अवज्ञा हो । यस विषयमा प्राधिकरणबाट अध्ययन हुने र आवश्यकता अनुसारको कारबाही प्रक्रिया समेत अघि बढाइने उनको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०