close

एउटा यस्तो घटना, जसले फेर्‍यो सिमकार्ड लिने २ दशक पुरानो व्यवस्था

रन्जन कोइराला रन्जन कोइराला

असार १३, २०७७ १४:१६

एउटा यस्तो घटना, जसले फेर्‍यो सिमकार्ड लिने २ दशक पुरानो व्यवस्था

काठमाडौं । तपाईंले प्रयोग गरिरहेको सिमकार्डमा अरु कसैले पहुँच बनाएर तपाईंको समाजिक सञ्जालदेखि बैंकिङ अकाउण्टसम्म पहुँच पायो भने के होला ? अझ त्यस्तो कार्य कुनै योजनाबद्ध रुपमा नै भएको रहेछ भने ?

सुरक्षित विकल्पको रुपमा सामाजिक सञ्जालदेखि ईमेल आईडीसम्ममा टू स्टेप भेरिफिकेसन प्रयोग गर्ने विश्वव्यापी मान्यता विकास भइसकेको अहिलेको समयमा पक्कै पनि तपाईंले यस्तो कल्पना पनि गर्नुहुन्न होला । 

तर, केही समय अघि नेपालमा नै एउटा यस्तै घटना घटेको छ । जसले नेपालमा मोबाइल सेवा सुरुदेखि कायम रहेको नियमलाई नै फेर्नुपर्ने बाध्यता खडा गरिदियो ।

आयुष निधी तिवारी एक बैंकका कर्मचारी हुन् । कामको सिलसिलामा काठमाडौं बाहिर गएका उनी गत माघ २९ गते काठमाडौं फर्किंदै थिए । सिन्धुलीहुँदै काठमाडौं आइरहँदा उनी बेला बेलामा मोबाइलबाट कल गर्ने र इन्टरनेट चलाउने  गरिरहेका थिए ।

पहाडी भूभाग अनि जंगल र खोल्साखाल्सीमा फोन नटिप्नु स्वभाविक नै हो । यात्रामा रहेका आयुषलाई पनि मोबाइलको नेटवर्कले काम गर्न छोड्दा सामान्य जस्तै लागिरहेको थियो ।

 ‘म यसलाई स्वभाविक रुपमा नै लिइरहेको थिएँ,’ उनी सम्झिन्छन्, ‘धुलिखेल आइपुग्नुभन्दा दुई घण्टा अघिसम्म पनि म फोनमै गफ गरिरहेको थिएँ ।’

ठाउँ ठाउँमा नेटवर्क आउने जाने गरिरहेकै थियो । धुलिखेल पुगेपछि नेटवर्कमा कुनै समस्या नहुनेमा उनी ढुक्कै थिए । तर, धुलिखेल कटिसक्दा पनि मोबाइलमा नेटवर्क आएन । सोचे, राजमार्गको यात्राकै कारण मोबाइलमा नेटवर्कको समस्या आयो होला । 

झण्डै दुई घण्टा बितिसकेको थियो । उनी मैतिदेवी स्थित आफ्नो घरमा पुगिसकेको थिए । घरमा पुग्दा पनि मोबाइलमा नेटवर्क आएन । त्यसपछि भने उनलाई मोबाइलमै कुनै समस्या आयो कि भन्ने लाग्यो । सिमकार्ड निकालेर पुनः राखे । फोन अफ गरेर अन गरे ।

अहँ, केही गर्दा पनि नेटवर्क आएन । कतै मोबाइलको सिम स्लट नै बिग्रियो कि भनेर अर्को सिमकार्ड राखेर हेरे । तर त्यसमा भने हाल्नै बित्तिकै नेटवर्क आयो । यती भएपछि सिमकार्डमा नै समस्या आएको भन्नेमा उनी ढुक्क भए । त्यस दिन दिन ढल्किसकेको थियो ।

‘बेलुकाको करिब ५–६ बजेको थियो होला,’ आयुषलाई राम्रैसँग याद छ, ‘सोचें एक दुई दिनमा टेलिकमको कार्यालय गएर सिमकार्ड लिन्छु । साथमा अर्को सिमकार्ड भएकाले मलाई सम्पर्क गर्नकै लागि त्यस्तो कुनै हतारो पनि थिएन ।’

यसैबीच उनले आफ्नी केटी साथी (गर्लफ्रेण्ड) लाई अर्को फोनबाट सिम बिग्रिएको सुनाइसकेका थिए । यता उता गर्दै एक दुई घण्टा त्यसै बित्यो । खाना खाएर सुत्ने तरखर गरिरहेको बेला गर्ल फ्रेण्डको फोन आयो ।

आयुष सुनाउँछन्, ‘रातको त्यस्तै १०–११ बजेको हुँदो हो । उनले मलाई ढाँट्नै भन्दै प्रश्न गरिन् । के भयो भनेर मैले प्रतिप्रश्न गरें । उनले तिमीले मलाई मोबाइल बिग्रिएको भनेको होइन भनेर भनिन् ।’

आयुषले अझैं पनि उस्तै छ भनेर जवाफ फर्काए । तर, उनकी केटी साथीले आफूलाई सोही मोबाइलबाट एसएमएस, फेसबुक, ह्वाट्एस अनि भाइबर म्यासेज आइरहेको बताइन् ।

‘मैले त्यस्तो हुनै नसक्ने भनेर जिद्दी गरेपछि उनले फेसबुकको पर्सनल म्यासेजहरुको स्क्रीन सट पठाइन्,’ आयुष सम्झिन्छन् ।

त्यसपछि भने उनी झसंङ्ग भए, ‘मैले त्यो दिन त्यतिबेलासम्म फेसबुक, ह्वाट्स एप, भाइबर केही पनि चलाएको थिइनँ । हतार हतार फेसबुक खोल्ने कोसिस गरें । पासवर्ड मिलेन भन्छ । जीमेल भने खुल्यो । त्यहाँ पासवर्ड परिवर्तन गर्न खोजिएको म्यासेज आएको रहेछ । मैले त्यो ईमेलको साहारामा फेसबुकको पासवर्ड परिवर्तन गरें । अनी भाइबर पनि खोल्ने प्रयास गरें । तर पुनः सेटअप गर्नुपर्ने भनेर सन्देश आयो । ह्वाट्सएप हेरें, त्यहाँ पनि त्यस्तै थियो ।’ 

जति गरे पनि उनले ह्वाट्एप र भाइबर आफ्नो नियन्त्रणमा ल्याउन सकेनन् । अनी बल्ल आयुषलाई लाग्यो, सिमकार्ड बिग्रिएको नभएर अरु कसैले गलत रुपमा दुरुपयोग गरिरहेको छ ।

म्यासेज अरुलाई नपठाएर उनको केटी साथीलाई पठाएको आधारमा उनले लख काटिसकेका थिए, ‘पक्कै पनि मेरो सिमकार्ड प्रयोग गर्ने मान्छे हामी दुवैलाई चिनेको कोही हुनेपर्छ । अनि हामीले केही अनुमान पनि लगायौं ।’

तर, स्पष्ट आधार बिना कसैलाई प्रश्न उठाउन मिल्ने ठाउँ पनि थिएन । त्यो दिन रात त्यसै बित्यो । उनी राम्रोसँग निदाउन पनि सकेनन् ।

भोलिपल्ट बिहानै दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरण पुगे । त्यहाँ पुगेर आफ्नो घटनाको जानकारी गराए र उजुरी दर्ता गराएर फर्किए । 

उजुरी दर्ता भएसँगै प्राधिकरणले यो घटनालाई गम्भीर रुपमा लियो । प्राधिरणमा परेको उजुरीको छानविन गर्ने अधिकारीले पनि घटना गम्भीर रहेको टेकपानालाई सुनाए ।

प्राधिकरणले उक्त सिमकार्ड कहाँबाट निकालिएको रहेछ भन्ने कुरा टेलिकममा फोन गरेर तुरुन्तै पत्ता लगायो । सिमकार्ड नेपाल टेलिकमको सुन्धारा कार्यालयबाट निकालिएको थियो ।

‘मलाई तुरुन्तै भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिन भनियो । प्राधिकरणले फोनबाटै घटनाको गम्भीरतबारे प्रहरीलाई जानकारी गराइसकेको रहेछ,’ आयुष भन्छन् । 

उनी सोझै साइबर ब्युरो पुगे । त्यहाँ पनि उजुरी दर्ता गराए । उजुरी दर्ता भएसँगै साइबर ब्युरोको टोलीसँगै उनी टेलिकमको सुन्धारामा कार्यालय गए ।

त्यहाँ सीसी टीभी फुटेज चेक जाँच गर्न थालियो । फुटेज हेर्दा यकिन भयो, जो व्यक्तिमाथि आयुष र उनकी केटी साथीले शंका गरेका थिए, आखिर उही श्यामकुमार क्षेत्री (नाम परिवर्तन) भएको करिब यकिन भयो ।

आयुष भन्छन्, ‘मैले यो कुरा प्रहरीलाई स्पष्ट रुपमा जानकारी गराएँ ।’ प्रहरीले आवश्यक थप अनुसन्धान थाल्यो । त्यस क्रममा पनि सबै गतिविधिमा श्यामकुमार नै संलग्न रहेको पुष्टी भयो ।

प्रहरीले करिब एक सातापछि श्यामकुमारलाई पक्राउ गर्‍यो । त्यस बेलासम्म आयुषले आफ्नो सिमकार्ड फिर्ता पाइसकेको थिए । प्रहरीले दुवै (आयुष र श्यामकुमार) लाई ब्युरोमा बोलायो ।

प्रहरीको सोधपुछको क्रममा थाहा भयो, आयुषको नागरिकताको फोटोकपी श्यामकुमारले नासा सेक्युरिटी नामक डोपिङ (सेयर ब्रोकर) कम्पनीको कम्प्युटरबाट निकालेको रहेछ ।

आयुषले बल्ल थाहा पाए, ‘उ त्यो सेक्युरिटी कम्पनीको कम्प्युटर मर्मत गर्ने मान्छे रहेछ । कम्प्युटर मर्मतको क्रममा उसले मेरो नागरिकताको फोटोकपी निकाल्न भ्याएको रहेछ । त्यहाँबाट निकालेको नागरिकताको फोटोकपी लिएर उसले टेलिकमको सुन्धारा कार्यालयबाट सिमकार्ड नकाल्न भ्याएछ ।’

टेलिकम कार्यालयले नागरिकताको फोटो कपीकै भरमा दुई घण्टा अघिसम्म चलिरहेको सिमकार्ड ब्लक गरी सोही नम्बरको अर्को सिमकार्ड जारी गरेको थियो । सोही सिमकार्ड प्रयोग गरी श्यामकुमारले फेसबुकको पासवर्ड परिवर्तन गर्नेदेखि ह्वाट्एसप, भाइरबर लगायत नियन्त्रणमा लिएर आयुषको नामबाट उनी केटी साथीलाई म्यासेज पठाउन थाल्यो ।

आयुष भन्छन्, ‘म कोसँग कस्तो कुरा गर्छु, के कुरा भइरहेको छ भन्ने खालको मेरा सबै व्यक्तिगत म्यासेज मेरो साथीलाई पठाएर हाम्रो सम्बन्ध बिगार्ने उसको योजना रहेछ ।’

प्रहरीले गिरफ्तार  गरेर सोधपुछ गर्दा श्यामकुमारले आयुष र उनको केटी साथीबीचको कुराकानी थाहा पाउन त्यस किसिमको कार्य गरेको जवाफ दिएको थियो । 

चाहेको खण्डमा श्यामकुमारले आयुषको बैंक अकाउण्टमा समेत पहुँच बनाउन सक्ने अवस्था संभावना थियो । आयुषले तत्कालै सिम निकाल्न सफल भएकाले त्यसो हुन पाएन ।

सिमकार्ड मार्फत बैंकमा समेत पहुँच बनाउनसक्ने भएकै कारण दूरसञ्चार प्राधिकरण र प्रहरीले यो घटनालाई निकै गम्भीरताका साथ लिएका थिए । 

श्यामकुमारलाई आयुषले राम्रोसँग चिनेका पनि थिएनन् । तर उनकी केटी साथीको भने चिनजानकै मान्छे थियो । 

‘सोचेँ, नचिनेको मान्छेसँग दुश्मनी किन मोल्नु ? मेरो समस्या समाधान भइसकेको थियो,’ आयुषले समझ देखाए, ‘आज उसमाथि कारबाही अघि बढाउँदा भोलिको दिनमा फेरी कुनै बदला लिन्छ कि भन्ने डर पनि मनमा थियो ।’

त्यसैले उनले श्यामकुमारमाथि थप कारबाही अगाडि बढाउन चाहेनन् । त्यसपछि अब उपरान्त यस्तो काम नगर्ने सर्त सहितको कागज गराएर छाड्ने सहमती भयो र श्यामकुमारलाई छोडियो ।

यो घटना घटेसँगै पुनः श्यामकुमारले नै नगरेपनि अरुबाट समेत यस किसिमको घटना हुनसक्ने जोखिमको चाल नियामकले पायो ।

जसको प्रतिफल स्वरुप केही दिन अघि मात्र प्राधिकरणले सिमकार्ड बिक्रि गर्दा सक्कल नागरिकताको साथमा स्वयम् व्यक्ति नै उपस्थित हुनुपर्ने भन्दै सेवाप्रदायकको नाममा परिपत्र जारी गरेको छ ।

यदि व्यक्ति स्वयम् उपस्थित हुन नसकेको खण्डमा सम्बन्धित व्यक्तिको वारिसनामा आवश्यक पर्ने व्यवस्था गरिएको छ । यससँगै सिमकार्ड जारी गर्दा पालना गर्नुपर्ने दुई दशक अघिदेखिको नियम फेरिन पुगेको छ ।

भाग्यबश कुनै ठूलो दुर्घटना बिना नै ढिलै भए पनि सिमकार्ड लिन सकिने फितलो परिपाटीमा सुधार हुने बाटोमा गएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३