close

ई-पासपोर्टमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य, लिने कसरी ?

टेकपाना टेकपाना

मंसिर ४, २०७८ १८:४९

ई-पासपोर्टमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य, लिने कसरी ?

काठमाडौं । मसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई प्रतिस्थापन गर्दै सरकारले गत बुधबारदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) प्रचलनमा ल्याएको छ । परीक्षणकालीन वितरणको रूपमा सुरू भएको ई-पासपोर्टका लागि सेवाग्राहीले अनलाइनबाट आवेदन दिनसक्छन् ।

नेपालबाट आवेदन दिँदा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था छ । राष्ट्रिय परिचयपत्रका लागि गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हाल देशका विभिन्न ठाउँमा नागरिकको विवरण संकलन गरिरहेको छ ।

यसअन्तर्गत राष्ट्रिय परिचयपत्र सम्बन्धी आवेदन फारम भरेका व्यक्तिले तुरून्तै राष्ट्रिय परिचयपत्र नम्बर पाउन सक्छन् । यदि आफ्नो टोल वा स्थानीय तहमा विवरण संकलन नभएको खण्डमा जिल्ला प्रशासन कार्यालय वा ताेकिएकाे केन्द्रमा गएर सजिलै आवेदन रूजु फारम/भर्पाइ गर्न सकिन्छ ।

साथै यदि तपाईं फरक ठाउँ वा जिल्लामा बस्नुहुन्छ भने पनि राष्ट्रिय परिचय पत्रका लाग विवरण संकलन गरिरहेका नजिकैका जुनसुकै कार्यालय वा निकायमा गएर फारम भर्न सक्नुहुन्छ ।

सरकारले केही महिनाभित्रै राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक कार्ड (राष्ट्रिय परिचयपत्र) उपलब्ध गराउने तयारी गरेको छ । यद्यपि अहिले फारम भरेका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र नम्बर भने तुरून्त प्राप्त गर्नसक्ने छन् ।

सोही नम्बरका आधारमा तपाईंले ई-पासपोर्टका लागि अनलाइन आवेदन दिन सक्नुहुन्छ ।

दैनिक कोटा सकिएको खण्डमा तपाईंले भरेको आवेदन सब्मिट हुँदैन ।

हाल परीक्षणकै क्रममा रहेको ई-पासपोर्टका लागि आवेदनको चाप अत्याधिक बढेकाे छ । तर सफ्टवेयरमा समस्या देखिएकाे भन्दै राहदानी विभागले दिनको २०० वटा आवेदन मात्र लिने गरेको छ ।

परीक्षण वितरण सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने विभागको तयारी छ ।

यो पनि पढ्नुहोस्: राष्ट्रिय परिचयपत्र के हाे र कसरी लाभ लिने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३