close

नेपालमा प्रयोगमा आउन लागेको ‘ई-सिम’ के हो ? कसरी गर्छ काम ?

टेकपाना टेकपाना

पुस १३, २०७८ १४:४५

नेपालमा प्रयोगमा आउन लागेको ‘ई-सिम’ के हो ? कसरी गर्छ काम ?

काठमाडौं । पछिल्लो समयमा ई-सिमको चर्चा निकै चलिरहेको छ । विश्वका केही देशमा ई-सिमको प्रयोग सुरु भइसकेको छ । एप्पलले त ई-सिमलाई लक्षित गर्दै आईफोन उत्पादन गर्ने तयारी पनि गरिरहेको छ ।

नेपालमा पनि नेपाल टेलिकमले ई-सिमकार्ड सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिकबाट बनेका चिपजडित कार्डको साटो कम्पनीले मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने ई-सिम उपलब्ध गराउने तयारी गरेकाे छ ।

यसका लागि टेलिकमले चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रममा ‘ई-सिमको प्लेटफर्म’ राख्ने योजनासहित बजेट निर्धारण गरेको छ । जसमा चालू आवभित्र ई-सिम सहित कूल ८० लाख सिम भित्र्याउने कम्पनीको तयारी छ । त्यसमध्ये यो वर्ष एकदेखि डेढ लाखसम्म ई-सिम ल्याउने योजनामा कम्पनी छ ।

आज हामी ई-सिम के हो र यसले कसरी काम गर्छ भन्ने विषयमा सरल रुपले जानकारी दिँदै छौं ।

ई-सिम के हो ?
सामान्य रुपमा बुझ्दा हामीले प्रयोग गरिरहेको भौतिक सिमको डिजिटल रुपलाई ई-सिम भनिन्छ । यो तपाईंको फोनमा इम्बेड गरिएको हुन्छ र तपाईंलाई कुनै सिम स्लटको आवश्यकता हुँदैन ।

यसलाई प्रयोग गर्न तपाईंले सिमकार्ड लिन जान अथवा मोबाइलमा राख्न पर्दैन । यो मोबाइलमा प्रयोग गरिएको एउटा सानो चिपमा आधारित, जसले प्रयोगकर्ताको आईडीको आधारमा फोनलाई सम्बन्धित मोबाइल नेटवर्कसँग जोड्छ ।

सो चिप पहिले नै फोनमा इन्स्टल गरिएको हुन्छ, जसलाई प्रयोगकर्ताले फोन खरिद गरेपछि एक्टिभेट गर्नुपर्छ ।

कसरी प्रयोग गर्ने ई-सिम ?

हाल विभिन्न मोबाइल कम्पनीहरूले आफ्नो मोबाइल ई-सीमको लागि प्रयोग गर्न मिल्नेगरी उत्पादन गरिरहेका छन् । यसका लागि तपाईंले पनि ई-सिम प्रयोग गर्न मिल्ने डिभाइस प्रयोग गर्नुपर्ने हुन्छ ।

नेपाल टेलिकम, एनसेलजस्ता टेलिकम कम्पनीहरूले तपाईंलाई उपलब्ध गराएको ई-सीम प्रोफाइल आफ्नो डिभाइस इन्स्टल गर्नुपर्छ, अथवा तपाईंले सेवाप्रदायकबाट ई-सिमको डेटा प्लान पनि खरिद गर्न सक्नुहुनेछ ।

यसको अर्थ हो, एकैपटक दुईवटा सिम प्रयोग गरेको जस्तै तपाईंले एकैपटक दुईवटा कम्पनीको ई-सिम डेटा प्रयोग गर्न सकिन्छ । साथै यदि तपाईं कतै यात्रा गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नो इम्बेडेड सिमसँगै अर्को मोबाइल कम्पनीको ई-सिम डेटा लिएर प्रयोग गर्न पनि सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२