close

स्मार्ट सेलबाट यसकारण खुल्दैन नागरिक एपको खाता

टेकपाना टेकपाना

माघ ७, २०७७ २२:२१

स्मार्ट सेलबाट यसकारण खुल्दैन नागरिक एपको खाता

काठमाडौं । सरकारले हालै परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एपमा उत्साहपूर्ण आकर्षण देखिएको छ । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट दिने उद्देश्यका साथ ल्याइएको यो एपमा खाता खोल्न नसकिएको भन्दै धेरै प्रयोगकर्ताले असन्तुष्टी व्यक्त गरिरहेका छन् ।

एपमा खाता खोल्न आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । आफ्नो नाममा रहेको मोबाइल नम्बर आफ्नै साथमा रहेको प्रमाणीकरण गराउन ओटीपी कोड प्रयोग गर्नुपर्ने हुन्छ ।

यसका साथै नागरिकता, राहदानी वा मतदाता परिचयपत्रको समेत प्रमाणीकरण गराउनुपर्ने व्यवस्था एपमा छ । तर परिचयपत्र सम्बन्धि विवरण उपलब्ध हुन नसकेको, नमिलेको, सिमकार्ड अर्कैको नाममा रहेको जस्ता समस्याका कारण प्रयोगकर्ताले सफलतापूर्वक एपमा खाता खोल्न सकिरहेका छैनन् ।

त्यसो त नागरिकता विवरणमा देखिएको त्रुटी सच्याउन भन्दै गृह मन्त्रालयले अनलाइन सेवा सञ्चालनमा ल्याउने तयारी थालिसकेको छ । एनसेल र नेपाल टेलिकमको मोबाइल नम्बरबाट खाता खोल्ने प्रक्रिया अगाडि बढाउन सकिने भए पनि स्मार्ट सेलका ग्राहकले भने यो सुविधा पाउन सकेका छैनन् ।

आखिर किन ? टेकपानाले यो जिज्ञासाको समाधान गर्न नागरिक एपका डेभलपर तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट खोज्ने प्रयास गरेको छ ।

वास्तवमा नागरिक एप प्रयोग गर्न आफ्नै नाममा रहेको मोबाइल नम्बर, नागरिकता, राहदानी, मतदाता परिचयपत्र जस्ता विवरण अनिवार्य गरिएको छ । तर यस्ता विवरण नागरिक एपमै भने राखिएका छैनन् ।

नागरिक एपले प्रमाणीकरणका लागि मोबाइल सेवाप्रदायक कम्पनी तथा गृह मन्त्रालय, राहदानी विभाग र निर्वाचन आयोगको सिस्टम तथा सर्भरमा राखिएका नागरिकका विवरणलाई एक अर्कासँग रियलटाइम (तत्कालको समयमा) भिडाउने काम गर्दछ ।

यसको अर्थ नागरिक एपले काम गर्नका लागि विभिन्न कम्प्युटर सिस्टमसँग संयोजनको काम गरिरहेको हुन्छ । यस्तोमा नागरिक एपका लागि सम्बन्धित सबै निकायका सिस्टमले सपोर्ट गर्नुपर्ने हुन्छ ।

तर देशकै तेस्रो ठूलो मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले भने यस्तो सिस्टम विकास गर्नै सकेको छैन । जसका कारण स्मार्टका कुनै पनि मोबाइल नम्बरबाट नागरिक एपमा खाता खोल्न नसकिने भएको हो ।

कम्पनीले मोबाइल नम्बर प्रमाणीकरणका लागि आवश्यक प्रविधि जडान गर्न सकेको खण्डमा नागरिक एपमा आवद्ध गराउन कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३