close

बिटक्वाइनलाई वैधानिक मुद्रा बनाउने पहिलो देश बन्यो एल साल्भाडोर

टेकपाना टेकपाना

जेठ २७, २०७८ १०:१०

बिटक्वाइनलाई वैधानिक मुद्रा बनाउने पहिलो देश बन्यो एल साल्भाडोर

काठमाडौं । एल साल्भाडोरले बिटक्वाइनलाई वैधानिक मुद्रा बनाउन त्यहाँकाे सदनमा पेश भएकाे प्रस्ताव पारित गरेकाे छ । याेसँगै बिटक्वाइनलाई वैधानिक मुद्रा बनाउने पहिलाे देश एल साल्भाडाेर बनेकाे छ । याेसँगै त्यसका देशका नागरिकले अब कर तिर्नेदेखि सामान किनबेच गर्न बिटक्वाइन गर्न पाउनेछन् ।

यसअघि एल साल्भाडोरका राष्ट्रपति नाइब बुकेलेले बिटक्वाइनलाई वैधानिक मुद्रा (लिगल टेन्डर) बनाउन कंग्रेसमा प्रस्ताव पेश गर्ने घाेषणा गरेका थिए । मंगलबार उनले पेश गरेकाे साे प्रस्ताव पारित भएकाे हाे । याे प्रस्तावकाे पक्षमा कूल ८४ मध्ये ६२ सांसदले मत हालेका थिए ।

याे व्यवस्थाकाे सुरूवातपछि बैंक खाता नभएका नागरिक र विदेशबाट रकम पठाउन चाहनेका लागि सहज हुने तर्क गरिएकाे छ । द गर्जियनकाे समाचारमा जनाइएअनुसार आगामी तीन महिनाभित्र आधिकारिक मुद्राको रूपमा बिटक्वाइन कार्यान्वयनमा आउनेछ । हालसम्म त्यहाँ वैधानिक मुद्राको रूपमा अमेरिकी डलर प्रचलनमा छ ।

राष्ट्रपति बुकेलेले डिजिटल वालेट कम्पनी स्ट्राइकसँग बिटकोइन प्रविधि प्रयोग गरेर देशको आधुनिक वित्तीय पूर्वाधार निर्माण गर्न डिजिटल वालेट कम्पनी स्ट्राइकसँग साझेदारी गरेका बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१